इनकाउन्टर र पक्राउको रणनीति पछि गुण्डा नाइकेको भागाभाग, कोही लुके कोही भागे

२०७६ असार १ आइतवार
Newsdesk shikharnews

गुण्डानाइकेमाथि प्रहरीले कडा नीति लिएपछि कोही सुरक्षित स्थान खोज्दै लुक्न थालेका छन् त कोही सामान्य व्यवसायमा सिमित छन् । कोही पक्राऊ पछि अदालतको आदेशले रिहा भई सक्रियता देखाउन खोजिरहेका छन् । ‘इन्काउन्टर’ र पक्राऊको रणनीति अनुसार प्रहरी प्रस्तुत भएपछि सर्वा्धिक खोजीको सूचीमा परेकाहरु दुबई, बैंकक वा भारतका शहरहरुमा लुकिरहका छन् । नेपाल प्रहरीका अनुसार आपराधिक क्रियाकलापमा संलग्न भएको प्रमाणका आधारमा खोजी गरिएकामध्येका गुण्डानाइकेहरु भारत या मध्यपूर्वका शहरहरुमा रहेको सूचना प्राप्त भई खोजी भइरहेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एक अधिकारीले भने,‘खोजीको सूचीमा रहेकामध्ये केही गुण्डानाइकेहरु विदेशमा लुकेका छन् ।’ उनको भनाई पुष्टि हुने गरी गुण्डानाइके दाबा लामा भाद्र १६ गते नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पक्राऊ परेका थिए ।

तीन सहयोगीका साथमा पक्राऊ परेका लामा प्रहरी कारबाहीको भयले स्थल मार्गबाट पूर्वी नाका हुँदै भारत छिरेका थिए । लामा भारतको विभिन्न शहरमा आवत्जावत् गर्दै आएका थिए । पक्राऊको दिन सिलगुढीस्थित बागडोगरा विमानस्थल जान लागेका थिए ।

पश्चिम बँगालमा नक्कली भारतीय रुपैयाँको कारोबारको अभियोग लागेपछि दिल्लीमा पक्राऊ परी कलकत्ता चलान गरिएका लामा अदालतको आदेशमा रिहा भएका छन् । दिल्लीस्थित विमानस्थलबाट छुटाउन नेपालबाट राजनीति दबाब दिन खोजिएपनि सफल नभएपछि अदालती सुनुवाईको प्रक्रियामा लगिएका थिए ।

अर्का गुण्डानाइके विष्णु लामा दुबईमा रहेको सूचनाका आधारमा खोजी भइरहेको प्रहरीले जनाएको छ । निर्माण व्यवसायी शरद गौचन हत्यामा संलग्न गिरोहका सदस्यमध्येका लोप्साङ लामा सहयोगीका साथ भारतमा रहेको सूचनाका आधारमा खोजी गरी प्रहरीले सफलता हासिल ग¥यो । उनी सहयोगीसहित पक्राऊ परेर कारागार चलान गरिएका छन् ।

फरार भई विदेशमा लुकेकाहरु पक्राऊ गर्न रेड कर्नर नोटिश जारी गरेको छ प्रहरीले । जुनसुकै कुनामा लुकेपनि गुण्डानाइके पक्राऊ गरिछाड्ने प्रहरीको नीति छ ।

‘इन्काउन्टर’ रणनीति

निर्माण व्यवसायी शरद गौचन हत्यामा संलग्न मनोज पुन र सोमबहादुर आले गत वर्षको फागुन पहिलो साता रुपन्देहीमा प्रहरी ‘इन्काउन्टर’ मा मारिए । घटनाका मुख्य योजनाकार समिरमानसिंह बस्नेत कारागारमा छन् । बस्नेतले कारागारभित्रबाट आपराधिक क्रियाकलाप गरिरहेको सूचनाका आधारमा प्रहरीले कडा निगरानीमा राख्यो । गुण्डानाइके अशोक लामामाथि प्रहरीद्वारा गोली प्रहार भयो ।
अर्का गुण्डानाइके राजन लिम्बू पनि प्रहरी कारबाहीमा परे ।

डकैतीका अभियुक्त उनी लामो समय जेल बसेर रिहा भएका थिए । डकैतीमा पुनः सक्रिय भएपछि उनीमाथि गोली प्रहार गरी पक्राऊ गरियो । प्रहरीले गुण्डानाइकेविरुद्ध कडा कारबाहीको रणनीतिका साथ बढेपछि गुण्डानाइकेहरु भूमिगत हुने क्रम बढेको हो । प्रहरीको थ्रेटका कारण गुण्डागर्दीमा लामो समय देखि बदनामी भएकाहरु सामान्य व्यवसायमा फर्कन खोजेका छन् ।

