साउन महिनामा हरियोको महत्व

२०७६ साउन १ बुधवार
Newsdesk Shikharnews

लक्ष्मी खतिवडा
असारको अन्तिम सातादेखि नै बजारमा सुरु हुने हरियोको चहलपहल साउनको अन्तिम सातासम्म आइपुग्दा त अत्यन्तै रमाइलो माहोलमा परिणत हुन्छ । सानादेखि ठूलासम्मको रोजाइमा पर्ने हरियोेले बजारको रौनकलाई हरियाली बनाएको देखिन्छ । साउनमा हरियोको खोजीमा पसल पसलमा भौतारिएका भीडको अनुहारमा देखिने उत्साहले वरपरको वातावरणलाई नै हर्षित बनाएजस्तै लाग्छ ।

यतिबेला प्रायःमहिलाको हातमा हरियो चुरा, फुल बुट्टे मेहेन्दी र हरियो पहिरनमात्र देखिन्छ । यो माहोलले हरियो रङमा रुचि नहुनेलाई रुचि बढाएको छ । सबैखाले उमेर समूहका महिला अहिले कस्मेटिक पसल, फेन्सी पसल र बुटिकमा हरियोमा पनि परिमार्जित रङ र फेशनएवल डिजाइनका सौखिन बढी छन् ।

कलेज पढ्ने युवतीदेखि चालिस कटेका महिलाको लागि पनि अहिले हरियो पहिरन सहज बनेको छ । साउनमा हरियो धेरै प्रसङ्ग र जनविश्वाससँग जोडिएकाले पनि लगाउनुपर्छ भन्ने मान्यता एकातर्फ छ भने समयअनुसारको बदलिँदो फेशनशैलीले झनै आकर्षण बढाएको देखिन्छ । अधिकांश कलेजका युवतीले असारदेखि नै हरियो ड्रेसको डिजाइन छनोट गर्ने गर्छन् ।

न्यूरोडस्थित इगल आइज फेशन होमका प्रबन्धक, डिजाइनर राधा ढकालका अनुसार तीजमा जतिकै साउनमा पनि हरियो ड्रेसको अर्डर बढी हुन्छ । अचेल हरियो रङमा अन्य रङहरू मिसिएको कन्ट्रास्ट डिजाइन सबै उमेर समूहका महिलाको पहिलो रोजाइमा पर्ने गरेको छ । साउनमा पर्ने पाँचवटा सोमवारमा शिव मन्दिरमा देखिने भीडमा अचेल पाको उमेरभन्दा युवतीहरू बढी हुन्छन् ।

यो भीडको माहोलमा देखिने हरियो पहिरनसँग भगवान् शिवप्रतिको अगाध विश्वास र आस्था जोडिएकोले माहोल बढेको प्रष्ट देखिन्छ । आस्था र विश्वास समाजको एउटा पक्ष भए पनि कुनै कुराबाट प्राप्त हुने अलौकिक आनन्द र खुशी जीवनको अर्काे पक्ष हो । यो दुवैको समायोजनले सबै उमेर समूहका महिलालाई खुशी बनाएको छ ।

हातमा मेहेन्दीको बुट्टा हेर्दै रमाइरहुनु भएकी बालुवाटार निवासी निर्मला गुरागाई साउनको पहिलो सोमवार बसन्तपुरको शिव मन्दिरमा निकै रमाइलो मुडमा भेटिनुभयो । उहाँले फुलबुट्टे हरियो साडी, हरियो चुरा र मेहेन्दी देखाउँदै रहर पुग्ने गरी नै सेल्फी खिच्नुभयो । साउन भगवान् शिवको मनपर्ने महिना भएकाले भगवान् खुशी बनाउन शिवजीलाई मनपर्ने रङ्ग लगाएर खुशी भएको बताउने निर्मलाले एक महिना अघिदेखि नै साउनको लागि हरियो साडीको जोहो गरेको सुनाउनुभयो ।

साउनमा शिवालयमा भेटिने हरेक महिला आफूले लगाउने हरियोलाई भगवान् शिवजीको मनपर्ने रङ्सँग जोडेर बुझ्ने गर्छन् । यस्तै, धेरै महिलाको जमघट हुने पशुपतिमा पनि प्रायः साउनभरि नै युवती हरियो पहिरनमै बढी भेटिन्छन् । विवाहिताका लागि मेहेन्दी, हरियो चुरा र पहिरन सौभाग्यको प्रतीक हो भने अविवाहित महिला यसलाई उत्सुकता जगाउने रमाइलो माध्यमको रूपमा बुझ्छन् । कतिपयका लागि भने हरियो फेशनयेवल बन्ने काइदा हुने गर्छ ।

यो महिनामा गरिने हरेक क्रियाकलापमा रमाइलो सौख, उत्सुकता, जिज्ञासा र आस्था जोडिएको छ । यसभित्र पारिवारिक सुख, प्रेम र विश्वासलाई बलियो बनाउने अन्र्तनीहित सोच र भावना पनि जोडिएको छ । जसले जीवनयापनलाई अझै सुखमय र विश्वासिलो बनाउने आधारको सिर्जना गर्ने देखिन्छ । किनभने हरेक मानवीय क्रियाकलाप माया, विश्वास, प्रेम र खुशीमा नै अडिएको छ । साउने हरियो पनि हाम्रो समाजमा यस्तै अनेकौँ बिम्ब र प्रतीकको बीचमै घुमिरहेको छ । जसलाई पछ्याउने महिला जमात पनि यही सेरोफेरोभित्र नै जीवनका रहर र खुशीहरू खोजिरहेका भेटिन्छन् ।

