कृष्णबहादुरका अन्य काण्डहरु !

२०७६ असोज १६ बिहीवार
Newsdesk Shikharnews

कृष्णबहादुर महरा नेपाली राजनीतिमा एउटा जबरजस्त नाम थियो । संसदीय राजनीतिको अनुभव उनले पूर्व माओवादी पार्टीका कैयौ नेताहरुभन्दा अघि नै गरिसकेका थिए । भूमिगत राजनीतिमा पनि महरा निकै चर्चित र अध्यक्ष प्रचण्ड निकट थिए । प्रचण्डसँगै उनले प्रवासमा रहेर पार्टी सञ्चालनमा भूमिका निर्वाह गरेका थिए ।

अध्यक्ष प्रचण्डसँगको त्यही निकटताकै कारण महरा माओवादीबाट लाभको पदमा पुग्ने प्राय कुनै अवसरमा छुटेनन् । पछिल्लो पटक पनि उनी राज्यको पाँचौ वरियताको संघीय संसद प्रतिनिधि सभाको सभामुख पदमा प्रचण्ड निगाहकै कारण पुग्न सफल भए । पूर्वशिक्षक समेत रहेका महरा धेरैका गुरु हुन् ।

धेरैले आदर्शको रुपमा लिने उनै महरा यतिबेला गम्भिर आरोपका कारण अधोगतीको दिशामा पुगेका छन् । रोशनी शाहीमाथि गरिएको दुर्व्यवहारको पछिल्लो श्रृंखलाले उनलाई सर्वाधिक बदनाम त बनाएको छ नै, नेपाली राजनीतिक इतिहासमै पहिलोपटक यति उपल्लो ओहोदाको व्यक्ति पदबाटै राजीनामा दिनु पर्ने अवस्थामा पुगेका छन् ।

पछिल्लो आरोपले जति चर्चित र बदनाम बनेपनि महरा विवादमा परेको यो नै पहिलो घटना होइन । उनी विभिन्न किशिमका काण्डहरुमा पटक–पटक फसेका छन् र विवादमा आएका छन् । तर जति नै विवादिन र काण्डहरमा फसेपनि उनले यसलाई सहजतापूर्वक पार लगाएका थिए । तर यसपटक भने अरुबेला जस्तो भएन । पदबाटै राजीनामा दिनु परेका महराका अन्य काण्डहरु यस्ता छन् ।

टेपकाण्ड
टेपकाण्ड महरासँग जोडिएको विवादास्पद काण्ड हो । एक चिनियाँ व्यवसायीसँग ५० करोड रुपैयाँ मागेको अडियो टेप महराको आवाजमा बाहिरिदाँ त्यसले नेपाली राजनीतिलाई तरंगीत बनाएको थियो । २०६७ साल भदौ १८ गते सार्वजनिक भएको अडियोमा उनले प्रधानमन्त्री निर्वाचनका लागि ५० सांसद किन्नका लागि ५० करोड रुपैयाको आवश्यकता भएको बताएका छन् ।

उक्त रकमका लागि आफु सिंगापुर, हङकङ वा चीनकै छेन्दुमा आउन तयार भएको बताएका थिए । अडियो टेप बाहिरिएसँगै विवादित बनेका महराले उक्त वार्तालाई झुटो भएको बताएर पन्छिएका थिए । अहिलेसम्म पनि उक्त अडियो टेपको आधिकारिक परीक्षण भएको छैन ।

फ्रिक्वेन्सी प्रकरण
६२ ६३ सालको जनआन्दोलन सफल भएपछि बनेको नयाँ सरकारमा महरा सञ्चारमन्त्री बनेका थिए । उनी सञ्चारमन्त्री भएको समय नेपालमा सबैभन्दा बढि फ्रिक्वेन्सी वितरण भयो । उनले त्यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाई राजबहादुर सिंह र व्यवसायी अजेयराज सुमार्गीसँग मिलेर सस्तो मुल्यमा फ्रिक्वेन्सी वितरण गरेका थिए ।

