साँघुरो गल्लीभित्र चुरा र मेहन्दीको व्यापार

२०७६ साउन ९ बिहीवार
Newsdesk Shikharnews

काशीराम शर्मा
नेपालगञ्जको सबैभन्दा पुरानो बजार हो, एकलैनी । एकलैनी बजारको साघुँरो गल्लीसँग नेपालगञ्जको परिचय जोडिएको छ । हुन त नेपालगञ्ज धेरै विकसित भइसक्यो । एकलैनीभन्दा ठूला बजार र गल्लीहरु नेपालगञ्जमा जताततै विस्तार भइसके । नेपालगञ्जमा पाइलैपिच्छे थरीथरीका पसलहरु खुलेका छन् तर, ग्राहकको रोजाइमा अझै पनि एकलैनी बजार नै पर्छ ।

नेपालगञ्जको स्थापनासँग जोडिएको एकलैनी बजारमा जुत्ता, चप्पल, कपडादेखि सौन्दर्य प्रशाधन, चुरापोते लगायतका पसलहरु सानो गल्लीभित्र लहरै रहेका छन् । यो यस्तो गल्ली हो, जहाँ ग्राहकको भीड नलागेको दिन होस् । सस्ता र राम्रा सामानहरु पाइने विश्वासमा सधैं ग्राहकले भरिने बजार हो, एकलैनी । सदाबहार सबैको रोजाइमा पर्ने एकलैनी बजारमा सामान किनमेल गर्नेको भीड र ताँती सधैं एकनासको हुन्छ ।

साउन लागेपछि एकलैनी बजारमा ग्राहकको थेगिनसक्नु भीड हुन्छ । खासगरी महिला ग्राहकहरुले भरिने एकलैनी बजारको साँघुरो गल्ली पूरै हरियो देखिन्छ जहाँ हरेक पसलमा हरिया चुरापोते झुण्डिरहेका हुन्छन् । ग्राहकले मनपर्ने चुरापोते र रंगीबिरंगी मेहन्दी छानिरहेका हुन्छन् । पसलेलाई बिक्री गर्न भ्याइनभ्याई हुन्छ । ग्राहकहरु गल्लीभित्र प्रवेश गर्दै गर्दा चुरापोते पसलका साहुजीहरु ग्राहकलाई बोलाउँदै चिच्याइरहेका हुन्छन् ।

पन्ध्र वर्षकी किशोरीदेखि वृद्ध महिलाहरु हरिया चुरा, पोते र रंगीबिरंगी मेहन्दी किन्नकै लागि यहाँ आउँछन् । त्यसो त नेपालगञ्जका अन्य बजार र गल्लीहरुमा हरिया चुरापोते र रंगीबिरंगी मेहन्दी नपाइने भन्ने होइन । तर, ग्राहकलाई एकलैनीकै सामानमा विश्वास छ । सबैको रोजाइमा एकलैनी नै पर्ने गर्छ । अझ यहाँ खाद्यान्नका पसल पनि उत्तिकै छन् । यसैकारण एकलैनीलाई गृहिणीको बजार पनि भनिन्छ ।

“यही बजारमा कस्मेटिक सामानको किनबेच धेरै हुन्छ, साउन महीना लागेपछि चुरापोते र मेहन्दीको व्यापार निकै बढेको छ,” दुई दशकदेखि एकलैनीमा पसल चलाइरहेका आशीष निगमले भन्नुभयो । साउन महीना शुरु भएसँगै किनमेलका लागि भीड लाग्ने भएकाले अहिले व्यापारीलाई फुर्सद छैन । एकलैनीमा सबैभन्दा बढी सौन्दर्य प्रशाधनकै पसल छन् । दोस्रो स्थान खाद्यान्न पसलले ओगटेका छन् ।