माया र विश्वास बढाउँदै हरियो
साउन महिनामा बोटबिरुवाले रङ फेरेर पहेलो पालुवालाई हरियो बनाएजस्तै आफूले लगाइरहेको कुनै हरियो सामग्रीबाट मनलाई प्रकृति र मायामा अङ्कुरण गर्न सक्नु ठूलो कुरा हो । यो परिवर्तनले एउटा जीवनचक्रलाई नै सूचारु गरिरहेजस्तै मनले अनुभव गर्ने पविर्तनमा पनि अपार खुशी र रमाइलो पक्ष निहित छ । त्यसैले साउन महिना र यसका हरेक प्रसङ्गलाई मनभित्रको माया, खुशी र आनन्दसँग जोड्न सकिन्छ ।

विज्ञकाअनुसार प्रकृतिमा घुलेको यो हरियो रङले मनलाई तत्कालै फुरुङ बनाउन सक्ने सामथ्र्य राख्छ । साउनमा अहिले देखिएको यो हरियोको मौसम प्रकृतिसँग मनको मेल पनि हो । जसले मनमा प्रेम र खुशीको मात्र सञ्चार गरिरहेको साउनप्रेमीहरूको अनुभव छ । । जीवनमा कोही पनि रङहिन जिन्दगी चाहदैन् । रङहरू जस्तै उल्लासमय र रङ्गिन जिन्दगी सबै चाहन्छन् । कन्या र मिथुन राशि हुनेहरूका लागि साउनमा हरियोको महìव अझै बेग्लै छ तर साउनमा हरियोको महिमा धेरै कुराले बेग्लै छ ।

रातो, हरियो र नीलो र पहेँलो रङमा धेरैका आशा, अपेक्षा, माया, विश्वास र प्रेमको भाव अडिएको छ । यो सबैलाई मनपर्ने रङ हो । यीमध्ये रातो र हरियोको महìव साउनमा अपार छ । हरियो शान्तको प्रतीक हो । रङविद् हरियोलाई मनमा सकारात्मक र आनन्दको ऊर्जा सञ्चार गर्ने रङ मान्छन् । यस्तै, रातो माया र विश्वास, सौभाग्यको पहिचान हो । पहेलो रङ पवित्रताको प्रतीक हो । यी रङहरूको मेलले जीवनमा नयाँ खुशी र आनन्दको सचार गर्छ भने यसलाई किन प्रयोग नगर्ने भन्ने महìवपूर्ण कुरा हो ।

साउन महिनालाई रमाइलो बनाउने धेरै पक्षमध्ये हरियोको प्रसङ्ग रोचक छ । विशेषगरी महिलाका लागि माया र विश्वासको भाव सञ्चार गर्ने महिनाको रूपमा पनि लिइन्छ । साउनको पर्खाइमा बस्नेका लागि यो महिना मनभरि आनन्द र खुशीको सञ्चार गर्ने महिनाको रूपमा पनि रहन्छ । प्रकृतिको हरियालीसँग मनलाई पनि सामेल बनाएर आनन्द र खुशी हुने महिनाको रूपमा महिलाका लागि विशेष महìव छ । धार्मिक आस्था, विश्वाससँगै फेरी हरियालीको कुराले मनमा प्रकृतिसँगको अन्तरमिलन बोध गराउँछ ।

प्रेमको महिना साउन
साउनलाई प्रेमको महिना मानिन्छ । मनमा नयाँ, जोश जाँगर, उत्साह, प्रेम र प्रणय भावलाई सङ्केत गर्ने महिनाको रूपमा पनि लिन्छन् । साउनको महिमालाई बुझेर या जानी नजानी प्रयोग गरिने विशेष महìवका सामग्रीमा यस्तै माया, विश्वास र प्रेम नै लुकेको छ । साउनमा लगाइने हरियो चुरा, मेहेन्दी, पहेलो, रातो र हरियो पहिरनमा जीवनमा धेरै आशा, अपेक्षा र विश्वास जोडिएको छ । यो सबै अन्ततः माया र प्रेमकैै लागि हुन् । दाम्पत्य सुखको प्रसङ्ग, माया गर्नेको प्रतीकात्मक सम्झना, कल्पना, हुनेवाला मायालुको सम्झनामा जोडिएको साउनको व्रत, मेहेन्दी, चुरा, पोते र हरियोको सबै प्रसङ्ग पनि साउनको महिमासँगै जोडिएकाले यो महिना अझै विशेष छ । यसभित्र लुकेको प्रेम र मनमा अनुभव हुने रमाइलो पक्ष जीवनमा अन्य कुराबाट प्राप्त हुने रमाइलोभन्दा बेग्लै छ । यसमा पनि एक आपसको सद्भाव र विश्वासलाई अझै बलियो बनाउने माध्यमका रूपमा महिला अचेल साउनलाई लिन्छन् ।

धार्मिक मान्यताअनुसार हरियोको महिमा
जानकारहरूका अनुसार साउन महिना आराध्यदेव शिवजीको महिना भएकाले यसको महìव अपार बन्दै गएको हो । समयअनुसार मनाउने शैलीमा आएको परिवर्तनले रमाइलो माहोल बनाएको छ । सबैभन्दा ठूलो देवका पनि देव भगवान् खुशी बनाउन साउनमा धेरै कुराहरू गरिनेमध्ये हरियो एक हो । शिवजी खुशी बनाउन साउनमा हरियो पहिरन लगाउने गरेको प्रसङ्गबारे जानकारहरू भन्छन् हरियो नलगाए शिवजी रिसाउने पो हुन की भन्ने डरले पनि अचेल हरियो लगाउनेहरू बढेका हुन् । यो बाहेक साउनमा हरियो रङ प्रकृतिसँगको सामीप्यताले गर्दा पनि मान्छे खुशी भएर लगाउन चाहन्छन् । हरियाली हेर्दा आँखालाई पनि राम्रो, खाँदा स्वास्थ्यलाई पनि राम्रो, लगाउँदा पनि राम्रो, मनलाई आनन्दित बनाउने गुण हुन्छ । धर्मको आधारमा मात्र नभएर यस्ता विविध उपयोगका दृष्टिले पनि हरियोको महìव धेरै भएको उहाँको भनाइ छ ।

