बिपी र ब्रुस ली

२०७६ जेठ ३२ शनिवार
Newsdesk Shikharnews

ब्रजेश
दयाहाङ राईको धोत्रो स्वर गुञ्जियो, ‘पाटनमा एकजना किसानले खर्पनमा तरकारी बोकेर हिँडिरहेको थियो । उसलाई देखेर ब्रुस लीले के भन्यो ?’ सबैको निद्रा एकैपटक खुल्यो । रातको निस्तब्धतामा एउटा माइक्रोभ्यान आफ्नो दुइटै बल्ड्याङ्ग्रे आँखा चम्काएर बिपी राजमार्गको साँघुरो र नागबेली बाटो छिचोलिरहेको थियो । त्यसमा सवार यात्रुहरू मस्त निदाइरहेका थिए । दयाहाङले ठूलो स्वरमा गरेको प्रश्नले उनीहरू ब्युँझिए । अनि अर्ध्निद्रामै मनमनै त्यसको उत्तर खेलाउन थाले । झन्डै १४ घन्टादेखिको निरन्तर यात्राले थाकेर झुप्प निदाएका यात्रुहरूमा थियौँ– चालकको सँगै अगाडिको सिटमा गजधम्म परेर बसेका कुमार नगरकोटी, पहिलो लहरमा शारदा शर्मा र लीला लुइटेल, दोस्रो लहरमा विमल आचार्य र विभु लुइटेल अनि तेस्रो लहरमा म र दयाहाङ राई ।

हाम्रो पछाडिको लामो सिटमा पसारिएका थिए– आर के अदिप्त गिरी, अक्षर काका र विवेक ओझा । अनि देब्रे लर्कोको दुइटा एकल सिटहरू कब्जा गरेका थिए– दीपक सापकोटा र प्रभाकर गौतमले ।

हामी सिलिगुडीमा सम्पन्न भएको एउटा ‘अभूतपूर्व’ साहित्य सम्मेलनबाट फर्किरहेका थियौँ । त्यस साँझ बारामा अप्रत्याशित रूपमा विनाशकारी हुरी आएको थियो । देशभरिकै मौसम प्रभावित भएको कारण भद्रपुरबाट काठमाडांै आउने अन्तिम हवाई उडान रद्द भएको थियो । भोलिपल्ट पनि दिनभर कुर्नुपर्ने सम्भावना भएकाले हामीले त्यसको साटो बरु माइक्रो रिजर्भ गरेर राति नै काठमाडौं तिर हिँड्नु उचित ठानेका थियौँ । इलाममा कार्यक्रम सकेर आएको मनमगन दीपक बज्राचार्यको सांगीतिक टोली पनि अर्को भ्यानमा अगाडि–अगाडि लागिरहेको थियो ।

लामो यात्रामा समय कटाउन वेलावेला उटुङ्ग्या कुरा हुने गर्छन् । केटाहरू मात्रै भए त ‘मांशहारी’ वर्गमा पर्ने जोकहरूको बाढी पनि आउँछ । अथवा एकै उमेर समूहका केटा–केटीहरू भए एक किसिमको सहजता र खुलापन हुन्छ । तर, त्यो त महिला, पुरुष, कनिष्ठ, मध्यम र वरिष्ठ पुस्ताको समावेशी टोली थियो । कुराकानी र खेल पनि निकै विचार गरेरै मात्र सुरु गर्न सकिन्थ्यो । कुरैकुरामा एउटा नयाँ र रमाइलो खेल निस्केको थियो– ब्रुस लीलाई जोडेर प्रश्नहरू गर्ने र त्यसको रमाइलोभन्दा रमाइलो उटुङ्ग्या उत्तर खोज्नुपर्ने !

