चलचित्र कलाकार संघको अध्यक्षमा रबिन्द्र खड्का विजयी

२०७६ जेठ २६ आइतवार
Newsdesk shikharnews

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको १७ औं साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ। अध्यक्ष पदमा रविन्द्र खड्का विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनबाट सरिता लामिछानेलाई ५७ मतले पराजित गर्दै संस्थापक अध्यक्ष समेत रहेका खड्का विजयी भएका हुन् ।

खड्काको पक्षमा २१८ मत परेको थियो भने लामिछानेको पक्षमा १६१ मत परेको थियो । दुई उपाध्यक्षमा रेजिना उप्रेतीले २४३ मत ल्याइन् भने अर्का उपाध्यक्ष सानुकुमार ताम्राकारले १७५ मत ल्याएका छन् । यस्तै महासचिवमा चेतबहादुर सिंह राजा १८७ मतले निर्वा्चित हुँदा उनका प्रतिद्वन्दी सञ्जय खतिवडाले १५६ मत ल्याएका छन् ।

सचिव पदमा पनाह अधिकारी १९४ विजयी हुँदा प्रतिद्वन्द्वी कविता गेलाल शर्माको पक्षमा १६९ मत परेको छ। यस्तै सह–कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्य निर्वा्चित भएकी छन् । कोषाध्यक्षमा भने यसअघि नै सुनिल कटुवाल निर्विरोध चयन भइसकेका छन् ।

पदाधिकारी तर्फ उपाध्यक्ष निर्वा्चित सानुकुमार ताम्राकार बाहेक सबै खड्का प्यानलका बिजयी भएका छन् । त्यस्तै १० जना निर्वा्चित सदस्यतर्फ शितल केसी, जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन् ।