डेढ वर्षदेखि प्रम ओलीसँग रुष्ट बनेका वामदेव गौतमको यु–टर्न, स्वागत गर्न पुगे विमानस्थल

२०७६ साउन २७ सोमवार
Newsdesk Shikharnews

नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता वामदेव गौतम त्रिभुवन विमानस्थल पुग्दा सबै मुखामुख गरे । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वदेश फिर्ता हुनुभन्दा केही समय पहिले गौतम विमानस्थलको अति विशिष्ट कक्षमा पुगेका थिए । उनी ओलीलाई स्वागत गर्न पुगेको अनुमान भइसकेको थियो ।

नेकपा अध्यक्ष समेत रहेका ओलीलाई सोही दलका नेताले स्वागत गर्न एयरपोर्ट पुग्नु आश्चर्यको विषय थिएन । तर, ओलीसँग डेढ वर्षयता रुष्ट गौतम अचानक विमानस्थल पुगेर ओलीको स्वागत गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

गौतम नेकपाभित्रका महत्वपूर्ण खेलाडी मानिन्छन् । पछिल्लो समय अर्का अध्यक्ष प्रचण्डसँग नजिकिएका उनले पार्टीको संगठन विभाग देखि चुनाव लड्ने टिकटको समेत आशा राखेका छन् । त्यसका लागि ओली सरकारात्मक भएका छन् । गौतमलाई प्रचण्डको नजिकबाट तान्न ओलीले नयाँ रणनीति चालेका छन् । यसलाई सफल बनाइसकेको एयरपोर्टमा गौतम पुगेको घटनाले पुष्टि गर्न बल पुर्याएको छ ।

हक्की नेता गौतम हत्तपत्त कसैलाई स्वागत गर्न एयरपोर्ट पुग्दैनन् । त्यसमाथि उनी लामे समययता ओलीसँग टाढिएका छन् । विगतमा ओलीको विदेश भ्रमणहरुमा उनी बिदाई र स्वागत कार्यक्रममा पुगेका थिएनन् । यसपटक विमानस्थल पुगेपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलवाजीहरु भए ।

कास्कीमा रवीन्द्र अधिकारी चुनाव जितेको सिटमा गौतम चुनाव लड्न खोजिरहेका छन् । उनले इच्छा प्रकट गरेपछि ओली सकारात्मक देखिएका छन् । गौतमलाई केही अवसरहरु दिएर अर्को पक्षमा पल्लाभारी हुन नदिने रणनीतिमा ओली लागेका छन् । यसमा उनी सफल भएको अनुमान लगाउन थालिएको छ ।

यसैगरी, ओलीको स्वागतका लागि सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री इश्वर पोखरेल, मन्त्रीहरु, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेताहरु पुगेका थिए ।