‘ब्रुस लीलाई मनपर्ने तरकारी के हो ?’ भन्ने प्रश्नको उत्तर ‘काउली’ हुन्थ्यो ।

भन्नुको तात्पर्य, लीसँग जोडेर उत्तर दिनुपथ्र्यो । सबैलाई रमाइलो लागेको यो खेलले हाम्रो लामो बाटो मज्जैसँग कटाइरहेको थियो । प्रश्न पनि रच्नुप(यो, उत्तर पहिले नै सोच्नुप(यो । कहिले कसले, कहिले कसले नयाँ प्रश्न बनाउँथ्यो, अरूले थरिथरी उत्तर दिन्थे । सबै मिलेर कुन उत्तर सबैभन्दा बढी फन्टुस र ‘विट्टी’ थियो भनेर पनि निर्णय गथ्र्यौं । ब्रुस लीलाई मनपर्ने नेता–केपी ओली, ब्रुसलीलाई केमा विश्वास लाग्दैन– भोलि, ब्रुस लीले तास खेल्दा के गर्छ– झेली, ब्रुस ली काठमाडौं आउँदा कहाँ घुम्न जान्छ– गल्ली–गल्लीजस्ता अनेकौँ प्रश्नोत्तर रचिइसकेका थिए ।

कुनै–कुनै प्रश्नका उत्तर अति नै हावादारी हुन्थे । त्यस्तो वेलाचाहिँ शारदा शर्मा र लीला लुइटेल ‘जे पायो त्यही, वाहियात्’ भनेर मुस्काउँथे । मज्जा लिई–लिई सुने पनि प्रश्न बनाउने र उत्तर दिनेमा भने उनीहरूको सहभागिता थिएन । त्यसले गर्दा महिला पार्टीको प्रतिनिधित्व गर्ने गहन जिम्मेवारी विभु लुइटेलको कलिलो काँधमा परेको थियो । उनी एक्लैले मच्चीमच्ची त्यो भ्याइरहेकी थिइन् । नेपाल भाषामा एउटा उखानै छ नि, ‘चिग्वउ मल्टा पालु ।’बर्दिवासबाट उकालो लाग्न थालेपछि भने हामी सबै निदाउन थालेका थियौँ । त्यसैले खेल केहीबेरका लागि सुस्ताएको थियो । त्यही वेला दयाहाङको नयाँ प्रश्नले खेललाई फेरि गति प्रदान गरेको थियो । अर्ध्निद्रामा हामी त्यसको उत्तर सोच्दै थियौँ । उनले प्रश्न दोहो(याए, ‘ल छिटो भनौँ, पाटनमा एकजना किसानले खर्पनमा तरकारी बोकेर हिँडिरहेको देखेर ब्रुस लीले के भन्यो ?’

एक–दुईवटा चित्त नबुझ्दो उत्तर आयो । दयाले भने, ‘हैन । उसले भन्यो– ओ साहुजी, गुली ?’ हामी सबै गललल्ल हाँस्यौँ । निद्रा भाग्यो । फेरि ब्रुस ली सुरु भयो । ‘आफ्नो एरियामा ब्रुस लीको के चल्थ्यो ?’ विभुले सोधिन् । अरूले उत्तर दिनुअघि आफैँले थपिन्, ‘हाली–मुहाली ।’दीपक सापकोटा चम्किए, ‘ब्रुस लीले सबैभन्दा राम्ररी के बजाउँथ्यो ?’कसैले भन्यो, ‘ताली ।’ हामीले बीच–बीचमा ब्रुस लीको साटो दयाहाङ राई, शारदा शर्मा, विभु लुइटेललगायत अरूको नाम राखेर पनि खेल बनाउन खोज्यौँ । तर, किन हो, त्यसमा जति विविधता र रमाइलो उत्तर अरू नाममा बनाउन सकेन । घुमिफिरी हामी फेरि ब्रुस लीमै पुग्थ्यौँ । यात्रासँगै मेरो मगजमा ब्रुस ली पिङ खेल्न थाले ।

