प्राचीन काठमाडौँ उपत्यकासँग बौद्ध धर्म र संस्कारको यस्तो सम्बन्ध

२०७६ असार ३ मंगलवार
Newsdesk Shikharnews

काठमाडौँ उपत्यका बौद्ध धर्मको विस्तार, अभ्यास र संरक्षणाका लागि परापुर्वकालदेखि नै महत्वपुर्ण रहँदै आएको छ । यहाँ रहेका बौद्धनाथ, स्वयम्भूनाथ लगायत टोल टोलमा रहेका विहार तथा वहिल अनि काठमाडौँबासीको दैनिक जीवनसँग जोडिएको बौद्ध संस्कार यसका उद्धाहरण हुन् । उपत्यकाको प्राचीन इतिहास धार्मिक ग्रन्थ तथा वंशावलीहरुमा आधारित छ । काठमाडौँको इतिहासको जानकारी दिने धार्मिक ग्रन्थहरुमध्ये स्वयम्भू पुराण पनि प्रमुख हो ।

स्वयम्भू पुराण अनुसार काठमाडौँ उपत्यका प्राचीन समयमा एक दह थियो । दहको नाम नागदह थियो । उक्त दहमा महाचीनका बुद्ध धर्मका बोधिसत्व मञ्जुश्रीले अलौकिक रश्मी देखेर मानव वस्ती बसाउने निर्णय गरे र दहको दक्षिणमा रहेको कच्छपाल पर्वतमा चन्द्रहाँस खड्ग प्रहार गरी यहाँको पानी निकास गरिदिए । पानी निकास भएपछि मञ्जुपत्तन नामक नगर स्थापना गरी धर्माकारलाई नगरको राजा बनाई आफु चीनतर्फ लागे ।

बर्तमान मजिपात (मञ्जुपत्तनको अपभ्रंश)मा रहेको मञ्जुश्रीको मन्दिरलाई सो प्रथम सभ्यताको सांस्कृतिक केन्द्रको रुपमा लिने गरिन्छ ।

गोपाल राजवंशावली संस्कृत र नेपाल भाषामा लिखित नेपालको राजवंशावली हो । यस वंशावलीको पहिलो केही पृष्ठहरू अनुपलब्ध छन् । यो वंशावलीका उपलब्ध पृष्ठहरू अनुसार नेपाल मण्डलमा (काठमाडौं लगायत उपत्यका वरिपरिका क्षेत्रमा) गोपाल, महिषपाल, आभीर, किरात, सोमवंशी, लिच्छवि आदि वंसहरूले शासन गरेका थिए । काठमाडौं केन्द्रित किरात राजा यलम्बर महाभारत युद्धमा सहभागी भएको भन्ने विश्वास छ ।

त्यस्तै सातौं किराती राजा जितेदास्तीको समयमा बुद्ध वा बौद्ध भिक्षुहरू काठमाडौं उपत्यका आएको पनि ग्रन्थहरूमा उल्लेख गरिएको छ । उक्त समयमा काठमाडौंमा यम्बु भन्ने मुख्य वस्ती थियो र यँगाल भन्ने (मञ्जुपत्तन निकट) सानो वस्ती थियो । काठमाडौंलाई अहिले पनि केही भोट (बर्मेली भाषाहरूमा यही नामबाट “यम्बु) भन्ने गरिन्छ । नेपालभाषामा काठमाडौंको नाम येँ पनि यही शब्दबाट उत्पन्न भएको हो ।

लुम्बिनीमा शाक्य वंशमाथि विरुढकद्वारा आक्रमण भए पछि बचेका शाक्य र कोलियहरूको आगमन पश्चात काठमाडौंमा बौद्ध धर्म र संस्कारको विस्तार अझ तिव्र भएको इतिहासवीद्हरुको मत रहेको छ ।