पर्यटनमन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ

२०७६ भदौ २९ आइतवार
Newsdesk Shikharnews

नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको विमानभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई गालीगलौज गर्ने ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ‘पुल्चोकमा एउटा कार्यक्रमका क्रममा उनीमाथि आक्रमण हुनसक्ने’ भन्दै ललितपुर प्रहरीले आइतबार उनलाई नियन्त्रणमा लिएको हो।

शनिबार ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको प्लेनभित्र मन्त्री भट्टराईलाई दुर्व्यवहार गर्दै भिडियो खिचेको थियो। भिडियोमा संस्कृतिमन्त्री भएर संस्कार नै नभएको भन्दै युवाहरुले मन्त्रीलाई हप्कीदप्की गरेका थिए। तर मन्त्री भट्टराईले आफू प्लेन चढ्न ढिला भएकोप्रति सामाजिक सञ्जालमा क्षमायाचना गरेका थिए।

मन्त्री भट्टराई जहाज उड्ने साबिक समयभन्दा १५ मिनेट ढिलो गरी विमान चढेका थिए।ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईका अनुसार शाहीलाई असुरक्षाको अवस्था देखेपछि कार्यक्रमस्थलबाटै उनलाई नियन्त्रणमा लिइएको हो। उनलाई जावलाखेलमा राखिएको छ। विमानस्थल ढिला पुगेको प्रकरणमा मन्त्री भट्टराईले माफी मागिसकेका छन् ।