सार्क फिल्म फेस्टिभलमा स्वस्तिमा खड्कालाई बेष्ट पफर्मर अवार्ड

२०७६ असार २३ सोमवार
Newsdesk shikharnews

श्रीलंकामा आयोजित ‘दी सार्क फिल्म फेस्टिभल–२०१९’ मा गत वर्ष प्रदर्शनमा आएको विनोद पौडेल निर्देशित डेब्यू फिल्म ’बुलबुल’ ले अवार्ड हात पारेको छ । यो फिल्ममा जीवन्त अभिनय पस्किएकी अभिनेत्री स्वस्तिमा खड्काले यस फिल्म फेस्टिभलमा ‘वेष्ट पफर्मर जुरी अवार्ड–२०१९’ जितेकी हुन् । अवार्ड जितेपछि उनले फेसबुकमार्फत् आफ्ना प्रशंसकसँग खुसी साटेकी छन् ।

स्वस्तिमाले फिल्मी करिअरमा पहिलो पटक अवार्ड जितेकी हुन् । उनले ‘सार्क फिल्म फेस्टिभल’ मा जितेको अवार्ड ’बुलुबल’ टिमलाई समर्पित गर्न चाहने फेसबुकमा उल्लेख गरेकी छन् । अवार्ड जितेपछि उनले आफू निकै खुसी भएको प्रतिक्रिया दिएकी छन् । जुलाई २ देखि ७ सम्म भएको उक्त फिल्म फेस्टिभलमा सहभागी हुन उनी गत साता श्रीलंका पुगेकी थिइन् ।

’बुलबुल’ सँगै यस फेस्टिभलमा ’प्रसाद’ र ’हरि’ ले पनि नेपालबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । अवार्ड जितेपछि संक्षिप्त प्रतिक्रिया दिँदै स्वस्तिमाले भनिन्, ‘पहिलो अवार्ड नै अन्तर्रा्ष्ट्रिय पाएँ । एकदमै खुसी छु । यो अवार्डले अझै उत्साहित भएर काम गर्न प्रेरणा मिलेको छ ।’ अवार्ड पाउँदा आफूले देशलाई सम्झिएको उनको भनाई छ ।

यसअघि ’सार्क फिल्म फेस्टिभल(२०१४’ मा फिल्म ’झोला’ बाट अभिनेत्री गरिमा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । त्यसयता कुनै नेपाली फिल्मबाट अभिनेत्रीले अवार्ड जित्न सकेका थिएनन् । यद्यपि, २०१७ मा ‘डाइङ क्यान्डल’ बाट उत्कृष्ट सम्पादकको अवार्ड भूपेन्द्र अधिकारीले जितेका थिए । भने, ‘कालो पोथी’ ले उत्कृष्ट फिल्म ओपन अवार्ड हात पारेको थियो ।

व्यावसायिक सफलतामा पछि परे पनि ’बुलबुल’ लाई समीक्षकले निकै प्रशंसा गरेका थिए । अहिले यो फिल्मले विदेशमा आयोजना हुने विभिन्न फेस्टिभलहरुमा सहभागिता जनाइरहेको छ । निर्देशक पौडेल फिल्मको प्रदर्शनका लागि केही हप्ता यता अमेरिकामा छन् । उनले आफ्नो डेब्यू फिल्मले ‘सार्क फिल्म फेस्टिभल’ मा अवार्ड जितेपछि खुसी व्यक्त गरेका छन् । यसमा अभिनेत्री खड्काको अपोजिटमा मुकुन्द भुषालको अभिनय छ ।