ब्रुस लीबारे हामी सानो छँदा धेरै किंवदन्ती सुनिन्थ्यो । मैले पहिलोपटक ती सुन्दा नै उनी यस संसार छाडेर गइसकेका थिए । उनका ती किंवदन्तीका कारण म रोमाञ्चित हुन्थेँ । कसैले भन्थ्यो– ब्रुस ली ले एक मुक्का हान्दा साँढे पनि पक्लक्कै ढल्थ्यो रे ! अर्को मिथक भन्थ्यो– ब्रुस लीले तातो भकभक उम्लेको अलकत्राको ड्रममा मुक्का हान्दा उनको हात डुबेर निस्केको डाम बन्थ्यो, तर उनको हातमा अलकत्राले छुन पनि भ्याउन्नथ्यो । कोही भन्थे– खुट्टाको बुढी औँलाको मात्र शक्तिले पनि उनले आफूभन्दा डेढ गुना ठूलो मानिसलाई उडाएर बीस फिट पर पु(याइदिन्छन् । ब्रुसलीले जस्तो ‘कम्फू’ (कुंग फु) कसैले हान्न सक्दैन । सयजना हातहतियारले सुसज्जित मानिसलाई ब्रुस ली एक्लैले ढालिदिन्छन् ।

ब्रुसलीको हतियार पनि खुब चर्चामा थियो । त्यसलाई नानचाकु भनिन्थ्यो । फलामका दुइवटा डन्डीलाई सिक्रीले जोडिएको त्यो चार टुक्रालाई दुवै हातमा घुमाएर प्रयोग गर्ने हतियार, नानचाकु । भनिन्थ्यो, ब्रुस लीले नानचाकु घुमाएर गोली पनि रोकिदिन्छन् । अकल्पनीय, अविश्वसनीय र चामत्कारिक छवि थियो ब्रुस लीको । उनीसँग जोडिएका ती कथा ५–६ कक्षा पढ्ने उमेरको केटोका लागि आकर्षक हुनु स्वाभाविकै पनि त थियो नि ! हल्लाखोरहरू भन्थे– आफ्नै श्रीमतीले बिख खुवाएर ब्रुस लीलाई मारेकी हुन् रे !

त्यतिवेला मभन्दा ५ वर्ष ठूला मेरा एकजना दाइ आफूलाई ब्रुस ली भन्थे । उनी आफ्नो सुकेको पाखुरा सकी–नसकी फुलाएर भन्थे, ‘हेर, मेरो मसल्स ब्रुस लीको जस्तै छ ।’ हामी होला भन्ठान्थ्यौँ । उनी सास रोकेर, छाती फुलाएर दाह्रा किट्दै आफ्नो कोखिलामुनि इसारा गर्दै ठसठस कन्दै भन्थे, ‘विङ्गस हेर मेरो फलान्थोक । ठ्याक्कै भी सेप छ । ब्रुस लीको जस्तै ।’
उनी आफ्नो बडी, अनुहार, हाइट सबै दुरुस्तै ब्रुस लीको जस्तै छ भनेर दाबा ठोक्थे । हामी पत्याउँथ्यौँ । हामीले कहाँ ब्रुस ली देखेका थियौँ र ? छैटौँ शताब्दीअघिका मानिसहरूले पृथ्वी थालजस्तो चेप्टो छ भनेर मानेजस्तै त हो नि ! उनी र ब्रुस ली गोदावरीको बाह्रवर्षे मेलामा छुट्टिएका जुम्ल्याहा हुन् भन्ने लाग्थ्यो हामीलाई । अरू वेला पनि ब्रुस लीको कुरा गर्दा हाम्रो मन मगजमा अनुहारचाहिँ तिनै दाइको आउँथ्यो ।

यसरी किंवदन्तीमा परिचित ब्रुस ली खासमा कस्ता थिए भन्नेचाहिँ निकै पछि मात्र देख्न र पढ्न पाइयो । किनभने त्यतिवेला अहिलेजस्तो सञ्चारको सहजता र सुविधा थिएन । त्यसैताका कुनै दिन पिताश्रीले ल्याएको कुनै विदेशी पत्रिकामा ब्रुस लीको वास्तविक फोटो र उनीबारे केही सत्यतथ्य पढ्न पाइयो । मैले त्यस दिन पाएको सबैभन्दा ठूलो दिव्यज्ञानचाहिँ अर्कै थियो । आफूलाई ब्रुस ली भन्ने हाम्रा दाइ र ब्रुस लीमा कुनै पनि समानता रहेनछ । तिनले आफूलाई काटीकुटी ब्रुस ली भन्थे भन्ने कुरा थाहा पाएका भए र हाम्रा ती दाइलाई देखेको भए मरिसकेका ब्रुस लीलाई माथि स्वर्गमा फेरि एकपटक मस्तिष्कघात हुन्थ्यो होला । आफ्नै श्रीमतीले बिख खुवाएर मारेको भन्ने हामीले सुनेका उडन्ते कुरामा कुनै सत्यता रहेनछ भन्ने कुरा पनि त्यो पत्रिका पढेपछि थाहा भयो । ३३ वर्षको उमेरमै मस्तिष्कघातका कारण उनको निधन भएको रहेछ । त्यो मस्तिष्कघात के कारणले गर्दा भयो भन्नेबारेमा चाहिँ प्रशस्तै ‘कन्सिपिरेसी थ्योरी’हरू व्याप्त रहेछन् ।

