के नेपाल हल्लाको देश हो ?

२०७६ असार १९ बिहीवार
Newsdesk Shikharnews

नेपालको शासन, प्रणालीको हिसाबले पुँजीवादको माथिल्लो चरण अर्थात् सङ्घीयतामा पुग्यो । तर व्यवहारमा भने शिरदेखि पुछारसम्म सामन्तवादले नेपाली समाजलाई कच्याप्प च्यापेको छ । त्यो सामन्तवाद सङ्घीय संसद् र सङ्घीय सरकारमा सबैभन्दा बढी जब्बर छ । त्यसैले नेपालको अहिलेको व्यवस्था अस्तव्यस्त छ । सङ्घीयताको सबलीकरणका लागि सङ्घीय शिक्षा बाहेक अरू त्यस्तो ठूलो कुनै समस्या छैन । अधिकांश स्थानीय सरकारले जनताको हितमा काम गरेका छन् । कसैले आफ्नो पाइनदार गाडीको साटो एम्बुलेन्स किनेका छन् । किसानहरूलाई कृषि औजार वितरण गरेका छन् । सरकार र जनताबीचको सम्बन्ध घनिष्ठ बनाएका छन् । कसैले बाटो बनाएका छन् । बहुसङ्ख्यक स्थानीय सरकारले आफ्नो शक्ति चिन्न थालेका छन् ।

त्यसैले सङ्घीयतासम्बन्धी गोष्ठी गरेर तल्लो तहलाई प्रशिक्षण दिन पाए, उनीहरू स्वयं आफ्नो रक्षा र विकास गर्न सक्नेछन् । तर सङ्घीय संसद् र सरकार यही सत्य आम नागरिकबाट लुकाउन चाहन्छ । त्यसैले माथिकाहरू सङ्घीयताको शिक्षालाई देवी देउता, धर्म, लफडामा लगेर मूल मुद्दालाई ओझेलमा पार्न खोजिरहेका छन् । मैले कुनै एउटालाई भनेको होइन ।

एकथरी मानिसहरू इसाईहरू बढेका बढ्यै छन्, हिन्दुहरू घटेका घट्यै छन् भनेर चिन्ता गरिरहेका छन् । अर्को कराउँछ – पुराना मूल्यमान्यता हराउँदै गएका छन् । सांस्कृतिक अतिक्रमण बढेको छ । सरकारलाई कुनै चासो छैन । यतिमात्र होइन, नेपाली बजारमा सागसब्जी र फलफूलको अभाव भएको छ । भारत – नेपालका विभिन्न नाकामा थुपारिएका कन्टेनरमा फलफूल सड्न थालेका छन् ।

म त्यो कामलाई राम्रो काम मान्छु । भारतीय विषादीमा घोलिएको फलफूल र सागसब्जी खानुभन्दा, सब्जी उत्पादनमा आत्मनिर्भर नभइञ्जेल हामी पानी मात्रै खाएर भए पनि बाँच्न सक्छौँ । बाँच्न सक्नुपर्छ । अहिलेको सरकारको प्रवक्ता होइन म तर यसले गरेका राम्रा कामलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न मैले छोडेको छैन र छाड््ने पनि छैन ।

मेरो निष्कर्षमा २०५१ सालको नेकपा एमालेको सरकारले गरेका सोच र सञ्चालनलाई निरन्तरता दिएको हुनाले यो सरकारले अरू कुनै सरकारले भन्दा राम्रो गरेको छ । सांस्कृतिक मूल्य मान्यता मान्छेले जोगाउने हो । यो कुनै पनि सरकारको जिम्मेवारीमा पर्दैन । म त्यसको झिल्को देखिरहेको छु । नयाँ नयाँ झरनाहरू भेटिएका छन्, नाम थाहा नभएका पोखरीहरू अहिले जन्मिएका छन् ।

कतिपय स्थानमा नयाँ गुफाहरू भेटिएका छन् । आफ्नो गाउँपालिकालाई आत्मनिर्भर बनाउने होड चलेको छ । चाडबाडहरू पनि बढेका छन् । यसको संरक्षण सिंहदरबारबाट होइन, स्थानीय सरकारबाटै हुनुपर्छ । यो किन देख्दैनन् उपत्यकामा बस्ने नेताहरू ! नेपाललाई सफल सङ्घीय राज्य बनाउने काममा उनीहरूको कुनै भूमिका हुँदैन ?

