मुख्यसचिव रेग्मी प्रति कठोर बन्दै प्रम ओली, नेपाल फर्किए लगत्तै टुंगो लगाउने !

२०७६ जेठ २८ मंगलवार
Newsdesk shikharnews

प्रधानमन्त्री केपी शर्मा ओली मुख्यसचिव लोकदर्शन रेग्मीप्रति असन्तुष्ट भएका छन् । कर्मचारीतन्त्रबाट सरकारले असहयोग पाएको भन्दै असन्तुष्ट ओलीले रेग्मीको विकल्प खोज्न थालेका छन् । युरोपबाट फर्किएपछि ओलीले मुख्यसचिवबारे टुंगो लगाइहाल्ने निकटस्थ स्रोतले बताएको छ । मुख्यसचिवले असहयोग गरेको भन्दै ओली असन्तुष्ट बनेका थिए । ओलीले छिट्टै कडा निर्णय लिनसक्ने बुझिएको छ । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा रेग्मी मुख्यसचिव बनेका थिए । चुनावी परिणाम नेपाली काँग्रेसको विपक्षमा आउने चाल पाएर ओली र प्रचण्डलाई भित्री सहयोग गरेको आरोप लागेको थियो ।

देउवा सरकारकाका पालामा भएका मन्त्रिपरिषद्को निर्णयलाई रेग्मीले सदर नगरिदिएर खारेजीको अवस्थामा पु¥याएको भन्दै काँग्रेस नेताहरु असन्तुष्ट छन् । उनले देउवालाई धोका दिएको ठम्याई काँग्रेस निकटस्थहरुको छ ।

चतुर प्रशासकको पहिचान बनाएका रेग्मी गृहसचिव हुँदा नेपाली काँग्रेसकी नेता आरजु राणाको विश्वास जित्न सकेका थिए । आइजीपी प्रकरणमा उनले खेलेको भूमिका विवादमा परेको थियो । नवराज सिलवाललाई कुनै हालतमा आइजीपी नबनाउने देउवाको अडानलाई साथ दिएका थिए रेग्मीले । उनको यही भूमिकाका कारण पनि नेकपाका नेताहरु असन्तुष्ट बन्दै आएका छन् ।

सरकारका कतिपय निर्णयहरुमा कर्मचारीतन्त्रको सहयोगी भूमिका हुनुपर्नेमा रेग्मीबाट भित्री रुपमा सहयोग भइरहेको गुनासाहरु प्रधानमन्त्री ओलीसम्म पुग्दै आएको छ । सरकारका कतिपय संवेदनशील निर्णयहरुका सूचना चुहिएकोमा समेत रेग्मीलाई दोषी देखेका छन् ओली निकटस्थले ।

रेग्मीबारे निर्णय लिंदा नयाँ समस्या झेल्नुपर्ने सम्भावनालाई ख्याल गर्दै राजदूत बनाउने या कुनै महत्वपूर्ण नियुक्ति दिनेबारे समेत छलफल भइसकेको छ । तर, रेग्मीले ती प्रस्तावहरुलाई अस्वीकार गरेको बुझिएको छ ।