भारतले रौतहटमा खोल्न नमानेको बाँध आफै भत्कियो, भारतमा हल्लीखल्ली
रौतहटको सिमानामा भारतले बाँधेको बाँध बाढीले भत्किएको छ । बाँध फुटेर पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको छ । बाँध फुटेपछि बाढी भारतीय बस्तीमा पसेको छ । बाढी पसेपछि भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायत ठाउँका बासिन्दामा हल्लीखल्ली मच्चिएको छ ।
भारतको बैरगनिया र रौतहटको गौरको बीचमा रहेको भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती डुबानमा परेका छन् । बाँधमा भएका ढोकाहरु नखोलिदिँदा संकट निम्तिएको भन्दै रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले भारतीय अधिकारीलाई पानीको निकास खोल्न आग्रह गर्दै आएका थिए ।
तर पानीको बहाव खोलिदिनुको सट्टा बाँधमा सुरक्षाकर्मी खटाएको भन्दै रौतहटबासीले सामाजिक सन्जालमार्फत भारतको आलोचना गरेका थिए । फेसबुक प्रयोगकर्ताले भारत विरोधी स्टाटससँगै ‘गो ब्याक इन्डिया’ ह्यासट्याग पनि प्रयोग गरेका छन् ।
पूवृपश्चिम राजमार्गमा पुल भत्कियो
पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि आवत(जावत ठप्प छ ।
अविरल वर्षापछि आएको बाढीले पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।
पुल भत्किएपछि बर्दिवास नगरपालिका ५ सशस्त्र प्रहरीको माइस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौं गाडीहरु रोकिएका छन् । रातिदेखि नै यात्रुहरु सडकमा अलपत्र छन् । कतिपय यात्रुहरु भने जोखिम मोलेर खोलाको बाढी तरेर वारपार गरेका छन् ।
शनिबार बिहान विपत व्यवस्थापन समितिको बैठक बसेको छ । बैठकले जिल्लामा उद्धार तथा राहतका लागि सकृयतापूर्वक जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।
महोत्तरीको १४ नम्बर बजारका केही घरहरुमा सडकको पानी पसेको छ भने किसाननगरमा ३ वटा घर भत्किएको बर्दिवास नगरपालिका वडा नम्बर ७ का अध्यक्ष फागुनी मगरले बताए ।
बर्दिवास नगरपालिका १ मा रहेको पानी खोल्सीले राजमार्ग पनि भत्काएको छ । त्यहाँका चार(पाँच घरमा गिट्टी माटो पसेको स्थानीयले जानकारी दिएका छन् । रातिदेखि नै नेपाल टेलिकमका पोष्टपेड र प्रिपेड मोबाइलमा सम्पर्क नहुने समस्या पनि आएको छ ।
गोदावरी खोलाले जीप बगायो, खोलामा पानी बढेपछि स्थानीय नाकाबन्दीमा
बाढीले गोदावरी खोलाको बहाव खतराभन्दा माथि पुगेपछि महालक्ष्मी नगरपालिकाका बासिन्दामाथि नाकाबन्दी लागेको छ । दुई आर्थिक वर्ष बितिसक्दा पनि अन्र्तगत सिद्धिपुर(लुभु जोड्ने मुख्य सडकको पुल निर्माण पूरा नहुँदा दशौं हजारलाई नाकाबन्दी लागेको छ ।
अविरल वर्षाका कारण आएको बाढीले अस्थायी आवागमनका लागि राखिएको ढलभन्दा निकै माथि पानीको सतह पुगेपछि वडा नम्बर ७,८,९ र १० का बासिन्दा खोला वारपार गर्न पाएका छैनन् । शुक्रबार विहान अस्थायी कलभर्ट तरेर गएकाहरु साँझ घर फर्कन सकेनन् । फर्केर आफन्तकोमा बस्न पुगे । कोही वैकल्पिक मार्ग खोज्दै हिंडे ।
यसै आर्थिक वर्ष्भित्र सम्पन्न भइसक्नुपर्ने पुल विभिन्न बहानामा पूरा हुन सकेको छैन । पुलको तल्लो पिलर मात्र जोडिएको छ । ग्वार्को लामाटार सडक खण्डको गोदावरी खोलाको पुल नबन्दा गत वर्ष पनि जीप बगाएको थियो । यस वर्ष पनि बगाउन लागेको जीपलाई स्काभेटरको सहायताले निकालियो ।
पुल समयमा नबन्दा स्थानीयवासी जनप्रतिनिधिहरुसँग आक्रोशित भएका छन् । उनीहरुले कामभन्दा कुरा धेरै गरेको भनी असन्तुष्टि पोखेका छन् ।
सिद्धिपुरबाट बिसनडोल हुँदै लुभु जाने वैकल्पिक मार्ग पनि निर्माणाधीन भएकाले हजारौं बासिन्दालाई आवतजावत गर्न कठिनाई परिरहेको छ ।