मनको इच्छा पुर्याउने कालिञ्चोक भगवती

२०७६ असार १३ शुक्रवार
Newsdesk shikharnews

कालिञ्चोक भगवती नेपालको एक प्रशिद्ध धार्मिकस्थल हो । दोलखा जिल्लामा पर्ने ३ हजार ८ सय ४२ मीटर उचाइमा अवस्थित कालिञ्चोक भगवनी अहिले आन्तरिक पर्यटनको केन्द्र पनि हो । केही वर्ष अघिसम्म त्यति चर्चामा नआएको कालिञ्चोक अहिले धार्मिकका साथै घुमघामका लागि जाने पर्यटकको एउटा उत्कृष्ट गन्तव्य बनिसकेको छ ।

कसरी पुग्ने कालिञ्चोक ?
काठमाडौँबाट कालिञ्चोक जान दोलखाको सदरमुकाम चरिकोट पुग्नुपर्छ । चरिकोट काठमाडौँबाट १ सय ३३ किलोमीटरको दुरीमा रहेको छ । चरिकोट पुगेपछि त्यहाँका कालिञ्चोकसम्म जानका लागि जीपहरु पाइन्छन् । सदरमुकाम चरिकोटबाट करिब १७ किलोमीटरको दुरीमा कालिञ्चोक रहेको छ । काठमाडौँबाट कालिञ्चोकसम्म जानका जानका लागि सार्वजनिक बस उपलव्ध छ ।

आफ्नै नीजि सवारी साधनबाट पनि कालिञ्चोकसम्म पुग्न सकिन्छ । त्यस्तै बलेरो रिजर्भ गरेर पनि काठमाडौँदेखि कालिञ्चोक जान आउन सकिन्छ । करिब २ महिना अघिदेखि काठमाडौँको पुरानो बसपार्कबाट कालिञ्चोकसम्मै पुग्ने बससेवा पनि सुचारु भएको छ । बसमा जाँदा करिब ५ सय रुपैयाँ भाडा लाग्दछ । बलेरो रिजर्भ गरेर जान चाहनेले पनि करिब ६ देखि ९ हजार रुपैयाँसम्म खर्च गर्नु पर्ने हुन्छ ।

बसमा जाँदा बाटोमा कुनै अवरोध नआए करिब ७ देखि ८ घण्टामा कालिञ्चोक पुग्न सकिन्छ । बलेरो वा नीजि सवारीमा गए यो दुरी अझ चाडै पार हुन्छ

पहिलो दिनको बासस्थान कुरी बजार
काठमाडौँदेखि कालिञ्चोकसम्म पुगेर एकै दिनमा फर्कन सम्भव छैन । त्यसैले काठमाडौँबाट सुरु भएको पहिलो दिनको यात्रा कुरी बजार पुगेर सकिन्छ । कुरी बजारमा बस्नका लागि साना ठूला गरी ५ दर्जनभन्दा बढी रिसोर्ट तथा होटल छन् । केही साना बाहेक कुरीमा रहेका होटल तथा रिसोर्ट सुविधासम्पन्न नै रहेका छन् । कुरीमा १ हजार रुपैयाँदेखि माथिका होटल पाइन्छन् । यहाँ रहेका होटल तथा रिर्सोटमा स्थानीय परिकार खान पाइन्छ ।

कुरीबाट हिडेर जाने कि केबलकारमा जाने ?
३ हजार ४ सय मीटर उचाईमा रहेको कुरी बजारमा एक रात बसेर भोलीपल्ट विहानै कालिञ्चोक भगवतीको दर्शनका लागि जान सकिन्छ । हिडेर जाने हो भने कुरी बजारबाट कालिञ्चोक भगवतीको मन्दिरसम्म पुग्न करिब १ घण्टा लाग्छ । तर अहिले केबल कार सञ्चालनमा आएका कारण हिड्न नचाहनेहरुले केबलकार प्रयोग गर्न सक्छन् । केबलकारमा जाँदा ३ देखि ४ मीनेटमै कालिञ्चोक पुगिन्छ । केबलकारको दुईतर्फी भाडाा ५ सय रुपैयाँ रहेको छ । केबलकारको टिकट काठमाडौँमै पनि लिन सकिन्छ । कालिञ्चोक भगवतीको दर्शन गरिसके पछि त्यहाँ पुग्ने अधिकांस रोल्वालिङ हिमश्रृंखला लगायत मनोरम प्राकृतिक दृश्यहरुको अवलोकनमा रमाउने गर्छन् । युवायुवतीहरुको हुल सेल्फी लिन र सम्झनाका लागि तस्विर खिचाउँन व्यस्त हुन्छन् ।

केबलकार अर्को आकर्षण
केबलकार सञ्चालनमा आए पछि कालिञ्चोक जानेको संख्या झनै बढेको छ । हिडेर जान नसक्नेहरु पनि केबलकार सञ्चालनमा आए पछि कालिञ्चोक जान थालेका छन् । करिब ४५ करोड रुपैयाँ लागतमा निर्मित केबलकारमा ४ डिब्बा रहेका छन् । स्वीस प्रविधि र प्राविधिकले बनाएको केबलकारको एउटा डिब्बामा एकपटकमा ८ जनाले यात्रा गर्न सक्छन् । केबलकारबाट एक दिनमा २ हजार ५ सयले यात्रा गर्न सक्छन् । केबलकारको स्टेसनदेखि कालिञ्चोकसम्मको दुरी १ किलोमीटर मात्र रहेको छ । स्थानीय, बृद्धबृद्धा र विद्यार्थीलाई केबलकार सञ्चालकले २० प्रतिशत छुटको व्यवस्था मिलाएका छन् ।

कालिञ्चोकको धार्मिक महत्व
धार्मिक दृष्टिकोणले कालिञ्चोक भगवतीलाई मनको इच्छा पुरा गर्ने भगवतीको रुपमा लिइन्छ । त्यसैले अधुरा कामहरु पूर्ण होस भनि कालिञ्चोकको भाकल गर्ने र भाकल पुरा गर्न त्यहाँ पुग्नेहरुको संख्या उल्लेख्य छ । कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । कालिञ्चोकमा जनैपुर्णीमा, दशैं, चैते दशैं र शनिबारका दिन भक्तजनको भिड लाग्ने गर्दछ । बौद्ध धर्मावलम्बीहरुका लागि पनि कालिञ्चोक महत्वपुर्ण तीर्थस्थल हो ।

सुरज खड्का