नेकपामा यसरी मिल्यो भागबण्डाको सेटिङ
एकता घोषणा भएको १४ महिनापछि सत्तारुढ दल नेकपाले पार्टी एकताका सम्पूर्ण प्रक्रियामा समझदारी जुटाएको छ। दुई अध्यक्षबीच आइतबारयता लगातार भएको छलफलले जिल्ला इन्चार्ज र सहइन्चार्ज, केन्द्रीय विभागमा भागबन्डालगायत सबै प्रक्रियामा समझदारी जुटाएको हो।

अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलको समेत सहभागितामा एकताका बाँकी काममा समझदारी बनाएका हुन्। एकतालाई पूर्णता भने साउन ५ गते बस्ने सचिवालय बैठकले दिनेछ।

अध्यक्षद्वयले यो प्रक्रिया टुंगोमा पु¥याउन वरिष्ठ नेता माधव नेपालसँग पनि छुट्टै परामर्श गरेका थिए। जिल्ला इन्चार्ज र सहइन्चार्ज, केन्द्रीय विभाग गठनलगायत सबै प्रक्रिया टुंगो लागेको महासचिव विष्णु पौडेलले बताए। ‘एकताका सम्पूर्ण प्रक्रिया अब टुंगिएको छ’, महासचिव पौडेलले भने, ‘अब तुरुन्तै पार्टी सचिवालय बैठक बसेर टुंगिएको प्रस्ताव अनुमोदन गरेर सार्वजनिक गर्छाैं। ’

नेकपाका ७७ जिल्लाका इन्चार्ज र सहइन्चार्ज, ३२ केन्द्रीय विभाग, ३ केन्द्रीय आयोग, केन्द्र्रीय सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, राष्ट्रिय परिषद्, प्रदेशस्तरीय विशेष कमिटी गठनका काम बाँकी थियो।

३२ केन्द्रीय विभागमध्ये १८ मा पूर्व एमालेले र १४ मा पूर्व माओवादीले पाउने भएका छन्। यस्तै ३ केन्द्रीय आयोगमा २ पूर्व एमाले र १ पूर्व माओवादीको भागमा परेको छ। ७७ जिल्ला इन्चार्जमा ४४ पूर्व एमाले र ३३ पूर्व माओवादीले पाएका छन्।

जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिँदा कुन मापदण्डका आधारमा दिने भन्नेमा नेताहरूबीच लामो रस्साकस्सी भएपछि प्रक्रिया लम्बिएको थियो। वरिष्ठ नेता नेपालले दोहोरो जिम्मेवारीका आाधारमा केन्द्रीय सदस्यको कार्य्विभाजन गर्न नहुने अडानमा रहेपछि साबिक दुवै पार्टीका जिल्ला इन्चार्ज र सहइन्चार्ज रहेका नेतालाई नै जिम्मेवारी दिने गरी सहमति भएको थियो।

एकताका सम्पूर्ण प्रक्रिया टुंगिएको छ। अब तुरुन्तै सचिवालय बैठक बसेर अनुमोदन गरी सार्वजनिक गर्छाैं। ’ –महासचिव विष्णु पौडेल

जिल्ला अध्यक्ष र सचिव चयन गर्दा पनि नेताहरूबीच विवाद देखिएपछि साबिक जिल्ला अध्यक्ष र सचिवबाटै नेतृत्व दिने समझदारीमा जिल्ला कमिटी गठन गरिएको थियो। अहिले जिल्ला इन्चार्ज र सहइन्चार्जमा पनि त्यही विधि अवलम्बन गरी नेकपाले केन्द्रीय सदस्यलाई कार्यविभाजन गरेको हो। उसले कुन नेताले कहाँ के जिम्मेवारी पाए अहिले गोप्य राखेको छ।

सचिवालय बैठकपछि मात्र टुंगिएको कार्य्विभाजन प्रस्ताव छलफलमा ल्याई अनुमोदन गर्ने र त्यसपछि मात्र सार्वजनिक गर्ने तयारी नेकपाको छ। बैठक साउन ५ गतेका लागि तोकिएको छ। पूर्व माओवादीले पाएको भागबन्डामा अध्यक्ष दाहाल र पूर्व एमालेले पाएको भागबन्डामा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेता माधव नेपालसँगको समेत समझदारीका आधारमा नाम चयन गर्नेछन्।

केन्द्रीय विभागको नेतृत्वमा करिब ५५–४५ प्रतिशतका आधारमा भागबन्डा लगाई जिम्मेवारी बाँडफाँड लगाइएको नेकपा स्रोतले बतायो। नेकपाका ३२ केन्द्रीय विभाग छन्। संगठन, आर्थिक, विदेश, प्रचारलगायत विभाग भने उसले सचिवालय सदस्यबाटै नेतृत्व लिने गरी टुंगो लगाएको छ। अन्य विभागको नेतृत्व भने स्थायी समिति सदस्यलाई दिइएको छ। संगठन विभागको नेतृत्वमा नेकपाभित्र पेचिलो विवाद थियो। तत्कालीन नेकपा र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता घोषणा भए पनि एकता प्रक्रिया टुंगिएको थिएन। अन्नपूर्णपोष्टबाट