कारागार चलान

नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनालले गुण्डानाइकेमाथि कडा नीति लिएर एक्सनमा जान निर्देशन दिनेवित्तिकै चर्चित गुण्डानाइकेहरुमाथिको कारबाहीले गति लिएको थियो । उनीहरु धमाधम पक्राऊ पर्न थाले । बुद्धचित्तको अवैध व्यापार र गुण्डागर्दीमा सक्रिय सत्यमान लामा पक्राऊ गर्ने्वित्तिकै छुटाउन राजनीतिक दबाब आएको थियो । दबाबलाई बेवास्ता गर्दै मुद्या चलाएपछि आइजीपी सर्वेन्द्र खनालको राजीनामा माग्दै उनीनिकट नेतृ नविना लामा गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउन पुगेकी थिइन् ।

राजनीतिक संरक्षणका बाबजुद गणेश लामा काठमाडौंबाट पक्राऊ परे । तर, उनी गएको दशैं अगावै थुनामुक्त हुनुलाई राजनीतिक दबाबसँग जोडिएको छ ।
प्रदेशसभा सांसद निर्वा्चित भइसकेको अवस्थामा विगतमा गरेको अपराधको मुद्यामा अदालतको आदेशमा दोषी ठहर भएपछि मनाङे फरार थिए । २०७५ वैशाखको पहिलो साता पूर्वोत्तर भारतबाट पक्राऊ गरी ल्याइएका थिए । विदेशमा लुके पनि मनाङेलाई प्रहरीले देशभित्र झिकाएरै छाड्यो । तर, अदालतको आदेशले उनी रिहा मात्र भएनन् सांसद पदको सपथ लिने कानुनी बाटो निकाले । उनले सपथ लिएर प्रदेश सांसदको बिल्ला भिरेर हिंडेका छन् ।

रमेश बाहुन भनिने सुजनकुमार पौडेल चार वर्षयता कारागारमा छन् । उनी भारतको उत्तर प्रदेशबाटा पक्राऊ गरी ल्याइएका थिए । प्रहरीको थ्रेट बढेपछि गुण्डानाइकेहरु भारत या भारतको बाटो हुँदै तेसं्रो मुलुक भाग्ने क्रम चल्दै आएको छ । भारतमा भीसा नदेखाई जान सकिने अवसरलाई आपराधिक पृष्ठभूमिका व्यक्तिहरुले दुरुपयोग गर्दै आएका छन् ।

नेपालमा अपराध गरेर भारत लुक्ने गुण्डानाइकेहरु धेरैजसो भारतमा पक्राऊ परेका छन् । विगतमा रमेश बाहुन, राजु गोर्खाली, मनोज पुनलगायतका गुण्डानाइके भारतमा पक्राऊ गरी नेपाल ल्याइएका थिए । नेपाल र भारतका प्रहरीले एक आपसमा समन्वय गरी एक अर्काको देशमा लुकेर बसेका अभियुक्तहरुलाई पक्राऊ गर्ने र सीमा कटाएर लाने गर्दै आएका छन् ।

सामान्य व्यवसायतर्फ

गुण्डा नाइकेहरु राजु गोर्खाली र मिलन चक्रे सामान्य व्यवसायमा फर्किएका छन् । गोर्खालीले काठमाडौं मलमा व्यवसाय चलाएका छन् । चक्रेले पुल हाउस चलाएका छन् । विदेश ओहोरदोहोर गर्दै आएका उनीमाथि प्रहरीले निगरानी गर्दै आएको छ । सामान्य व्यवसायमा फर्केको देखाएर विगतको आपराधिक पृष्ठभूमिका आधारमा पैसा जोहो गर्ने गतिविधि गर्दै आएका त छैनन् भन्नेमा प्रहरी चनाखो रहेको देखिन्छ ।
प्रहरीका अनुसार विगतको छाप बोकेर आपराधिक क्रियाकलाप गरिएको विगत घटनाका आधारमा निगरानी जारी रहन्छ । प्रहरीले गुण्डानाइकेहरु सामान्य जीवनमा फर्किएर व्यवसाय गरेको सूचना पाएपनि पुनः आपराधिक क्रियाकलाप गरेमा प्रहरी कडा भन्दा कडा कदम चाल्ने नीति लिएको छ ।

धादिङमा राधे भण्डारीलाई प्रहरीले पक्राऊ ग¥यो । राधेमाथि धादिङमा गुण्डागर्दी, चन्दा आतंकलगायतको अभियोग छ । दिनेश अधिकारी भनिने चरीको इन्काउन्टरपछि राधेको धादिङमा एकछत्र प्रभाव रहेको थियो ।

