१५ लाख रुपैयाँको प्रयोगशालाबाटै तरकारीको विषादी जाँच हुने

२०७६ असार २४ मंगलवार
Newsdesk Shikharnews

रतसँगको सबै नाकामा तत्कालका निम्ति दुई समूहका विषादीको अवशेष परीक्षण गरिए मात्रै पनि ’धेरै विषादीयुक्त तरकारी तथा फलफूल भित्रिने जोखिम न्यून हुने’ विज्ञहरूले बताएका छन्।

सबै खालको विषादी जाँचको प्रबन्ध नहुँदासम्म कार्बामाइट र अर्गानोफोस्पेटको परीक्षण गरिनु पर्ने र त्यसका लागि धेरै लगानी नलाग्ने उनीहरूको भनाइ छ।

सरकारी अधिकारीहरूले अन्तर्रा्ष्ट्रिय स्तरको प्रयोगशाला सबै नाकामा नभएकाले भारतबाट आयात हुने तरकारी तथा फलफूल जाँच गर्न सक्ने अवस्था नरहेको बताएका छन्।

तर देशभर ती दुई समूहको विषादी परीक्षण गर्न सक्ने सातवटा प्रयोगशाला रहेको र त्यहाँबाट परीक्षणलाई निरन्तरता दिइने उनीहरूले जनाएका छन।

आयातित तरकारी तथा फलफूलको विषादी परीक्षणको विषय संसद्देखि सडकसम्म चर्चामा छ।

विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट पूर्वाधार नभएको भन्दै पछाडि हटेका कारण सबैतिरबाट सरकारको आलोचना भएको छ।

तर विषादी बारेका जानकारहरूले सरकारले हाल दुई समूहका विषादीको परीक्षणलाई अगाडि बढाउन सकेमा मात्रै पनि धेरै विषादी नभित्रिने र भविष्यमा अरू समूहको विषादी परीक्षण अगाडि बढाउन सहज हुने बताए।

नेपाल केमिकल सोसाइटीका अध्यक्ष प्राध्यापक डा. निरञ्जन पराजुली भन्छन्, “कार्बामाइट र अर्गानोफोस्पेट समूहका विषादीको परिक्षण कालिमाटीमा हुन्छ, त्यो परीक्षणमात्रै सबै नाकामा हुनसक्यो भने पनि धेरै कम विषादी भित्रिन्छ।“

यसो गर्दा आयात गर्नेहरूले पनि परीक्षणको डरले विषादी नभएका तरकारी र फलफूल ल्याउन थाल्ने उनको भनाइ छ।

डा. पराजुली भन्छन्, “एउटा प्रयोगशालाका लागि १५ लाख रुपैयाँमात्र लगानी गर्न सक्यो भने यो जाँच सम्भव छ र सबै नाकामा एकसाथ गर्न सकिन्छ।“

तर रसायनशास्त्र पढेको व्यक्तिले मात्रै रसायन परीक्षण गर्नसक्ने भएकाले प्रयोगशालामा उनीहरूको दरबन्दी राखिनुपर्ने उनी औंल्याउँछन्।

रसायनशास्त्र पढेकाहरू प्रयोगशालामा नहुँदा परीक्षण केवल देखावटी हुने पराजुलीको भनाइ छ।

सुरुवाती चरणमा प्रयोगशाला भएको भन्दै विषादी परीक्षणको निर्णय गरेको सरकारले दुई समूहको विषादी परीक्षण गर्नसक्ने अवस्थामा छवटा प्रदेशमा प्रयोगशाला रहेको र त्यसलाई अगाडि बढाइने जनाएको छ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव युवकध्वज जिसीले भने, “गत सालदेखि हामीले दुई प्रकारका विषादी परीक्षण हुने प्रयोगशालाहरू सात ठाँउमा स्थापना गरेका छौँ।“

“प्रयोगशालाहरू सञ्चालनमा छन् र कर्मचारी राख्ने क्षमता अभिवृद्धि गर्ने ढङ्गले हामीले काम गरिरहेका छौँ। सबै ठाँउमा परीक्षणको व्यवस्था गर्छौँ।“

प्रदेश नम्बर १ को बिर्तामोडमा, प्रदेश नम्बर २ को सर्लाहीको नवलपुरमा, प्रदेश नम्बर ३ को काठमान्डूको कालिमाटीमा, गण्डकी प्रदेशको पोखरामा, प्रदेश नम्बर ५ को बुटवलमा र नेपालगंजमा एवम् सुदुरपश्चिम प्रदेशको कैलालीको अतरियामा प्रयोगशाला छन्।

भारतबाट तरकारी तथा फलफूल नेपाल ल्याउँदा स्वच्छताको प्रमाणपत्रसँगै विषादी परीक्षणको प्रमाणपत्र पनि लिएर आएमा भने प्रमाणपत्रकै आधारमा स्वीकृति दिने व्यवस्था मिलाइने अधिकारीहरु बताउँछन्।

२९ प्रकारकै विषादीको परीक्षण गर्न सक्ने अवस्थामा सबै प्रदेशका प्रयोगशाला तयार हुन आवश्यकता अनुसारको बजेट आएमा पनि कम्तिमा एक वर्ष लाग्ने अनुमान अधिकारीहरुको छ। बिबिसीबाट