‘नेपाल अब हिन्दु राज्य घोषित हुन्छ (किनभने भारतमा हिन्दुवादी भारतीय जनता पार्टीले उत्पात चुनाव जितेको छ) !’ यसले हल्ला र त्रास दुवै बढाएको छ । तर यो चाहिँ अज्ञानीको बहस हो । के नेपाल भारतजस्तै हिन्दु राष्ट्र हो ? होइन । चित्त नबुझे छलफल गरौँ । नेपालको पहिलो र ठूलो बस्ती ह्वाङ्हो (चीन) बाट बसाइँ सरेर आएका किराँतहरूको हो ।

पश्चिम उत्तरको ककेसियाबाट आएका खसहरूको आगमनकाल पनि सोही समयको हो । तर किराँत र खस दुवै समुदाय हिन्दु होइनन् । किराँतहरूको आफ्नै मौलिक धर्म छ । खसहरू त कुनै धर्म मात्रै होइन, धर्मको भिक्षा दिने देवदेवीको अस्तित्व नै स्वीकार गर्दैनन् । त्यसो भए हिन्दु राष्ट्र कहाँबाट आयो ? हामी धेरैलाई थाहा छ त्यो पनि भारतीय भूमिबाटै आयो ।

इसाको तेस्रो, चौथो शताब्दीबाट आरम्भ भएर दशौँ – एघारौँ शताब्दीको बीचमा हिन्दुस्तानबाट आएका हिन्दुहरूले नेपाललाई हिन्दु राष्ट्र भन्न थालेका हुन् । तिनै हिन्दुको पेलानमा पर्दै रैथाने नेपाली पनि हिन्दु भनिन थालेका हुन् । यो निष्कर्षलाई नपत्याउने अधिकार पनि छ पाठकहरूलाई । सिन्धु तरेर हिन्दु हुने आर्यहरूमा लडाइँ, झगडा गर्ने पौरख ठूलो थियो ।

सिन्धुघाँटी सभ्यतालाई तहसनहस तुल्याउने ती आर्यहरूका अगाडि पाखापखेरामा खेती गरी बसेका, पशुपालनलाई सबैभन्दा ठूलो व्यावसायिक काम गरेका खस र किराँतहरू टिक्ने सम्भावना पनि थिएन । आर्यावर्त बनाउने अभिलाषा बोकेका हिन्दुहरूले किराँतीहरूलाई पूर्व्तिर खेदेका हुन् भन्ने सत्य अहिले प्रमाणित भइसकेको छ ।

तिनीहरूले पाटनको च्यासलमा आमनरसंहार गरेको इतिहास पनि मरेको छैन । उपत्यकाबाट भागेर पूर्वदक्षिणतिर लागेका किराँतीहरू कहिल्यै हिन्दु भएनन् । खसहरू विस्तारै आर्यहरूसँग मिसमास हुन थाले । आफ्नो इतिहास बिर्सिएका खसहरू अहिले धार्मिक अन्योलमा छन् । पछिल्लो समयमा ज्ञानको ढोका खुल्दै जाँदा उनीहरू पनि आर्य हिन्दुहरूबाट छुट्टिन थालेका छन् ।

यसो हुँदा हिन्दु धर्म ८१ प्रतिशत नपुग्ने टुङ्गै छ । किनभने किराँत र खसहरूलाई एकै ठाउँमा राख्दा कति प्रतिशत हुन्छ त्यसको निर्णय पाठकहरूबाटै होस् । ‘नेपाल हिन्दु राष्ट्र होइन’ यो सत्य मैले नेपालकै ठूला नेता र अध्ययनशील बुद्धिजीवीबाट सारेको हुँ । नेपाली कँंग्रेका सभापति, जननायक, बी.पी. कोइरालाले २०३६ सालमै भन्नुभएको रहेछ – नेपाल हिन्दुराज्य हुँदै होइन ।

