सभामुख बनाउन नेम्वाङको ओलीलाई आग्रह

२०७६ असोज १६ बिहीवार
Newsdesk Shikharnews

कृष्णबहादुर महरा जबरजस्ती करणीमा फसेपछि संघीय संसदको सभामुख पद रिक्त छ । उक्त पदको लागि आकांक्षीहरुले आफ्नो राजनीतिक सक्रियता बढाएका छन् । संविधानमै सभामुख र उपसभामुख फरक–फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था गरेकोले अब सभामुख को बन्छ ? भन्नेबारे बहस सुरु भएको छ ।

स्रोतकाअनुसार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले रुचि देखाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै आफ्नो रुचिबारे जानकारी गराएका छन् । ओलीले पनि नेम्वाङलाई नै उक्त भूमिकामा उतार्न खोजेको बालुवाटार स्रोतको दाबी छ ।

पछिल्लो समय सदनको प्रभावकारितालाई लिएर प्रश्न उठेपछि ओली पनि निवर्तमान सभामुख महराप्रति रुष्ट बनेका थिए । महराको यौन काण्ड त ओलीको लागि ‘कुचोले बढानुपर्ने कसिंगर हावाले उडायो’ भनेझैं भयो । नेम्वाङ सभामुख भए सदनको प्रभावकारिता बढ्ने र सरकारका बारेमा पनि जनस्तरमा आलोचना नहुने ओलीको विश्वास छ । नेम्वाङ ओलीले रुचाएका नेतामध्येमा पर्छन् ।

उता, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेम्वाङलाई नै रुचाएको बुझिएको छ । हुन त नेकपाभित्र पूर्व माओवादी केन्द्रबाट अग्नि सापकोटा र ओनसरी घर्तीले रुचि देखाएका छन् । नेकपाबाट अहिले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे छिन् । यदि नेकपाले सभामुखमा दाबी गर्ने हो भने उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ ।

अध्यक्षद्वय ओली र प्रचण्ड दुवैले नेम्वाङलाई रुचाएकोले अब सभामुखमा उनले नै बाजी मार्ने अड्कलबाजी पनि सुरु भएको छ । नेम्वाङ संसदीय मामिलाका जानकारी हुन् । उनले संविधान सभाको दुइ कार्यकाल अध्यक्षको जिम्मेवारी कुशलताका साथ निर्वाह गरिसकेका छन् ।