फोहर सङ्कलन गर्ने निजी संस्था दर्ता गर्दै महानगर
काठमाडौं। काठमाडौँ महानगरपालिकाले महानगरभित्र फोहर सङ्कलन गर्ने निजी संस्थाहरुलाई दर्ता गर्ने भएको छ। अहिलेसम्म निजी संस्थाले आफूखुशी फोहर सङ्कलन गर्दा एकातिर समन्वय नभएको र अर्का्तिर राजश्व नआएको भन्दै महानगरले निजी संस्था दर्ता प्रक्रिया अघि बढाउन लागेको हो।

अहिले निजी कम्पनीले दैनिक ८० देखि १०० टिपर फोहर सिसडोलमा विसर्जन गर्दै आएका छन्। उनीहरुले त्यसरी विसर्जन गरेको फोहरवापत काठमाडौँ महानगरपालिकालाई प्रतिटिपरको रु ३५० बुझाउने गरेका छन्। उनीहरुले दिने सेवा र लिने शुल्कमा एकरुपता ल्याउनका लागि पनि सूचीकृत गर्न लागिएको महानगर वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए। उनले भने, “हामी छिट्टै नै निजी संस्थालाई सूचीकृत गर्न शुरु गर्नेछौँ।”

महानगरपालिकाका ३२ वडामध्ये अहिले आठ वडामा महानगरपालिका आफैँले र २४ वडामा निजी संस्थाले फोहर सङ्कलन गर्दै आएका छन्। कतिपय संस्थाले फोहरको वर्गीकरणसमेत शुरु गरेको उनले बताए। उनले भने, “फोहरको दीर्घकालीन व्यवस्थापनका लागि वर्गीकरण मात्रै विकल्प भएकाले त्यसमा पनि उनीहरुसँग मिलेर काम गरिनेछ।”

काठमाडौँ महानगरपालिकाले दैनिक ३५० मेट्रिकटन फोहर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको प्रमुख श्रेष्ठले जानकारी दिए। सो कार्यका लागि महानगरपालिकासँग आफ्नै २१ टिपर छन्। काठमाडौँ उपत्यकाका १८ पालिकाले सिसडोलमा फोहर विसर्जन गर्दै आएका छन्। सरकारले फोहर विसर्जनका लागि नुवाकोट जिल्लाकै बञ्चरेडाँडामा ल्याण्डफिल साइट निर्माण गरिरहेको छ।

देशभर २४३ सडक पुलको निर्माण
सरकारले यस वर्ष देशभरमा जम्मा २४३ सडक पुलको निर्माण सम्पन्न गरेको छ। गत वर्षहरुमा वार्षिक १०० को हाराहारीमा पुल निर्माण हुने गरेकामा यस वर्ष दोब्बरभन्दा बढी सडक पुलको निर्माण सम्पन्न भएको सडक विभागले जनाएको छ।

यस वर्ष सरकारले ३०० पुल सम्पन्न गर्ने लक्ष्य लिएको थियो। विभागका प्रवक्ता शिवहरि सापकोटाले महत्वाकांक्षी भएकाले मात्रै लक्ष्यमा नपुगिएको बताए। एक सयको हाराहारीमा निर्माण हुने गरेकामा दुई सय नाघ्नु नै महत्वपूर्ण भएको उनले बताए। उनले भने, “अहिले जति निर्माण सम्पन्न भएको छ त्यसमा पनि खुशी हुनुपर्छ।”

चालू आवको शुरुआतमा पुराना र नयाँ गरेर ९२५ सडक पुल निर्माणाधीन रहेको विभागले जनाएको छ। तीमध्ये निर्माणाधीन ६८२ पुल बजेट नभएकाले सम्पन्न भइनसकेको उनको भनाइ छ। उनले भने, “आगामी वर्षको बजेटबाट यी पुल निर्माणको काम अघि बढ्नेछ।”

पछिल्लो पाँच वर्षमा एक वर्षमा एक सयभन्दा कम मात्रै पुल निर्माण सम्पन्न भएको तथ्याङ्कले देखाएको छ। आव २०७४र७५ मा ८४ र आव २०७३र७४ मा ७४ पुल निर्माण सम्पन्न भएको थियो। सरकारले यस वर्षको बजेटमा तुइन, फड्के र अस्थायी साँघु दुई वर्ष्भित्र पूर्णरूपले विस्थापित गर्न आगामी आवको बजेटमा रु दुई अर्ब ३८ करोड विनियोजन गरेको छ।

चर्चित भारतीय कलाकारले कति पढेका छन् ?
भारतीय फिल्म नगरी अर्थात बलिउडका नाम चलेका हिरो, हिरोइनले कति पढेका होलान् ? पक्कै पनि पढे–लेखेकै होलान् भन्ने आम सोचाई हुन सक्छ तर यथार्थ फरक छ । नेपालमा पनि कलाकारहरुको शिक्षालाई लिएर बेलाबखत चर्चा हुने गर्छ । तर, बलिउडका केही कलाकारहरुको पढाईको स्तर थाहा पाउनु भयो भने अचम्मित बन्नु हुन्छ ।

किन भने धेरै चर्चित भारतीय कलाकारहरुको औपचारिक अध्ययन एकदमै कम रहेको एक भारतीय न्यूज एजेन्सीले दाबी गरेको छ । स्रोतका अनुसार बलिउडका सुपरस्टार सलमान खानले मात्रै स्कुलको पढाई पुरा गरेका छन् भने नायिका करिष्मा कपुर ५ कक्षा मात्रै उतिर्ण रहेको जनाइएको छ ।

