दुई बैंक बाहेक अन्यको एटिएम सेवा सूचारु

२०७६ भदौ १५ आइतवार
Newsdesk Shikharnews

सर्भर डाउन भएका बैंकहरुको एटीएम सेवा सञ्चालनमा आएको छ । प्रभु बैंक र एनआईसी एशियाबाहेकका बैंकहरूको एटीएम सेवा सञ्चालनमा आएको हो ।

ह्याकरहरुले आक्रमण गर्ने खतरा बढेपछि एटीएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटीएम सेवा बन्द गरेको थियो । आइतबार बिहान भने प्रभु र एनआईसी एशियाबाहेकका बै‌ंकको एटीएम सेवा सञ्चालनमा आएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले पनि २ बाहेकका बैंकको एटीएम सेवा सञ्चालनमा आएको जनाएको छ । प्रभु बैंक र एनआईसी एशियाको सेवा पूर्ववत अवस्थामा आउन केही समय लाग्ने उसको भनाइ छ । ती दुई बैंकहरुको केही प्राविधिक कामहरु बाँकी भएकाले सर्भर अहिले पनि डाउन नै भएको नेपाल राष्ट्र बैंकले बताएको छ ।

एटीएम सेवा चले पनि अर्को बैंकको एटिएमबाट पैसा निकाल्न भने बन्द भएको बैंकहरुले बताएका छन् । ग्लोबल आईएमई बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले अन्य बैंकको रकम भने निकाल्न नमिल्ने बताए ।

धेरै समस्या समाधान भइसकेको भए पनि अझै केही समस्याहरु भने बाँकी रहेको बैंकर एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताएका छन् । बाँकी समस्या समाधान गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

एटीएममा कसरी समस्या आयो, अब के गर्ने भन्ने विषयमा २ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिइने उनले बताए । उनका अनुसार, महानगरीय प्रहरी परिसरमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकर एशोसिएसनका प्रतिनिधिहरु समेत बस्नेछन् ।

‘२ बजे प्रहरीले पत्रकार सम्मेलन राखेको छ, हामी पनि त्यहाँ हुनेछौं, विस्तृतमा जानकारी त्यहाँ आइहाल्छ’ अध्यक्ष ढुंगानाले भने ।