सौन्दर्य प्रशाधनका पसल सञ्चालक अनु सिद्दिकीले भन्नुभयो – “सस्तोमा दिने प्रतिस्पर्धाले नै एकलैनी बजार चलिरहेको छ । साउन महीना लागेपछि महिला दिदीबहिनीहरु किनमेलका लागि धेरै आउनुहुन्छ । हाम्रा लागि पनि यो त सिजनै हो ।” बजार बढ्दै गएपछि पसल पनि उत्तिकै बढेका छन् । एकलैनी बजारमा अहिले २०० भन्दा बढी पसल सञ्चालनमा रहेका छन् ।

यहाँ सस्तोमा पाइने चुरा र मेहन्दी मात्र होइन, रु १०० देखि रु दुई हजारभन्दा बढी मूल्यका जुत्ता–चप्पल पनि यहाँ पाइन्छन् । तर साउन लागेपछि जुता चप्पलभन्दा चुरापोते र मेहन्दीकै व्यापार चम्किएको बताउनुहुन्छ, ३० वर्षदेखि एकलैनीमा जुत्ता–चप्पलको पसल गर्दै आउनुभएका अजिज अहमद सिद्दिकी । “यहाँ पाउने सामान बाहिर किन्दा महङ्गो पर्छ, त्यही सामान यहाँ सस्तोमा पाउँछ,” सिद्दिकीले भन्नुभयो ।

साउनमा पनि दशैं, तीज एवं विवाहमा भन्दा राम्रो व्यापार हुुने गरेको एकलैनीका व्यापारी बलराम हेमकारले बताउनुभयो । साउनमा रातो, हरियो तथा पहेँलो रंग समिश्रण गरिएको पोते किन्न आउनेहरुको सङ्ख्या धेरै रहेको उहाँको भनाइ छ । “अहिले चुरापोते किन्न आउनेहरुको भीड निकै धेरै छ,” हेमकारले भन्नुभयो – “हरिया चुराका साथमा पहेँलो, रातो, रानी तथा सुन्तला रंगका चुराहरू पनि त्यत्तिकै बिक्री हुने गरेका छन् ।”

बिहेबारीको लगनका बेलामा समेत सामान्य रहेको चुरा र मेहन्दीको व्यापार यतिखेर अत्यधिक बढेको छ । साउन महिनामा हरियो चुरा र मेहन्दी लगाउने चलन बढ्दै गएपछि यसको व्यापार फस्टाएको हो । साउन महिनामा प्रायः सबै विवाहित महिलाले हातभरि हरियो वा पहेँलो चुरा र मेहन्दी लगाउने चलन बढ्दै गएको छ ।

साउन महिना शुरु भएसँगै हरियो चुरापोते र मेहन्दीको माहोलले महिलाहरुलाई छोपिसकेको छ । यतिबेला बजारमा हरियो चुरापोते र मेहन्दी लगाउने महिलाहरुको चाप श्रृंगार पसलहरुदेखि सडक पेटीमासमेत देख्न सकिन्छ । अरु समयमा नलगाए पनि साउन महीनामा महिलाहरुले विशेष रुचिका साथ हरियो चुरापोते र मेहन्दी लगाउने गरेको एकलैनी बजारमा चुरापोते किन्दै गर्नुभएकी सुमित्रा रानाले बताउनुभयो ।

“साउन महीनामा सबैले हरियो चुरा र मेहन्दी लगाउने गर्छन्,” रानाले भन्नुभयो – “म पनि चुरापोते र मेहन्दी किन्नकै लागि बर्दियाको मैनापोखरबाट नेपालगञ्ज आएकी हुँ ।” यो लामो समयदेखि चल्दै आएको नेपालीहरुको संस्कृति भएको उहाँको भनाइ छ । त्यसो त कतिपय अविवाहित युवतीहरुले राम्रो र योग्य पति पाइन्छ भन्ने मान्यता र विश्वास राखेर हरियो चुरा र मेहन्दी लगाउने गरेका छन् ।