बलिउडकी चर्चित नायिका कैटरिना कैफले कहिल्यै पनि स्कुल–कलेजको मुख नदेखेको दाबी गरिएको छ । कैटरिना लण्डनमा बस्नुअघि परिवारका साथमा चीन, जापान, फ्रान्स, स्वीजरल्याण्ड, पोल्याण्ड, जर्मनी, बेल्जियम लगायतका देश पुगिन् । लगातार स्थान परिवर्तन हुने कारणले कैटरिनाको स्कुल–कलेजमा पढाई भएन । कैटरिनाको जतिपनि किताबी ज्ञान छ, त्यो सबै घरमा नै भएको बताइएको छ । यस आधारमा उनको शैक्षिकस्तर शून्य छ ।

त्यस्तै पूर्व विश्व सुन्दरी समेत रहेकी नायिका ऐश्वर्या रायले मुम्बईको जयहिन्द कलेजमा एकवर्षको पढाईपछि आर्किटेक्चर पढाईको लागि अर्को एक कलेजमा भर्ना भएपनि पढाई बीचैमा छाडेको कारण ऐश्वर्या स्नातकमुनी अर्थात् अन्डर ग्रयाजुएट भएको बताइन्छ ।

त्यस्तै सन् ११९० को दशककी स्टार नायिका करिश्मा कपुर बलिउड फिल्म उद्योगमै दोस्रो कम शिक्षित हिरोइन भएको जनाइएको छ । करिश्माको पढाई ५ कक्षा पास मात्रै हो । उनले छैठौं कक्षाको पढाई गर्दागर्दै छोडेकी थिइन् र १७ वर्षकै उमेरमा ‘प्रेम कैदी’ नामक हिन्दी फिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन् ।

त्यस्तै नायिका प्रियंका चोपडाले लखनऊ, अमेरिका लगायतमा गरेर हाई स्कुलसम्मको मात्रै पढाई गरेकी छिन् । बलिउडमा पछिल्लो पुस्ताका चल्तीका नायक रणवीर कपुर पनि ग्रयाजुएट नभएको दावी उक्त न्यूज एजेन्सीले गरेको छ ।

त्यस्तै नायिका कंगना रानावत १० कक्षा मात्रै पास छिन् । कंगनालाई अंग्रेजी राम्रोसँग बोल्न नजानेको भनेर बलिउडमा निकै हेप्ने गरिन्थ्यो । बलिउडमा मिस्टर पर्फेक्सनिस्टको उपमाले चर्चित हिरो आमिर खान १२ कक्षा मात्रै उतिर्ण छन् ।

त्यस्तै बलिउडकी ‘काली सुन्दरी’ नायिका बिपाशा बसु पनि १२ कक्षा मात्रै उतिर्ण छिन् । बलिउडका सुपरस्टार सलखान खानले ११ कक्षामा भर्ना लिएपनि परीक्षा नदिएका कारण उनी १० कक्षा मात्रै उतिर्ण भएको जनाइएको छ ।

त्यस्तै अक्षय कुमार पनि स्कुलको पढाई पुरा गरेपछि कलेज त भर्ना भए तर पढाई पुरा नगरी मार्सल आर्टतर्फ लागेका थिए । त्यस्तै अभिषेक बच्चन पनि अन्डर ग्रयाजुएट हुन् भने अर्का नायक इमरान खानले अमेरिकाको क्यालिफोर्नियास्थित स्कुलमा हाई स्कुलसम्मको पढाई गरेका छन् ।

त्यस्तै सैफ अली खानसँग पनि कुनै डिग्री छैन भने नायिका अनुष्का शर्मा पनि अन्डर ग्रयाजुएट भएको दाबी गरिएको छ ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियाले पूर्णता पाएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डले केन्द्रीय सदस्यहरुको कार्य विभाजन, विभागहरु गठनबारे सहमति जुटाएका हुन् ।

अध्यक्षद्धयबीच भएको छलफलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादलसमेत सहभागी भएका थिए ।

आजदेखि इन्टरनेटको मुल्य बढ्ने
सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने अडान नछाडेपछि साउन गते अर्थात बुधबारदेखि इन्टरनेटको शुल्क बढ्ने भएको छ ।

सरकारले नै सेवा शुल्क लिने भएपछि आफूहरु शुल्क बढाउन बाध्य भएको इन्टरनेट सेवा प्रदायकहरुको संस्था आईएसपीएनले जनाएको छ । गएको वर्ष नै सरकारले १३ प्रतिशत सेवा शुल्क लिने बजेटमा उल्लेख गरेको थियो ।

त्यसको ब्यापक विरोध भएपछि सेवा प्रदायकलाई अन्य शीर्षकमा सहुलियत दिएर इन्टरनेटको शुल्क नबढाउने सहमति भएको थियो । तर सरकारले सम्झौता गरेअनुसार अन्य शीर्षकमा छुट नदिएको भन्दै इन्टरनेट सेवा प्रदायकले भोलिदेखि उपभोक्तालाई १३ प्रतिशत मूल्य बढाउने निर्णय गरेका हुन् ।

बाढी पहिरोबाट ७८ को मृत्यु, सत्र हजार घरधुरी विस्थापित
काठमाडौं। मुलुकमा केही दिनअघि परेको वर्षापछिको बाढीपहिरो र डुबानका कारण आज मध्याह्नसम्म ७८ जनाको मृत्यु भएको छ भने ३२ बेपत्ता र ४० जना घाइते भएका छन्। गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार असार २६ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर १७ हजार ४२० घरधुरी विस्थापित भएका र तीन हजार ३६६ जनाको उद्धार गरिएको छ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले ती घरधुरीका मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको र राहत वितरण कार्यलाई तीव्रता दिएको बताए।

