शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित नेपाली क्रिकेट टोली मलेशिया जाँदै

२०७६ असार २४ मंगलवार
Newsdesk shikharnews

टी–२० विश्वकप छनोटमा शिर्ष स्थानमा रही छनौट हुने लक्ष्यका साथ नेपाली राष्ट्रिय टोली आज मलेसिया प्रस्थान गर्दैछ । टी–२० विश्वकप एसिया फाइनल ६ साउनदेखि सिंगापुरमा हुँदैछ । मलेसियामा दुई टी–२० म्याच खेलेर नेपाल सिंगापुर पुग्नेछ, जहाँ घरेलु टोलीसँगै कुवेत, मलेसिया र कतारसँग नेपालले खेल्नेछ । पाँच देशले एकअर्कासँग खेल्दा

शीर्ष स्थानमा रहने टोलीले टी–२० विश्वकप छनोट खेल्नेछ । एसिया फाइनलमा तुलनात्मक रुपमा नेपाल बलियो दाबेदार हो । आईसीसी बरियतामा नेपाल अरु देशभन्दा माथि छ । तर विश्वकप खेल्ने बाटो भएकाले कुनै पनि टिमलाई सहज रुपमा नलिने कप्तान पारस खड्काले बताए । मलेसिया जानुअघि उनले भने, ‘विश्वकप छनोटको बाटो भएकाले हामीले

कुनै पनि खेल र खेलाडीलाई सजिलो रुपमा लिएका छैनौं । नेपालले विश्वकप खेल्ने हो भने यहीबाट बाटो सुरु गर्नुपर्छ ।’ नेपालले २०१४ मा टी–२० विश्वकप खेलेको थियो । २०१६ मा खेल्न सकेन । अब २०२० मा अष्ट्रेलियामा हुने विश्वकप खेल्ने लक्ष्य नेपाली टोलीले राखेको छ । त्यसका लागि यूएईमा हुने ग्लोबल छनोट खेल्नुअघि एसिया फाइनलमा शीर्ष स्थानमा रहन सक्नुपर्छ ।

आफूहरुको तत्कालको लक्ष्य त्यही रहेको भन्दै कप्तान पारस भन्छन्, ‘फेरि पनि विश्वकप खेल्ने सपना छ, तर यो सजिलो हुने छैन ।’ छनोट खेल्ने हरेक टोलीको सपना विश्वकप खेल्ने हुने र त्यसअनुसार मेहनत गर्ने भन्दै पारस भन्छन्, ‘हामीमा पनि राम्रो गर्न आत्मविश्वास छ तर आत्मविश्वास मात्र भएर हुँदैन, राम्रो खेल्न सक्नुपर्छ ।’

नेपाली टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले पनि अवस्था अनुसार योजना बनाएर खेल्ने सोच रहेको सुनाए । उनका अनुसार खेलाडीहरुलाई मलेसियामा पनि केही प्रयोग हुनेछ र अन्तिम रुप दिइनेछ । उता हङकङमा आजै भएको एसीसी यु–१९ इस्टर्न रिजनको फाइनल खेलमा नेपालले ९६ रनको सामान्य लक्ष्य पाएको छ । मलेसियाको किनरारा ओभल मैदानमा

टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ४३।१ ओभरमा ९५ रनमै अलआउट गरेको हो । हङकङलाई सस्तैमा समेट्न नेपालका लागि सागर ढकालले घातक बलिङ गरे । उनले १० ओभरमा मात्रै १८ रन दिँदै ५ विकेट लिए । उनले १० ओभरमध्ये ५ ओभर मेडन फालेका थिए । यस्तै कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राजभण्डारीले १–१ विकेट लिए ।