भक्तपुर क्षेत्रमा चर्चित सगुन श्रेष्ठ पेटी ठेक्का गर्दै आएका छन् । भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक क्षेत्रमा सक्रिय रही माटो बेच्ने ठेक्कापट्टामा लागेका छन् । काभ्रेली समूहका सदस्य क्रसर व्यवसायमा छन् । बनस्थली क्षेत्रमा केन्द्र बनाएर लामो समय गुण्डागर्दीमा लागेका बाघे भनिने शुकबहादुर तामाङ बालुवा व्यापारमा छन् ।

गुण्डागर्दीप्रति प्रहरीले कठोर नीति लिएपछि सुसुप्त अवस्थामा पुगेको निष्कर्ष प्रहरीले निकालेको छ । यदाकदा टाउको उठाउन खोजेमा प्रहरी एक्सनमा गइहाल्ने देखिएको छ ।

त्रासको रणनीति

नाम चलेका गुण्डानाइकेहरु पक्राऊ पछि गुण्डागर्दीमा सक्रियहरु झस्किए । प्रहरी इन्काउन्टरले धेरैको सातो लियो । कतिपयले ज्यानको खतरा समेत देखेपछि भूमिगत भएका छन् ।
प्रहरीले त्रास सृजना गरी गुण्डानाइकेहरुलाई निष्कृय हुने अवस्था बनाएको छ । मनोज पुन ‘इन्काउन्टर’ ले धेरैलाई झस्कायो । समिरमान सिंह बस्नेतलाई इन्काउन्टर नगर्न माथिको दबाब आएको बुझिएको छ । कुमार घैंटे ‘इन्काउन्टर’ हुँदा महानगरीय अपराध महाशाखाका इञ्चार्ज रहेका सर्वेन्द्र खनाल आइजीपी भएपछि गुण्डानाइकेहरुमा त्रास बढ्यो । उनले प्रहरी देखेपछि गुण्डा त्रसित हुनुपर्ने भन्नुको अर्थ कठोर कदम लिने चेतावनीका रुपमा लिइएको थियो । कतिपयले सुरक्षा खतरा देखेर देश छाडे ।

स्रोतका अनुसार गुण्डानाइकेहरुका बिचौलिया बनेर केही व्यक्तिहरु प्रहरीकोमा पुगेर खतरनाक कारबाही नगर्न अनुरोध गर्दै आएका छन् । गुण्डागर्दी र जघन्य अपराधमा सून्य सहनशीलता अपनाउँदै प्रहरीले कडा नीति लिएको छ । काँडाघारीमा बालक अपरहरणपछि हत्या गर्ने दुईजना प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

राजनीतिक संरक्षण लिएर टिकेका गुण्डानाइकेहरु कमजोर भएका छन् । तथापि, पछिल्लो समय राजनीतिक संरक्षण खोज्दै कानुनी कारबाहीबाट जोगिन खोज्नेहरुको सक्रियता बढेको छ ।
चुनावसम्म मुख्य राजनीतिक दलहरुले संरक्षण दिएका गुण्डानाइकेहरुलाई काँध थाप्न दलका नेताहरु तयार छैनन् । प्रहरीले उनीहरुमाथि कारबाहीलाई प्राथमिकतामा राखेको छ । गुण्डानाइकेहरु भूमिगत हुने र विदेश पलायन हुनुको कारण यही हो ।

पक्राऊ परेका गुण्डाहरुलाई छुटाउन जाने नेताहरुको दबाबलाई प्रहरीले मान्न छाडेपछि गुण्डानाइकेहरु निष्कृय हुँदै गएका छन् । देशभित्र असुरक्षित ठानेर विदेशिन थालेका छन् । प्रहरीको कठोर नीतिका कारण गुण्डानाइकेहरु भूमिगत हुने वा निष्कृय हुने भएपनि त्यसले गुण्डागर्दी पूर्ण नियन्त्रणमा आएको मान्न सकिदैन ।

सामान्य जीवनमा फर्किएका भनिएका गुण्डानाइकेहरु पुनः आपराधिक क्रियाकलापमा फर्कने सम्भावना उत्तिकै छ । त्रास सृजना गरेर गुण्डागर्दी नियन्त्रण गर्ने रणनीतिलाई गुण्डागर्दीहरु क्षणिक मान्छन् । प्रहरीले गुण्डागर्दी नियन्त्रणमा निकै प्रगति भएपनि प्रहरीले उनीहरुप्रतिको कडा नीति जारी राख्ने रणनीति लिएको छ ।