अझै केही दिन आंशिक र केही स्थानमा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागको छ। अहिलेसम्म बाढी पहिरो र डुबानबाट ३२ जिल्ला प्रभावित भएको छ। बेपत्ताको खोजी र राहत कार्य तीव्र पारिएको सरकारले जनाएको छ। तीनै तहका सुरक्षा निकायका ४१ हजार बढी जनशक्ति उक्त अभियानमा सक्रिय छन्।

राजमार्ग खुलाउने प्रयास जारी
उदयपुर–गाईघाट–खोटाङ, खोटाङ–हलेसी–तुवाचुङ, महोत्तरी–जनकपुर–जलेश्वर (भाप्सी खोला डाइभर्सन), सिन्धुली–मध्यपहाडी लोकमार्ग, कान्ति लोकपथ (हेटाँैडा), कुलेखानी–फाखेल–फर्पिङ, बेँसीशहर–मनाङ, धुञ्चे–रसुवागढी सडक खुलाउने प्रयास जारी रहेको सरकारले जनाएको छ।

यस्तै हेटौंडा–दक्षिणकाली, भालुवान–प्युठान, गोरखाको बाह्रकिलो–बारपाक तथा साघारादेखि सिरहा जाने हुलाकी राजमार्गसमेत खुलाउने प्रयास भइरहेको छ। केही सडक भने सञ्चालनमा आइसकेको गृह मन्त्रालयले जनाएको छ।

राहत वितरण तीव्र, बाह्र हजार त्रिपाल पठाइयो
तीनै तहका सरकारले राहत वितरण कार्यलाई तीव्रता दिएका छन्। त्रिपाल, खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सामग्री स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति, निजी क्षेत्र, रेडक्रस, मानवीय सहायताका क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले राहत वितरण गरिरहेको गृह मन्त्रालयले जनाएको छ।

प्रदेश नं ३ को गोदाम घर हेटाँैडाबाट सिरहा, सर्लाही, रौतहट र महोत्तरी जिल्लाका लागि तीन–तीन हजार थानका दरले १२ हजार वटा त्रिपाल र चार रोल म्याटसहित राहत सामग्री पठाइएको छ। गृह मन्त्रालयले ललितपुर जिल्लाको गोटीखेल र गिम्दीका लागि हेलिकप्टरबाट ४० थान त्रिपाल पठाएको र तराईमा थप एक हजार १०० थान त्रिपाल र जेनेरेटर पठाएको जनाएको छ।

प्रदेश नं २ को सरकारले उद्धार तथा राहतमा खर्च गर्ने गरी आठवटै जिल्ला विपद् व्यवस्थापन समितिका लागि रु १० लाखका दरले उद्धार तथा राहत खर्च उपलब्ध गराउने एवं मृतक परिवारलाई प्रतिमृतक रु तीन लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको समेत गृह मन्त्रालयले जानकारी दिएको छ।

रोकिँदै, शुरु हुँदै विषादी जाँच
बाँके। सरकारले असार पहिलो सातादेखि भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच ग¥यो । त्यसको दुई साता नबित्दै जाँच रोकियो।

कर्मचारी अभावका कारण जाँच रोक्नुपरेको सङ्घीय सरकारले जनाएको छ। सङ्घीय सरकारले भनेको छ, “आवश्यक पूर्वाधार र जनशक्ति तयार गरेर एक वर्ष्भित्रै जाँच पूर्ण कार्यान्वयनमा आउनेछ।”

यसरी सङ्घीय सरकारले जाँच रोके पनि प्रदेश सरकारले भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच गर्ने बताएपछि नेपालगञ्जमा एक साता अघिदेखि जाँच पुनः शुरु गरियो तर जाँच गर्ने कर्मचारीको अभाव देखाउँदै पुनः जाँच रोकिएको छ। पूर्वतयारी नै नगरेर शुरु गरेको जाँच पटकपटक रोक्नुपरेको विषादी अवशेष द्रुत विश्लेषण एकाइ नेपालगञ्जले जनाएको छ।

कृषि ज्ञान केन्द्र बाली संरक्षण अधिकृत सकिल अहमदले कर्मचारी अभावका कारण समस्या भएको बताए। उनले घरायसी कामले काठमाडौँ गएपछि विषादी जाँचको काममा झनै बाधा पुगेको छ। विषादी अवशेष द्रुत विश्लेषण एकाइका अनुसार नियमित जाँच गर्न बाली संरक्षण अधिकृत अहमदलाई जिम्मेवारी दिइए पनि एक्लैले काम गर्न नसक्ने भएपछि जाँच निरन्तर हुन सकेको छैन।

कर्मचारी नहुँदा विषादी जाँच रोकिएपछि भारतबाट नेपाल भित्रिने तरकारी र फलफूल निर्वाधरुपमा विना जाँच भित्रिरहेको छ। विषादी अवशेष द्रुत विश्लेषण एकाइ नेपालगञ्जका सञ्चालक समितिका अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरका अनुसार विषादी जाँचलाई निरन्तरता दिन स्थानीय तथा प्रदेश सरकारसँग थप कर्मचारीसमेत माग गरिएको छ।

“हामीले विषादी जाँचका लागि बाली संरक्षण अधिकृत एक जना, दुई जना प्राविधिक र कार्यालय सहयोगी एक जना हुनुपर्ने माग गरेका छौँ”, उपप्रमुख मगरले भनिन्। उपभोक्ता सबैले आफूले तरकारी उत्पादन गरेर खाने बानी बसाल्न अनुरोध गरेको बताइन्। केही दिनयता भारतीय तरकारीको नमूना भन्सार कार्यालयले नपठाएकाले पनि जाँच हुन नसकेको बाली संरक्षण अधिकृत अहमदले बताए।