ब्रुस लीलाई पूर्व र पश्चिमबीचको दूरीलाई धेरै हदसम्म मेट्न सफल बीसौँ शताब्दीका एक ‘पप आइकन’का रूपमा चिनिन्छ । परम्परागत नायकको छविभन्दा ठ्याक्कै विपरीत एउटा एसियन अनुहारको साधारण मानिसले आफैँ प्रतिपादन गरेको जित क्वान दो भन्ने एक प्रकारको मार्सल आर्टको माध्यमबाट हङकङको चाइनिज सिनेमा हुँदै हलिवुडसम्म हल्लाउनु भनेको चानचुने कुरो कहाँ हो र ? चाइनिज मार्सल आर्टलाई पश्चिममा लोकप्रिय बनाउनमा ब्रुस लीका सिनेमाहरूको ठूलो हात छ । न अजंगको जिउडाल, न त चकलेटी अनुहार ।

साधारण मानिसजस्तै देखिने ब्रुस लीले प्राप्त गरेको असाधारण सफलतामा सम्भवतः अरू थुप्रै साधारण मानिसले आफूलाई आत्मसात गरेको कारण पनि उनी एउटा ‘लिजेन्ड’ बन्न पुगेको हुनुपर्छ । आखिर हिरो बन्ने सुषुप्त चाहना कसमा हुँदैन र ? हेर्दा साधारण देखिने मजस्ता हजारौँ–लाखौँ मानिसका ती सपना उनले पूरा गरिदिएका थिए । तर, ब्रुस ली फाइटर र अभिनेता मात्र नभई उच्च बौद्धिक चेत भएका मानिस पनि थिए । उनको व्यक्तित्वका अरू पाटाहरू त्यति चर्चामा नआएका मात्र हुन् । बहु–आयामिक ब्रुस ली कविता पनि लेख्थे । उनका कविताका भावहरू स्थापित मूल्य र मान्यतालाई चुनौती दिने खालका हुन्थे । ब्रुस ली गम्भीर विचारक थिए । उनी दर्शन र चिन्तनमा पनि पोख्त थिए । उनको एउटा भनाइ निकै प्रख्यात छ, ‘पानीजस्तै आकार–प्रकारहीन हुन सिक ।’ तर, उनलाई अधिकांश मानिसले अभिनय र एक्सनका लागि नै बढी चिन्छन् ।

त्यतिवेला हामी सबै भाराभुरीहरू पनि आफूलाई सानोतिनो ब्रुस ली नै मान्थ्यौँ । ब्रुस लीले लगाउने भनिएको कालो कपडाको ‘कम्फु सुज’ त्यतिवेलाका अल्लारे केटाहरूको प्रिय जिनिस थियो । असन–इन्द्रचोकतिरका पसलमा त्यस्ता कम्फु सुजहरू बोराबोरामा बेच्न राखिएका हुन्थे । त्यो लगाउनासाथ अचानक ब्रुस लीको आत्मा हामीमा छिरेको भान हुन्थ्यो । खुट्टाहरू आफँै हलुका भएर चलमल गर्न थाल्थे । कसलाई र कहाँ उडेर, घुमेर अनि बिरालोको आवाज निकालेर पड्याङ्ग किक् हानौँ भनेर खुट्टा चिलाउन थाल्थे । हामी आफूलाई ब्रुस लीजस्तै पराक्रमी बनाउन चाहन्थ्यौँ ।