अख्तियारको क्लीन चिट
२०७३ सालमा महरा अर्थमन्त्री बन्नु अघि अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार अनुसन्धान आयोगले उनलाई १३ पृष्ठको फाराम भराएर अनुसन्धान सुरु गरेको थियो । बयानका लागि टंगालस्थित अख्तियारको कार्यालयमा बयान दिन गएकै समय उनलाई उपप्रधान तथा अर्थमन्त्रीको चिट्ठा पर्यो । तर नेपाली राजनीतिका शालिन खेलाडी महराले तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमार्फत यो मुद्दालाई ‘सेफ–ल्याण्डिङ’ गराउन सफल भए । कार्कीकै निर्देशनमा सफाई पाएका उनले यसलाई दक्षिणी डिजाइनमा बुनिएको षडयन्त्र भन्दै आक्रोश पोखेका थिए ।

आफ्नो निर्वाचन क्षेत्रमा मात्रै ६६ करोडको आयोजना
अख्तियारबाट सफाई पाएर अर्थमन्त्री बनेपछि महरा विवादमा पर्ने क्रम रोकिएन । आफु अर्थमन्त्री भएकै समयमा रोल्पामा करोडौं रकमान्तर गरेको भन्दै अख्तियारले उनीमाथि छानवीन थालेको थियो । उनले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै ६६ करोड भन्दा बढि गैरबजेटरी रकमान्तर गरेपछि तत्कालिन कार्यवाहक अख्तियार आयुक्त दीप बस्न्यातले उनलाई अनुसन्धानको दायरमा ल्याउने बताएका थिए ।

लडाकुको रकम बेरुजु
शान्ति प्रकियाको पहिलो वर्ष महालेखा परीक्षकको कार्यालयले ४६ करोड १० लाख रुपैयाँ बेरुजु देखाएको थियो । जुन बेरुजु उक्त वर्ष भएको खर्चको ९२ प्रतिशत हो । शान्ति सम्झौता भएदेखि लडाकुको नाममा महराले बुझेको रकमको हिसाबकिताव अहिलेसम्म सार्वजनिक भएको छैन । पार्टीभित्र र बाहिर यो विषयमा लगातार कुरा उठेपछि महरा विवादित बनेका थिए ।

जनसेनालाई हिरासतमा यातना
शसस्त्र द्वन्दको समयमा सुराकीको आरोप लागेका तत्कालिन क्षेत्रीय ब्यूरो सदस्य देवेन्द्र पराजुली पार्टीको हिरासतमा थिए । पराजुलीसँगै उनकी पत्नी तथा तत्कालिन माओवादी उपव्यूरो सदस्य कमला धमलालाई १४ महिना हिरासतमा राखेर यातना दिइएको थियो । तर आरोप पुष्टि हुन नसकेपछि पराजुली र धमला हिरासत मुक्त भएका थिए । त्यतिबेला पराजुलीले महराको यो काण्डको पर्दाफास गरेका थिए ।

चुडामणि शर्मासँगको निकटता
आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मासँगको उठबस पनि महरालाई विवादित बनाउने काण्ड हो । २०७४ सालमा अख्तियारले पक्राउ गरेको थियो । शर्मा पक्राउ पर्नुअघि महराले उनलाई निमित्त सचिव बनाउन लविङ गरिरहेका थिए । कर फस्र्यौटको नाममा अरबौ लुट मच्चाएका सह–सचिव शर्मासँग अर्थमन्त्री हुँदा महराको विशेष हिमचिम रहेको अर्थमन्त्रालयका कर्मचारीले बताउँदै आएका थिए ।

र, रोशनी प्रकरण
माथिका सबै काण्डहरुमध्ये महरालाई सिध्याउने काण्ड बन्यो रोशनी प्रकराण । यसअघिका अन्य काण्डहरुमा राजनीतिक शक्ति तथा उच्च नेताहरुको निगाहका कारण जोगिदै आएका महरा यसपटक भने जोगिन सकिएनन् । उनलाई आरोप लगाउने रोशनी शाहीले यो विषयमा यु–टर्न लिई सकेकी छिन् । तर अब महराले सफाइका लागि जतिसुकै प्रमाण पेश गरेपनि र शाहीले जति नै स्पष्टिकरण दिएपनि आम जनमानस महरा र शाहीको प्रष्टोक्तिको पक्षमा आउन भने असम्भव जस्तै छ । महिलामाथिको दुर्व्यवहारका कारण भएका कैयौ धार्मिक तथा ऐतिहासिक घटनाक्रम र त्यसले पुर्याएको विनासजस्तै नेपाली राजनीतिमा ‘जबरजस्त’ बन्दै आएका कृष्णबहादुर महराको राजनीतिक करियर पनि लगभग समाप्तिको दिशामा उन्मुख भएको छ ।