भारतबाट आउने तरकारी मात्र नभएर नेपालगञ्जमा विभिन्न स्थानबाट आउने तरकारी र फलफूललाई मण्डीमा नै कहिले जोर नम्बर र विजोर नम्बर मिलाएर र कहिले जोर विजोर क्रस गरेर जाँच गर्ने योजना रहेको बाली संरक्षण अधिकृत अहमदले बताए। अहिले आउने हरियो तरकारीमा अन्यभन्दा बढी विषादी भेटिएको विषादी अवशेष द्रुत विश्लेषण एकाइले जनाएको छ।

बाली संरक्षण प्रयोगशाला खजुराका दीपक घिमिरेले नेपालगञ्जको सरकारी जमीनमा तरकारी लगाउने हो भने नेपालगञ्जलाई पर्याप्त पुग्ने बताउँदै सबैलाई आफ्नै बारीमा तरकारी फलाउन अनुरोध गरे। नेपालगञ्जको रानीतलाउ तरकारीउपज बजारसँगै कोहलपुर र भन्सार क्षेत्रमा समेत प्रयोगशाला राख्नुपर्नेमा उनले जोड दिए।

उनले केही दिनयता भारतबाट भित्रिने तरकारीमा अत्यधिक विषादी मिसाइएको हुनसक्ने भएकाले सजग रहन उपभोक्तालाई आग्रह पनि गरिएको छ।

दीय समितिका बैठक स्थगित, बाढी पीडितको उद्धारमा जान कांग्रेसको प्रस्ताव काठमाडौं। प्रतिनिधिसभा बैठक स्थगित गरेको भन्दै आक्रोशित नेपाली कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न माग गरेका छन्। नेपाली काँग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा. डिला संग्रौला र दिव्यमणि राजभण्डारीले बाढी, पहिरो र डुबान पीडितको सहयोगका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने उल्लेख गर्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि स्थगित गर्न समितिका सभापति शशी श्रेष्ठसँग माग गरेका हुन् ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै समितिकी सदस्य समेत रहेकी काँग्रेस सांसद संग्रौलाले बाढी, पहिरो र डुबान पीडितका लागि राहत दिन निर्वाचन क्षेत्रमा जानुपर्ने भन्दै एक हप्ता बैठक स्थगित गर्न समितिका सभापति श्रेष्ठसँग माग गरेकी हुन्। उनले पीडितलाई साथ दिन आ–आफ्नो निर्वाचन क्षेत्रमा जानका लागि प्रतिनिधिसभा बैठक स्थगित भएकाले संसदीय समितिको बैठक पनि स्थगित हुनुपर्ने तर्क गरिन्।

काँग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले पनि संसदीय समितिको बैठक स्थगित गर्न माग गरे। उनले जनता पीडामा रहेका बेला राहत तथा उद्दारमा सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले संसदीय समितिको बैठक बोलाउन नहुने जिकिर गरे। सांसद प्रेम सुवालले पनि एक हप्ता समितिको बैठक स्थगित गर्न माग गरे।

उनले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई राहत दिन सांसदहरुलाई आ–आफनो निर्वाचन क्षेत्रमा जान भन्दै प्रतिनिधिसभा बैठक स्थगित भएको उल्लेख गर्दै समितिको बैठक पनि स्थगित हुनुपर्ने बताए। यता, सत्तारुढ नेकपाका सांसदहरुले भने कानुन निर्माणको काममा ढिलाई हुने दावी गर्दै प्रतिनिधिसभा बैठक स्थगित भएपनि संसदीय समितिका बैठकहरु भने स्थगित गर्न नहुने धारणा राखेका थिए।

प्राकृतिक बहाव रोक्दा क्षति
काठमाडौं। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान हुँदाहुँदै पनि असार २६ देखि परेको अविरल वर्षाका कारण मुलुकले नसोचेको धनजनको क्षति बेहोर्नुपर्यो।

गृहमन्त्रालयको अभिलेखमा बाढी, पहिरो र डुबानका कारण आज मध्याह्नसम्ममा ७८ जनाले ज्यान गुमाइसकेका छन् भने ३० भन्दा बढी बेपत्ता छन्। विज्ञका अनुसार बाढीको प्राकृतिक बहावलाई रोक्दा बढी क्षति पुगेको छ। दीर्घकालीन योजनामा कमजोरी हुँदा पनि अहिले क्षति बेहोर्नुपरिरहेको छ।

पहाडमा अनुसन्धानबिना अव्यवस्थितरुपमा बाटोघाटो निर्माण, तराईमा चुरे क्षेत्रको उत्खननले प्राकृतिक बहावमा अवरोध र काठमाडौँ उपत्यकामा खोला किनारको अतिक्रमण, कङ्क्रिटसहितको भौतिक संरचना, ढल निकासको समस्या र अव्यवस्थित विकास निर्माणनै क्षतिको प्रमुख कारण भएको विपद् व्यवस्थापन विज्ञ तथा भूगर्भ्विद् डा कृष्ण देवकोटाको भनाइ छ।

वातावरणविद् सनोत अधिकारीको भनाइमा पछिल्लो समयमा एकैपटपक धेरै वर्षा हुने अवस्था बढ्दो छ। यसले एकातर्फ बाढीपहिरो बढाउँछ भने अर्काेतर्फ पानीका स्रोत व्यवस्थापनमा समस्या हुन पुग्छ। गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल भन्नुहुन्छ, “पहिले नै वस्ती नबसाउनुपर्नेमा बस्यो, प्राकृतिक बहाव रोक्न खोज्नु नै क्षतिको प्रमुख कारण हो।” “अहिले पनि जोखिम न्यूनिकरणको स्पष्ट नक्साङ्कन छैन, विपद् अझै विकासको मूल प्रवाहीकरणमा पर्न नसक्नु बिडम्वना हो”, खनालले भने।

