पाकिस्तानी सेनाद्वारा रक्षा बजेट कटौती गर्ने घोषणा

२०७६ जेठ २२ बुधवार
Newsdesk Shikharnews

बीबीसी। आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानी सेनाले आफ्नो खर्चमा कटौतीको घोषणा गरेको छ । पाकिस्तानी सेनाले आगामी आर्थिक वर्षकालागि आफ्नो रक्षा बजेट कटौतीको लागि बाध्य हुनु परेको बीबीसीले जनाएको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सेनाको यो निर्णयको स्वागत गरेका छन् । प्रधानमन्त्री इमरान खानले ट्विट गर्दै भनेका छन्, ‘कयौं सुरक्षा चुनौतीका बावजुद आर्थिक संटकको घडीमा सेनाकातर्फबाट खर्च कटौती गर्ने निर्णयको स्वागत गर्छु। हामी यसरी बचाएको रुपैयाँलाई बलुचिस्तान र कबायली इलाकामा खर्च गर्छौं।’

पाकिस्तानी सेनाको यो निर्णयको प्रधानमन्त्री इमरान खानले ट्विटमार्फत जानकारी दिएका हुन्।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफफूले पनि ट्विट गर्दै भनेका छन्, ‘एक वर्षकालागि सेनाको रक्षा बजेटमा कटौतीले देशको सुरक्षामा कुनै असर पर्दैन। हामी सबै प्रकारका खतरलाई असरदार तरिकाले जवाफ दिन्छौं। बलुचिस्तान र ट्राइबल इलाकाको राम्रोकालागि यो आवश्यक कदम हो।’

पाकिस्तानी पत्रिका द ट्रिब्युनको समाचार अनुसार आगामी आर्थिक वर्षमा रक्षा बजेट करिव १.२७० ट्रिलियन राख्ने अनुमान छ। यो गत वर्षको बजेट भन्दा १७० अर्ब धेरै हो। यो बजेटमा पूर्व सैनिकको पेन्सन, रणनीतिक खर्च र स्पेशल सैन्य व्याकेजमा हुने खर्च हो।

आगामी आर्थिक वर्षकालागि पाकिस्तानको कुल बजेट करिव ६.८ ट्रिलियन हुने अनुमान छ । आगामी आर्थिक वर्षमा रक्षा खर्च करिव १.९ ट्रिलियन हुने अनुमान छ । पाकिस्तानी सेनाले आफ्नो खर्चमा स्वयं कटौती गर्ने निर्णयलाई संचारमाध्यमले स्वागत गरेका छन् ।

स्कटहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिट्युटको रिपोर्ट अनसार २०१८ मा पाकिस्तानको कुल सैन्य खर्च ११.४ अबर डलर थियो। यो खर्च पाकिस्तानको कुल जीडीपीको चार प्रतिशत बराबर हो। २०१८ मा भारतको सैन्य खर्च करिव ६६.५ अर्व डलर थियो। ६४९ अर्ब डलरसहित अमेरिका पहिलो स्थानमा छ।

केही समय पहिला पाकिस्तानले अन्तर्रा्ष्ट्रिय मुद्रा कोष आइएमएफ बाट ६ अर्ब डलर सहायता हासिल गर्न सफल भएको थियो। १९८० पछि पाकिस्तानकालागि आईएमएफको यो १३ औं बेलआउट प्याकेज थियो। यो ऋण पाकिस्तानलाई तीन वर्षकालागि प्राप्त हुन लागेको हो। यद्यपी यो सम्झौतामा बोर्ड अफ डाइरेक्टर्सको हस्ताक्षर हुन बाँकी छ।

पाकिस्तानको अर्थ व्यवस्थाको मुख्य समस्या भनेको कुनै पनि विदेशी लगानी नआउनु हो। पाकिस्तानमा आर्थिक वर्ष २०१८ मा मात्र २.६७ अर्ब डलरको लगानी आएको थियो। जबकि व्यापार घाटा १८ अर्ब डरल छ ।