विद्युत प्राधिकरणको फड्को

२०७६ भदौ १ आइतवार
Newsdesk Shikharnews

नेपाल विद्युत प्राधिकरणले आगामी तीन वर्षभित्र देशभर विद्युतको पहुच विस्तार गरिसक्ने जनाएको छ । अझै पनि २२ प्रतिशत जनसंख्या विद्युतको पहुच बाहिर रहेका बेला प्राधिकरणले तीन वर्षभित्र देशभर सेवा विस्तार गर्ने जनाएको हो ।

केहीवर्ष अघिसम्म मुख्य समस्याको रुपमा रहेको लोडसेडिङ अन्त्य गरेर विद्युत विकास र विस्तारमा प्राधिकरणले उल्लेख्य सफलता प्राप्त गरेको छ । विगतमा वर्षनी अर्वौको घाटा व्यहोरिरहेको प्राधिकरण पछिल्ला तीन वर्षयता लगातार नाफामा गएको छ । आइतबार ३४ औँ वार्षिकोत्सव मनाएको प्राधिकरणले आगामी वर्षमा सेवालाई अझै परिस्कृत र सहज बनाउँदै व्यवसायिक संस्थाका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ । वार्षिकोत्सव कार्यक्रममा उर्जा , जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले नाफा बढाउँदै प्राधिकरणलाई अब्बल संस्था बनाउने दृढता व्यक्त गरे ।

प्राधिकरणले विद्युत चुहावट दरलाई घटाउनु तथा लामो समयसम्म बन्न नसकेका ३८ आयोजना सम्पन्न गर्नुलाई ठुलो सफलताको रुपमा लिएको छ । आर्थिक वर्ष २०७२ ÷७३ सम्म २५ दशमलव ७८ प्रतिशत रहेको विद्युत चुहावट गत आर्थिक वर्षको अन्त्यसम्ममा १५ दशमलव ३२ प्रतिशतमा झरेको छ । अहिलेसम्म ७८ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगिसकेको र बाँकी स्थानमा सन् २०२३ सम्म सेवा विस्तार गरिसक्ने लक्ष्य प्राधिकरणले लिएको छ ।

पहिलो पटक गत आर्थिक वर्षमा सात अर्ब रुपैयाँभन्दा बढी मुनाफा गरेको प्राधिकरण चारवर्षअघिसम्म ३४ अर्वभन्दा बढी संचित नोक्सानीमा थियो । गत आर्थिक वर्षसम्म भने सञ्चित नोक्सानी घटेर १५ अर्व रुपैयाँमा झरेको छ । प्राधिकरणले आगामी दिनमा अन्तरदेशीय विद्युत व्यापार विस्तार, विद्युतीय चार्जिङ स्टेसन निर्माण, निर्माणाधिन आयोजनालाई समयमै सम्पन्न गर्ने कामलाई प्राथमिकतामा राखेको छ ।

हालराष्ट्रिय प्रशारण प्रणालीमा प्रतिघण्टा कुल ७ हजार ५ सय ५१ गिगावट विद्युत उपलव्ध छ । केही समय भित्रै अपर अरुण, दुधकोशी र तामाकोशी पाँचौ सञ्चालनमा ल्याइने तयारी रहेका विद्युत प्राधिकरणले जनाएको छ ।आर्थिक वर्ष २०७३/०७४ देखी प्राधिकरण लगातार मुनाफामा रहेको पनी प्राधिकरणले दावी गरेको छ । कुल विद्युतमध्ये २ हजार ६ सय १३ मेगावाट विद्युत निजी क्षेत्रबाट उत्पादन हुँदै र केहि समयपछि काठमाडौँ उपत्यकामा विजुलीको तारलाई भूमिगत गरिने समेत प्राधिकरणले जानकारी दिएको छ ।