प्लास्टिकको पाइप काटेर त्यसका दुई टुक्रालाई डोरीले बाँधेर फनफनी घुमाउँदै नानचाकु चलाउँदा हामीलाई आफू साँच्चै ब्रुस ली भयौँ भन्ने लाग्थ्यो । ठूला दाइहरू ब्रुस ली बन्ने धुनमा धारे हात लगाएर इँटा फुटाउने प्रयास गर्थे । फुट्थ्यो पनि, अलि काँचो भए इँटा, राम्ररी पाकेको परे उनीहरूको हाड । हामी फुच्चेहरू चाहिँ झिँगटीमा नै चित्त बुझाउँथ्यौँ । पातलो हुने हुँदा झिँगटीले हामीलाई सजिलैसँग ब्रुस ली बनाइदिन्थ्यो । पुरानो शैलीमा छाइएको घरको छानाबाट झिँगटी थुत्दाथुत्दा हामीले छाना नै थोते बनाएका थियौँ । पछि पानी नै चुहिन थालेर ठूलाबडाले कडिकडाउ गर्न थालेपछि मात्र हामीले झिँगटी फुटाउन छाड्यौँ ।

ब्रुस लीले जस्तै कराँते चप हान्ने लोभमा एक दिन मैले प्रभात भन्ने सहपाठीको झन्डै आँखा निकालिदिएको थिएँ । ऊ मभन्दा दुई पंक्ति अघिको बेन्चमा बस्थ्यो । त्यस दिन तेस्रो कक्षा सकिएर पन्ध्र मिनेटको अन्तराल हुने समयमा म बाहिर निस्कन लाग्दा प्रभात निहुरिएर केही लेख्दै थियो । सम्भवतः ऊ बाँकी कक्षाकार्य गरिरहेको हुनुपथ्र्यो । ब्रुस लीले धारे हातको कराँते चप हान्यो भने प्रतिद्वन्द्वी पुक्लुक्कै ढल्थ्यो भन्ने कुरा सम्झिएँ । मलाई लागिरहेको थियो, त्यो सैद्धान्तिक ज्ञानलाई व्यवहारको कसीमा घोट्ने यो सुनौलो अवसर हो । मैले यसलाई खेर जान दिनु हुँदैन । हुन त प्रभात कुनै पनि कुरामा मेरो प्रतिद्वन्द्वी त थिएन तर पनि उसको गर्धन मलाई हाँक दिएर बसिरहेको जस्तो लाग्यो ।

आफूलाई ब्रुस ली भन्ने हाम्रा दाइ र ब्रुस लीमा कुनै समानता रहेनछ । तिनले आफूलाई काटीकुटी ब्रुस ली भन्थे भन्ने कुरा थाहा पाएका भए र हाम्रा ती दाइलाई देखेको भए मरिसकेका ब्रुस लीलाई माथि स्वर्गमा फेरि एकपटक मस्तिष्कघात हुन्थ्यो होला ।

म चाल मारेर उसको छेउमा पुगेँ । उसले आफ्नो पछाडि म उभिएको चालै पाएको थिएन । ऊ तन्मयताका साथ कपीमा केही लेखिरहेको थियो । मैले धारे हात पारेँ, सक्नेजति बल लगाएर दह्रो बनाएँ । मैले सुनेको थिएँ, ब्रुस लीले प्रहार गर्नुअघि आफ्नो सम्पूर्ण शरीरको शक्ति तानेर हातमा ल्याउँछ रे ! त्यस्तो कसरी हुन्छ भन्ने प्राविधिक ज्ञान त मलाई थिएन, तर मैले मनमनै आफ्नो पूरै शक्ति त्यहाँ ल्याएको कल्पना गरेँ । ब्रुस लीले आक्रमण गर्ने वेला ठ्याक्कै बिरालोको जस्तो आवाज निकाल्छ भन्ने पनि सम्झिएँ । अनि आफ्नो धारे हात उज्याएर ‘म्या…उँ’ भनेर कराउँदै मैले प्रभातको गर्धनमा कराँते चप बजाएँ । एक सुरमा भएको बिचरा प्रभात भुक्लुक्कै अगाडि घोप्टियो । उसको टाउको बेन्चीमा ठोकियो । मेरो सातो उड्यो । हत्त न पत्त उसलाई गएर उठाएँ । अरू एक–दुईजना साथी पनि आए । लौ मा(यो, प्रभात त आँखै देखिनँ भन्न थाल्यो । मलाई डर लाग्यो र ग्लानि पनि भयो । निकै बेरपछि मात्र प्रभात बिस्तारै ठीक भयो । आजसम्म पनि त्यो सम्झिँदा मलाई आफैँसँग विरक्त लाग्छ ।