नेपाल निश्चय पनि धर्म्निरपेक्ष राज्य हो । धर्म्निरपेक्ष राज्यमा धार्मिक आस्था राख्ने स्वतन्त्रता हुन्छ । (२०३६ सालको ‘विक्ली मिरर’¬)विश्वको एकमात्र ‘हिन्दु राष्ट्र, हिन्दु राजा’ को दुन्दुभि बजेको बेला यति कडा शब्दमा आफ्नो मत राख्ने बी.पी. कोइराला अहिले फराकिलो नेपालमा हिन्दु राष्ट्र चाहियो भन्ने आन्दोलन गर्नुहुन्थ्यो ? त्यसैले नेपाली काँग्रेसका साथी हो –

गम्भीर भएर सोच्नुहोस् अनि मात्र धर्म र राज्यको बारेमा निर्णय गर्नुहोस् । होइन, बी.पी. कोइरालालाई हामी चिन्दैनांँै भन्नुहुन्छ भने मैले थप केही भनिरहनु नपर्ला । त्यतिबेला, हिन्दु धर्मको बिगबिगी कति थियो भने हिन्दु धर्मका पण्डितजीहरूले बुद्ध धर्मलाई हिन्दु धर्मको शाखा बनाएका थिए । शिखहरू पनि नेपालमा हिन्दु नै मानिन्थे । जहाँसम्म इसाई धर्मको कुरो छ, त्यसलाई ढाँट भन्छु म ।

किनभने प्रभु इशु भन्ने प्राणी सम्पूर्णमा काल्पनिक हुन् । युग परिवर्तन गर्ने महानता बोकेको दासविद्रोहको स्पार्टाकसको विद्र्रोह साम्य पार्न नसकेपछि रोमन सम्राटले तिनै स्पार्टाकसलाई ‘ब्युटिफिकेशन’ गरेर लामो कपाल भएका भगवान् बनाएर नागरिकलाई अलमल्याउने काम गरेका हुन् । तर विद्वान् इसाईहरू यो सत्यलाई स्वीकार्न मान्दैनन् ।

हाम्रातिरका अध्यात्मवादीहरूले बरु ढाँटेका छैनन् । तिनले बुद्धको नक्कली गाथा पनि गाएका छैनन् । सिद्धार्थ गौतम थिए । उनको दर्शन भौतिकवादी थियो । पछिका मानिसहरूले सिद्धार्थ गौतमलाई नै भगवान् बुद्ध बनाइदिए । अहिले गौतम बुद्धको सही परिचय खुलेको छ – विश्वका शान्तिदूत ।
इसाई धर्मका पण्डितहरूले दासविद्रोहका महान् नेता स्पार्टाकस नै हाम्रा भगवान् हुन् भनेर सत्य

नबोलेसम्म इसाई मतलाई ‘धर्म’ भन्नु भ्रम बाहेक अरू केही हुन सक्दैन । तर इसाई मतावलम्बी साह्रै धनी भएको हुनाले, आफ्नो ठगी धन्दाको व्यापार गरिरहन्छन् । कम्युनिस्टहरू त उसै पनि धर्म नमान्ने वितण्डा बोकेर बाँचिरहेकै छन् । तर किन ? यसको एउटा कारण पनि बुझिहालौँ । नेकपाका जननेता मदन भण्डारीले भन्नुभएको छ – राजा हिन्दु भएको हुनाले हिजो हिन्दु अधिराज्य भयो ।

अहिले सबै धर्मावलम्बीका प्रतिनिधिहरूले शासन गरेको हुनाले नेपाल धर्म्निरपेक्ष राष्ट्र हुनुपर्छ । (मदन भण्डारी ०४७ को संविधानको आलोचना । ) एकजना लेखक हुनुहुन्छ – सौरभ । उहाँका रचना पढेपछि मात्र उहाँको विद्वत्ताको कसी पत्ता लगाउन सकिन्छ । उहाँ भन्नुहुन्छ – नेपाल हिन्दु राष्ट्र हुँदै होइन । हामी शैव हौँ र शैवहरू हिन्दु होइनन् ।

हुन त जानी जानी सुतेकाहरूलाई उठाउन सकिँदैन । तर भ्रान्तहरूको भ्रममा परेकाहरूलाई सहयोग गर्न सकिन्छ । गोरखापत्रमा प्रकाशित
(लेखक नेकपाका नेता हुनुहुन्छ । )