सेनामा सिपाहीका अनेक पिडा, किन जागिर छोड्न बाध्य छन् ?

२०७६ जेठ ३० बिहीवार
Newsdesk shikharnews

नेपाली सेनाका हामी तल्लो तहका पीडितहरूको गुनासो पोख्ने एक मात्र साप्ताहिक पत्रिका साँघु साप्ताहिक नै हो । यो पटक हामी जवानरसिपाहीले हाम्रो नेपाली सेनामा झण्डै डेढ दशकको जागिरको अवधिमा भोगेका केही समस्या, पीरमर्का प्रकाशनका लागि पठाएका छौं । कृपया स्थान दिएर हाम्रँ स्वच्छ छविका प्रधानसेनापति पूर्णचन्द्र थापा चीफ सा’बको ध्यानाकर्षण गराई दिनुहुन हार्दिक अनुरोध गर्दछौं । सम्पादकज्यू, हाल नेपाली सेनामा एसएलसी र प्लस टु गरेका हामी सिपाहीहरू धेरै छौं । तर, दुःखको कुरा सिपाहीबाट एक खुड्किलो माथि लेस नायक हुनका लागि सेनाले फास्ट ट्रयाक नीति लागू गरेकाले धेरै मर्का परेको छ । पढे, लेखेका हामी सिपाही जागिर खाएको १३/१४ वर्षसम्म पनि लेस नायकसम्म पनि बढुवा हुन नपाएपछि दक्ष जनशक्तिले धमाधम राजीनामा दिएर नेपाली सेना छाड्न बाध्य हुनु परेको छ ।

एसएलसी र फस्ट क्लास गरेका हामी दुःखी सिपाहीको गुनासोका बारेमा चीफ सा’बबाट अवश्य सुनवाई हुनेछ भन्ने आशा गरेका छौं । सिपाहीबाट लेस नायकमा पदोन्नति हुनका लागि फास्टट्रयाक नीति लागू गरिएको छ । अनि फेरि लेस नायकबाट नायक नायकबाट हबल्दार हुनका लागि चाहिं फास्टट्रयाक नीति लागू छैन । लेस नायकबाट नायक हुनका लागि पनि फास्टट्रयाक नीति छैन । यो खारेज गरिएको छ । सिपाहीबाट लेस नायक हुन हामी ३२/३३ वर्षका सिपाहीहरूले २३/२४ वर्षका सिपाहीहरूसंग प्रतिस्पर्धा गर्न बाध्य छौं । अहिलेका जल्दोबल्दो उमेरका केटाहरूसंग शारीरिक र लिखित परीक्षामा प्रतिस्पर्धा गराइन्छ । हामी उमेर ढल्केका सिपाही र बढ्दो जवानीका ती सिपाहीहरूसंग हाम्रँे प्रतिस्पर्धा न्यायिक भएन, हामीमाथि अन्याय भयो भन्ने गुनासो हाम्रो हो ।

हेडक्वार्टरका जर्नेलहरूका आफन्त, भेगी, चाकडीवालालाई पदोन्नति गराउनका लागि कहिले के नियम लागू गर्ने, कहिले के नियम खारेज गर्ने गरिन्छ । अनि हामी सोर्सफोर्स नहुने गरीबका छोराहरू चाहिं डेढ दशकसम्म पनि एक तह बढुवाबाट बञ्चित छौं ! योभन्दा अन्याय के हुन्छ चीफ सा’ब ? फास्टट्रयाक लगाउने हो भने सबै तहको बढुवामा लगाइयोस् । सिपाहीबाट लेस नायक हुनका लागि मात्र किन यत्रो तगारो हालिएको छ ? चीफ सा’ब हाी सारै दिक्दार छौं । चीफ सा’बाट हाम्रो पीडामा मल्हम पट्टी लाग्ने छ र हाम्रँ पीरमर्काको सुनवाई हुनेछ भन्ने आशा गरेर बसेका छौं ।

पढेलेखेका, योग्य, डिउटी, काममा इमानदार, सिपाहीहरू राशन र प्राइभेट फण्डबाट त ठगिएकै छौं भने बढुवामा झनै ठूलो अन्यायमा परेका छौं । फास्टट्रयाक नै आवश्यक हो भने हाम्रै समकक्षीसंग प्रतिस्पर्धा नीति लागू गरियोस् । १०÷१२ वर्ष जुनियरहरूसंग हाम्रो प्रतिस्पर्धा गराएर बेइज्जतीपूर्ण अन्याय नगरियोस् । सिपाहीबाट लेस नायकमा बढुवा हुनबाट बञ्चित भएपछि दिक्क भएर राजीनामा दिंदै हाम्रा धेरै साथीहरू नेपाल आर्मी छाडेर विदेशीको सेवा गर्न वैदेशिक रोजगारीमा हामफाल्न थालेका छन् । राज्यको लाखौं रकम खर्च गरेर तालिम प्राप्त जनशक्ति विरक्तिएर राजीनामा दिंदै हिंड्न थालेका छन् । यो राष्ट्र र नेपाली सेनाका लागि पनि नोक्सानीको विषय हो । चीफ सा’बको ध्यान जावोस् भन्ने अनुरोध गर्दछौं । –अन्यायमा परेका सिपाहीहरू, नेपाली सेना
साँघुन्यूजबाट