त्यसपछि मैले आफू ब्रुस ली बनेको परीक्षण जीवित वस्तुहरूमा कहिल्यै पनि गरिनँ । त्यतिवेला मैले पत्रिकामा भेटेको ब्रुस लीको फोटो काटेर कुनै साहुले ऋणीको तमसुकलाई गर्नेभन्दा बढी जतन गरेर सुरक्षित राखेको थिएँ । मैले त्यो फोटो कपीमा हालेर स्कुलमा लगी साथीहरूलाई देखाएँ । त्यो हेर्न साथीहरू मेरो वरिपरि झुम्मिएका थिए । मसँग ब्रुस लीको फोटो भएको कुरा एक कान दुई कान मैदान हुँदाहुँदा अरू कक्षाका विद्यार्थीहरू पनि मलाई खोजीखोजी त्यो हेर्न आउन थाले । म पनि दंग पर्दै सबैलाई फोकटमा त्यो देखाउँथेँ ।

त्यतिवेला एक प्रदर्शनको एक रुपैयाँ मात्र उठाएको भए सायद मेरो बक्स अफिसले पनि मेरो औकातअनुसारको अपार व्यवसाय गथ्र्यो होला । हलिवुडमा उनका सिनेमाहरू जति हिट थिए, यता उनको फोटो त्यति नै सुपरहिट भइरहेको थियो । केही समयपश्चात् काठमाडौंमा थरिथरी पोस्ट कार्ड र पोस्टर आउन थाले । भीमसेनस्थानलगायत काठमाडौं गणेशस्थानबाट नरदेवी जाने बाटोमा त्यस्ता पसल खुलेका थिए, जसले ब्रुस लीमाथिको मेरो एकाधिकार ध्वस्त बनाइदिए । हामी पैसा जोगाई–जोगाई ब्रुस लीका पोस्टर किन्थ्यौँ । कोठाका भित्ता र दराज ब्रुस लीका थरिथरी पोस्टरले भरिन थाले । पछि तन्नेरी हुन थालेपछि भने हलिवुडकी एक अभिनेत्रीले हामीलाई बढी आकर्षित गर्न थालिन् र ब्रुस लीको महत्व बिस्तारै कम हुँदै गयो । ब्रुस लीलाई फिवी केट्सका चित्ताकर्षक पोस्टरले ढाक्न थाले, छोप्न थाले । मनमस्तिष्कमा पनि ब्रुस लीको छवि धमिलो हुँदै जान थाल्यो । फिवी केट्स चहकिलो हुन थालिन् ।

तर, झापाबाट काठमाडौं सम्मको त्यो साहित्यिक यात्रामा ब्रुस ली पुनः हिट भए । ब्रुस लीको नाममा भद्रपुरबाट सुरु भएको प्रश्नोत्तरको रोचक खेल काठमाडौं आइपुग्दासम्म पनि सकिएको थिएन । यो खेलको रोचकताको अर्को प्रमाण के हो भने त्यो यात्रामा सहभागी हामीमध्ये धेरैको एउटा ह्वाट्सएप् समूह बनेको छ । वेलावेला अझै पनि कसैले समसामयिक घटनासँग ब्रुस लीलाई जोडेर प्रश्न सोधिरहेको हुन्छ–‘ब्रुस लीले विष्णु पौडेललाई फोन गरेर के भन्यो ?’‘ओहो विष्णुजी, तपाईं त क्या खली ।’ नयाँ पत्रिकामा प्रकाशित