मिलन चाम्स र प्रनेश गौतमको विवादमा प्रहरी प्रयोग भएका आशंका !

२०७६ जेठ ३१ शुक्रवार
Newsdesk shikharnews

एउटा चलचित्र बनाउँछ, अर्को विवादास्पद समिक्षा गर्छ । समिक्षाको विषयलाई उठाएर प्रहरी हिरासतसम्म पु¥याउँछ । चलचित्र र समिक्षक दुवै चर्चामा पुग्छन् । प्रहरी विवादमा तानिन्छ । अहिले विरविक्रम–२ सँग जोडिएर प्रनेश गौतम र मिलन चाम्सको नाटक यसरी नै चलिरहेको छ ।प्रहरीलाई उल्लु बनाउने गरी चलचित्रकर्मीले नाटक मञ्चन गरेको तथ्य खुल्दै गएको छ । चलचित्र विरविक्रम २ का निर्देशक मिलन चाम्स राई र समिक्षक समेत रहेका चलचित्रकर्मी प्रनेश गौतमले नाटक मञ्चन गरेर चर्चा बटुलेका छन् । प्रनेशको समर्थनमा सामाजिक सञ्जालमा आवाज उठ्न थालेपछि प्रहरीले हाजीरी जमानतमा छाडेको छ । उनीमाथि अनुसन्धान जारी रहेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

साइबर क्राइममा उजूरी परेपछि नियन्त्रणमा लिइएका गौतममाथि मात्र नभई चाम्समाथि समेत अनुसन्धानकको सुई घुमेको छ ।

चलचित्र वीरविक्रम–२ बन्दै गर्दा प्रनेशले प्रचार प्रसारको जिम्मा मागेको र आफूहरुले नदिएपछि बदनाम गर्दै हिंडेको आरोप मिलन चाम्सको थियो । चलचित्र बदनाम गर्ने गरी भिडियो समेत बनाएर नियोजित रुपमा डुबाउन लागिपरेको भन्दै साइबर क्राइमको उजूरी हाल्न पुगेका थिए चाम्स ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि प्रनेशलाई नियन्त्रणमा लियो । चलचित्रको समिक्षालाई लिएर नियन्त्रणमा लिएको भन्दै सर्वत्र विरोध भयो । चाम्सले शक्तिको दुरुपयोग गरेको आरोप लाग्यो ।

विवाद यसरी चर्कियो कि चलचित्र वीरविक्रम–२ ले व्यापक प्रचारप्रसार पायो । प्रचासप्रसारको जिम्मा माग्ने प्रनेशले नपाएपनि उनैका कारण यति ठूलो चर्चा भयो ।

मिलन चाम्स पनि चर्चामा आए । प्रनेशको पनि चर्चा चुलियो । चर्चाबाट लाभ लिने क्षेत्रका दुवैलाई लाभ पुग्यो । नेपाल प्रहरी यो घटनामा कतै प्रयोग त भएन ? यसबारे प्रहरीमै चिन्तन हुन थालेको बुझिएको छ । मिलन र प्रनेश मिलेर प्रहरीलाई जोक्कर बनाएको त होइनन् ? अनुसन्धान यो कोणबाट बढेमा नयाँ तथ्य भेटिने सम्भावना देखिदैछ । प्रहरीले अनुसन्धानको कोण समेत बदलेको विश्वस्त स्रोतले बताएको छ ।