खोला मिचेर घर बनाउने, जथाभावी डोजर चलाएर बाटो निर्माण गर्ने, गिट्टी–बालुवा निकासी, जङ्गल फँडानीलगायतका कारण जोखिम बढ्दो छ। भारतीय बाँधका कारण पनि डुबानको समस्या छ।

गृहमन्त्री रामबहादुर थापाको विचारमा पनि अहिलेको विपद् मानव सिर्जित समस्या हो। “जतासुकै खनेकाले पहिरो गएको छ, चुरे सबै नाङ्गिँदै छ, तराई मरुभूमिमा परिणत हुने खतरा छ, भारतले दक्षिणतिर बाँध र बाटो बनाउँदा डुबान ल्याइरहेको छ, यहीँ उपत्यकामा हामीले हेर्यौँ भने खोलामा घर बनाई दिने होइन नि, त्यसले त घर डुब्छ नै।” हालैको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीले भन्नुभयो। उनका अनुसार नीति नै सुधार गर्नुपर्ने जरुरी छ।

सरकार विपद् जोखिम रोक्न ‘हाइ अलर्ट’मै थियो तर स्रोत साधनको अभावले काम गर्न कठिनाइ भएको देखिन्छ। यसपटकको तराई डुबानमा न्यूनतम जगेडा राख्नुपर्ने डुङ्गासँगै डुङ्गा खियाउने जनशक्तिको अभाव देखियो। स्थानीय तहले विपद्को बेलामा चाहिने स्रोत साधनलाई प्राथमिकता दिएनन्। जबकी संविधानले नै विपद् व्यवस्थापनको जिम्मा स्थानीय तहलाई तोकेको छ। यी विविध कारण क्षति बढ्न गयो।

खोला–नाला तटबन्ध गर्ने, गहि¥याउने, फराकिलो बनाउने गर्दा बाढीबाट क्षति कम हुन्छ तर, खोलानाला साँघुरिँदै गएको छ। कुनै पनि विकास निर्माणको समयमा रुख बिरुवा रोप्ने र प्रकृतिलाई यथावत राख्ने प्रयास हुनुपर्छ। विकास निर्माणमा यसतर्फ ध्यान पुगेको देखिँदैन। नीति निर्माण गर्ने महत्वपूर्ण जिम्मेवारीमा रहनुभएका सांसदहरु नै मानिसले गरेको प्रकृतिको दोहनले नै प्रकोप बढाएको स्वीकार गर्छन्। विकासका कामको फितलो अनुगमन, असमान सन्धि–सम्झौता र पूर्वतयारीका योजना प्रभावकारी नहुँदा मुलुकले वर्षेनी क्षति बेहोर्नुपरेको सांसदहरुको भनाइ छ।

सांसद प्रेम सुवालले पूर्वतयारीमा राम्ररी ध्यान नपुगेको बताउँदै भने, “चुरे दोहन, गिट्टी–बालुवा निकासीले विपद् निम्तिएको हो, भारतीय बाँधले डुबान बढाएको छ, अब कूटनीतिक पहल गरेर दीर्घकालीन निकास निकाल्नुपर्छ।”

मुलुकमा छ हजार बढी नदीनाला छन् । वर्षेनी ती खोलानालाले कुनै न कुनै स्थानमा बाढीको प्रकोप ल्याएको हुन्छ। बाढी–पहिरो रोक्न सकिँदैन तर उचित व्यवस्थापन गरे क्षति न्यूनीकरण गर्न भने सकिन्छ। त्यसतर्फ समयमै सचेत हुनुपर्छ।

विपद्को जोखिम देशका विभिन्न क्षेत्रसँगै राजधानीमै बढ्दो छ। अघिल्लो वर्ष धोबी खोला पसेर अनामनगर डुबानमा पर्यो। यो वर्ष कलङ्की आसपास क्षेत्रनै प्रभावित हुने गरी बाढी पस्यो। सांसद दिलेन्द्रप्रसाद बडू आगामी दिनमा अझ बढी सतर्कताको आवश्यकता छ भने। “खोलाको तटबन्धलाई प्राथमिकता दिएको भए आन्तरिक क्षति कम हुन्थ्यो, तीव्ररुपमा अघि बढेको सडक निर्माणमा अनधिकृत डोजर चलेको छ, वर्षात्मा मात्रै कराएर विपद् कम गर्न सकिँदैन”, बडूले भने।

सांसद यशोदा सुवेदी अहिलेको समस्या प्राकृतिक प्रकोप नभई मानव निर्मित भएको बताउनुहुन्छ । “विपद् रोक्न चुस्त अनुगमन र कूटनीतिक पहल जरुरी छ”, सुवेदीले थपे।

सांसद झपटबहादुर रावलले पूर्वजले गरेको गल्तीसँगै प्राविधिक अध्ययनबिना जनप्रतिनिधिका डोजर स्काभेटरबाट मनलाग्दी बाटोघाटो बनाउँदा विपद्को जोखिम बढेको दाबी गरे। “मनपरि तरिकाले प्रकृतिलाई नष्ट गर्छौं, खोला कब्जा भइरहेको छ, काठमाडौँ उपत्यकाभित्रै यो तहले मान्छे डुब्नु दुर्भाग्य हो”, रावलले थपे। सांसद वृजेशकुमार गुप्ताले नेपालमा बाढी आउँदा भारतमा पनि क्षति पुग्ने भएकाले दुई देशले योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।