त्यसो त साउन महीनामा हरेक सोमबार भगवान् शिवको नाममा व्रत बस्दा अविवाहितले राम्रो श्रीमान् र विवाहित महिलाले आफ्नो श्रीमान्को लामो आयुको कामना गर्ने गर्छन् । साउन महीना महिलाहरुका लागि सौभाग्यको महीना भएकाले पनि विवाहित महिलाहरुले हरियो चुरापोते र मेहन्दी लगाउने गरेको बताउने नेपालगञ्ज–५ की अस्मिता थापाले भन्नुभयो – “साउनमा व्रत बसेर श्रीमान्को दीर्घायु हुन्छ भन्ने हाम्रो सामाजिक र धार्मिक मान्यता पनि हो ।”

कतिपय किशोरीले भने देखासिकी र रहरले साउन महीनामा हरियो चुरा र मेहन्दी लगाउने गरेको उहाँको भनाइ छ । चुरा सौभाग्यको निशानी हो भन्ने धारणा अधिकाँश महिलाको छ । तर, आजभोलि अविवाहित किशोरीहरुमा पनि साउन महिनामा हरियो र पहेँलो चुरा तथा हातमा मेहन्दी लगाउने चलन बढ्दै गएको छ । साउनमा चुरा र मेहन्दीको माग उच्च हुने नेपालगञ्जका चुरा व्यवसायीहरु बताउँछन् ।

साउनमा पहिले यस्तो तामझाम हँुदैनथ्यो, हिन्दु धर्मानुसार विवाहिताले मात्र चुरा लगाउँथे । पश्चिमा संस्कृतिको प्रभावमा नयाँ पुस्ता यसप्रति बढी आकर्षित भएका हुन् । “अहिले दैनिक सात÷आठ हजार रुपैयाँको चुरा बिक्री हुने गरेको छ,” व्यवसायी हेमकारले भन्नुभयो – “साउनमा सबैले हरियो चुरा र मेहन्दी खोज्ने हुनाले सबैभन्दा बढी यसकोे व्यापार यही बेला हुन्छ । दुई÷तीन वर्ष यतादेखि साउनमा हरियो चुरा र मेहन्दी लगाउने चलन ह्वात्तै बढेको छ ।”

बजारको प्रतिस्पर्धासँगै अहिले गुणस्तरीय, टिकाउ र साडीसँग मेल खाने रङका चुरा खोज्नेहरु धेरै आउन थालेको व्यवसायीहरु बताउँछन् । बजारमा गुणस्तरसँगै मूल्यमा पनि प्रतिस्पर्धा हुने गरेको छ । एकलैनी बजारमा अहिले प्रतिसेट रु ३० देखि एक हजार मूल्यसम्मको चुराको व्यापार भइरहेको छ । हरियो चुराको सांस्कृतिक महत्व थाहा नभएकाहरुले समेत हरियो चुरा र मेहन्दी लगाइरहेका छन् ।

अरु समयमा हरियो चुरा र कपडाको महत्व नभए पनि साउन महीनामा भने नारीहरु प्रायः त्यही चिजमा झुम्मिएका हुन्छन् । कतिपय ग्राहकले वास्तुशास्त्र अनुसार चुराको रङ छनोट गर्ने गरेका छन् । रातोले शुभलाभ र ऋिद्धिसिद्धि, पहेँलोले ज्ञानबुद्धि र शिक्षा, नीलोले सु–स्वास्थ्य तथा हरियोले प्राकृतिक र बौद्धिक उन्नतिको प्रतिनिधित्व गर्ने भएकाले कतिपय ग्राहकले त्यही अनुरुप चुरा छनोट गर्ने गरेको चुरा व्यवसायीहरु बताउँछन् ।

एकलैनी बजारमा चुरा व्यवसाय गर्दै आएकी नसरुल सिद्दिकीले भन्नुभयो – “साउन महीना त चुरा व्यापारीलाई तिहारजस्तै हुन्छ, महिलाहरुको भीड नै लाग्छ । आज सामान ल्यायो भोलि सकिन्छ । दिनमा सयौं दर्जनभन्दा बढी चुरा बिक्री भइरहेको छ ।”

Advertisement