वातावरण सहज भएको प्रतिबद्धता पछि रंगशाला निर्माणमा फर्किए धुर्मुस सुन्तली

२०७६ असार २६ बिहीवार
Newsdesk Shikharnews

केही समयदेखि चितवनमा अन्तराष्ट्रिय रंगशाला निर्माणको काम स्थगित गरेको धुर्मुस सुन्तली फाउन्डेसन काममा फर्किएको छ । चितवन जिल्ला स्तरीय सर्वपक्षीय समितिले काममा फर्किन आह्वान गरेपछि फाउन्डेन काममा फर्किएको हो । फाउन्डेसनका तर्फबाट अध्यक्ष सीताराम कट्टेल धुर्मुसले विज्ञप्ति जारी गरी परियोजना सुचारु गर्न चितवन जिल्लास्तरी मूल सहयोग समितिको बैठकले आह्वान गरेकाले काम निरन्तरता दिने निर्णय गरेको बताए ।

‘परियोजना सुचारु गर्न चितवन जिल्लाको तर्फबाट गठित सर्वपक्षीय ५ हजार १ सदस्यीय मूल सहयोग समितिको बैठकले रंगशाला निर्माणका लागि पटक पटक गरेको आह्वानसाथै जिल्लाबाट वातावरण सहज भएको प्रतिवद्धता व्यक्त भए पश्चात हामीले रंगशालाको कामलाई निरन्तरता दिने निर्णय गरेका छौं’ विज्ञप्तिमा भनिएको छ ।

स्थानीयको एक समूहले जेठ १५ गते डोजर लगाएर रंगशालाको बार भत्काएको र कामदारलाई धम्की आएको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले काम रोकेको थियो । त्यसपछि स्थानीयसँग सहमति भई भत्काइएको बार पनि स्थानीयकै प्रयासमा उठाइएको छ ।

जिल्ला स्तरीय सर्वपक्षीय समितिले रंगशाला निर्माणका लागि रकम जुटाउने, अन्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको र काममा फर्कन आह्वान गरेकाले आफूहरु विश्वस्त भएको धुर्मुस सुन्तली फाउन्डेसनले बताएको छ ।

पुरा हुनै नसक्ने माग मोट्रेक्सले राखेपछि नेपालमा गाडी बन्ने अनिश्चित
नेपालमै गाडी एसेम्बल्डको स्वीकृति पाएको मोट्रेक्स र लगानी बोर्डबीच परियोजना लगानी सम्झौंता (पिआए) का लागि दुई चरणको छलफल भएको छ । उक्त छलफल मोट्रेक्सले राखेका कडा शर्तमै केन्द्रित छ । बोर्डका उच्च स्रोतका अनुसार मोट्रेक्सले सात वर्ष अर्को कुनै कम्पनीलाई एसेम्बल्ड प्लान्ट राख्न नदिने, एसेम्बल्डका लागि आउने पार्टसमा भन्सार छुट दिनुपर्ने र उत्पादित गाडी अरु कम्पनी सरह नै बेच्न पाउने शर्तमै छलफल केन्द्रित छ ।

‘मोट्रेक्सले राखेका कडा शर्त कार्यान्वयन गर्न सकिने अवस्था छैन । ’छलफलमा सहभागी एक अधिकारीले भने,’ सात वर्ष अर्को उद्योग आउनै नदिने शर्त खुला बजार अर्थव्यवस्था विपरित छ ।’ उनका अनुसार भन्सार छुटमा गाडीका पार्टस ल्याउने तर मूल्य भने अरु सरहनै हुने माग नै न्यायोचित छैन । ‘मोट्रेक्सलाई मात्रै भन्सार छुटमा पार्टस ल्याउन दिन सकिदैन । उसलाई दिनेवितिकै अरु कम्पनीलाई समेत त्यही सुविधा दिनुपर्छ’ ती अधिकारीले भने,’ मोट्रेक्सले राखेको माग पूरा गर्न नसकिने खालका छन् ।’

मोट्रेक्सले सात वर्षपछि पनि ११ अर्ब रुपैयाँ भन्दा ठूला परियोजनालाई मात्रै अनुमति दिनुपर्ने शर्त राखेको छ । कम्पनीसँग परियोजना लगानी सम्झौंताका लागि प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी संयोजक रहेको समितिमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन र लगानी बोर्डका सहसचिव सदस्य छन् ।

यो कम्पनीले माघ २५ गते एसेम्बल्ड प्लान्ट राख्न प्रस्ताव गरेको थियो । लगानी सम्मेलनका पूर्व सन्ध्यामा यो कम्पनीलाई एसेम्बल्ड प्लान्ट राख्न दिने गरि विदेशी लगानी स्वीकृति दिइएको थियो । एसेम्बल्ड प्लान्टको अनुभव नभएको यो कम्पनीले कोरियामा एसेसरिज मात्रै उत्पादन गर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा अघिल्लो साता बसेको बोर्ड बैंठकले मोट्रेक्सलाई नेपालमा एसेम्बल्ड प्लान्ट स्थापनाका लागि स्वीकृति दिएको थियो ।

सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स
काठमाडौं। सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ।

संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्समध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ। उसले अघिल्लो वर्ष एक नम्बरमा रहेको भारतको जेट एयरलाइन्सलाई उछिन्दै एक नम्बरमा स्थान जमाएको हो। आर्थिक सङ्कटमा परेपछि जेट एयरवेज केही महीनादेखि बन्द रहेको छ।

बढी पर्यटक बोक्ने एयरलाइन्सको दोस्रोमा जेट एयरवेज, तेस्रोमा कतार, चौथो स्थानमा फ्लाई दुबई र एयर इन्डिया रहेका छन्। सन् २०१७ मा जेट एयरवेज प्रथम, नेपाल एयरलाइन्स दोस्रो, कतार एयरवेज तेस्रो, एयर अरेबिया चौथो र फ्लाई दुबई पाँचौँ स्थानमा रहेको थियो।

निगमको वार्षिक प्रतिवेदन अनुसार सन् २०१८ मा नेपालमा अन्तर्रा्ष्ट्रिय उडान भर्ने वायुसेवा प्रदायक कम्पनीमा नेपाल एयरलाइन्स पहिलो स्थानमा पुग्न सफल भएको छ। उक्त अवधिमा निगमले चार लाख ९३ हजार १७० यात्रुलाई सेवा दिई आफ्नो बजार हिस्सा ११.७ प्रतिशत ओगट्न सफल भएको छ। निगमले भारतका तीन गन्तव्यसहित छ देशका आठ गन्तव्यमा अन्तर्रा्ष्ट्रिय उडान भर्दै आएको छ। निगमले हाल दुई वाइडबडी ए–३३०, दुई न्यारोबडी ए–३२० जहाजले अन्तर्रा्ष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको छ। निगमको एक मात्र बोइङ ७५७ बिक्रीका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ।

यस्तै सन् २०१८ मा छिमेकी मुलुक भारत र चीनबाट धेरै सङ्ख्यामा विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। अघिल्ला वर्षजस्तै नेपालमा बढी पर्यटक भित्रने पाँच मुलुकमा भारत पहिलो र चीन दोस्रो स्थानमा छन्। भारतबाट सन् २०१८ मा एक लाख ९४ हजार ३२३ र सन् २०१७ मा एक लाख ६० हजार १३२ पर्यटक नेपाल आएका थिए। सोही अवधिमा क्रमशः चीनबाट एक लाख ५३ हजार ६३३ र एक लाख चार हजार ६६४ पर्यटक नेपाल भ्रमणमा आएका थिए।

बढी पर्यटक भित्रने मुलुकमा संयुक्त राज्य अमेरिका तेस्रो स्थानमा छ भने श्रीलङ्का चौथो र संयुक्त अधिराज्य बेलायत पाँचौँ स्थानमा रहेका छन्। सन् २०१७ मा पनि बढी पर्यटक आउने मुलुकमा भारत पहिलो र चीन दोस्रो स्थानमा थिए। अमेरिका तेस्रो र श्रीलङ्का चौथो, बेलायत पाँचौ स्थानमा रहेको थियो। सन् २०१८ मा अमेरिकाबाट ९१ हजार ८९५, बेलायतबाट ६३ हजार ४६६ र श्रीलङ्काबाट ६९ हजार ६४० पर्यटक नेपाल आएका थिए।

सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए। जुन अघिल्लो वर्षको तुलनामा २४.७७ प्रतिशतले बढी हो। यो सङ्ख्यामध्ये पुरुष छ लाख २४ हजार ९२८ र महिला पाँच लाख ४८ हजार १४४ रहेका थिए। अघिल्लो वर्ष सन् २०१७ मा नौ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो हवाई र स्थल दुवै मार्गबाट आउने पर्यटकको सङ्ख्या हो । पर्यटकको सङ्ख्या बढे पनि समग्रमा पर्यटकको बसाइँ अवधि भने थोरै घटेको देखिएको छ। सन् २०१८ मा पर्यटकको बसाइँ अवधि १२.४ दिन रहेको छ । अघिल्लो वर्ष १२.६ रहेको थियो।

नेपाल आउने विदेशी पर्यटकमध्ये अधिकांश बिदा मनाउन र मनोरञ्जन तथा धार्मिक उद्देश्यका लागि आउने गरेका छन्। सन् २०१८ मा सात लाख तीन हजार ८४३ बिदा मनाउन र एक लाख ८७ हजार ६९२ धार्मिक कामका लागि आएका थिए। सन् २०१७ मा छ लाख ५८ हजार १५३ बिदा र मनोरञ्जन र एक लाख ४१ हजार ३३ धार्मिक उद्देश्यका लागि नेपाल आएका थिए।