चिनियाँ राष्ट्रपति सीको भ्रमण: नेपाललाई ’भूपरिवेष्‍टितबाट भू-जडित देश’ बन्न सहयोग गर्ने

२०७६ असोज २६ आइतवार
Newsdesk Shikharnews

काठमाडौं। नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चीनका राष्ट्रपति सी जिन्पिङले नेपाललाई “भूपरिवेष्‍टित देशबाट भू(जडित देश“ बन्न सघाउने बताएका छन्। शनिवार साँझ काठमाण्डूमा उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजअघि सम्बोधन गर्दै सीले यस्तो धारणा राखेका हुन्।

उनले भने, “हामी चीन(नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौँ। अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाइ त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौँ। केरुङदेखि काठमाण्डूसम्मको सुरुङ मार्गको परियोजनालाई अगाडि बढाउन हामी सक्रिय हुनेछौँ।“

“बढीभन्दा बढी नाकाहरू खोली हिमाल वारपार बहुआयामिक सञ्जालको निर्माण गर्नेछौँ र नेपालको भूपरिवेष्टित देशबाट भू(जडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौँ।“

उनले नेपाल र चीनबीच कुनै समस्या नभएको र मित्रता मात्र कायम रहेको बताए। नेपालसँग मिलेर आफूहरूले “मैत्रीपूर्ण रणनीतिक साझेदारी“ स्थापना गर्ने निर्णय गरेको सीले जानकारी दिए।

उनले भने, “वर्तमान अवस्थामा आत्मरक्षावाद, एकलवाद र प्रभुत्ववाद धेरै व्याप्त छ, हामीले बहुलवाद र आर्थिक भूमण्डलीकरणलाई समर्थन गर्नुपर्छ। जलवायु परिवर्तनप्रति नेपाली पक्षको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ। जलवायु परिवर्तन सम्बन्धी वार्ताहरूमा नेपाली पक्षको उपयुक्त मागलाई हामी पनि समर्थन गर्दछौँ।“

“नेपाली पक्षका साथ हामी जलवायु परिवर्तनको सम्बोधन प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाइ हाम्रो साझा गृहस्थल पृथ्वी विशेषगरि सगरमाथा हिमालय क्षेत्रको रक्षा गर्न सदा तत्पर रहनेछौँ।“

यसपटकको भ्रमणमा नेपाल र चीनको साझा खाका बनाउन सकेको भन्दै उनले प्रसन्नता व्यक्त गरे। उनले संयुक्त प्रयासबाट नेपाल र चीनले द्विपक्षीय भविष्य तय गर्न आह्वान गरे। त्यसअघि बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र चीनको सम्बन्ध “सागरजस्तै गहिरो र सगरमाथा जस्तै उच्च रहेको“ बताएकी थिइन्।

उनले भूपरिवेष्टित नेपाललाई जोडिन चीनले महत्त्वपूर्ण भूमिका खेल्नसक्ने भएकाले सहयोग गर्न आह्वान गरिन्। उनले लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउने प्रयासमा चीनको सहयोग आवश्यक रहेको बताइन्।

भण्डारीले भनिन्, “लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउने हाम्रो प्रयासमा मित्रराष्ट्र चीनको महत्त्वपूर्ण सहयोगको अपेक्षा गरेका छौँ।“ भण्डारीले नेपालले एक चीन नीति अपनाउँदै आएको दोहोर्‍याइन्।

उनले नेपाली जनताले केरुङदेखि काठमाण्डू हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताइन्। उनले भनिन्, “रेलवेको क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोत र साधनको परिप्रेक्ष्य नेपालीहरूको यो चाहना छिट्टै पूरा हुनेछ भन्ने हाम्रो विश्वास छ।“

रात्रिभोजअघि शनिवार साँझ राष्ट्रपति भवन शीतल निवासमा सी र भण्डारीबीच द्विपक्षीय भेटवार्ता भएको थियो। राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले “दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध पक्षमा छलफल“ भएको जनाएका छन्।

उनले जारी गरेको एक वक्तव्यमा “दुवै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा समेत विस्तृत कुराकानी भएको“ उल्लेख छ।

उक्त भेटवार्तामा नेपालका मन्त्रीहरू तथा चीन र नेपालका उच्च अधिकारीहरू पनि सहभागी रहेको उनले जनाएका छन्। नेपालमा २३ वर्षपछि चीनका राष्ट्रपतिको भ्रमण भएको हो।

यसअघि सन् सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको दुईदिने भ्रमण गरेका थिए। सी भारतको दुईदिने अनौपचारिक भ्रमण सकेर शनिवार नेपाल आइपुगेका हुन्।

उनलाई काठमाण्डूस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए।

नेपालमा बहुप्रतिक्षित चिनियाँ राष्ट्रपतिको यो भ्रमणलाई सरकारको निकै ठूलो उपलब्धिका रूपमा अर्थ्याइएको छ। अधिकारीहरूका अनुसार सीको राष्ट्रपति भण्डारीसँग भएको भेटवार्तामा दुईपक्षीय हितका विषयमा छलफल भएको छ।

राष्ट्रपति सीले आइतवार बिहान पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने बताइएको छ। आइतवारै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच वार्ता र सम्झौताहरू हुनेछन्। त्यसपछि उनी नेपालको भ्रमण टुङ्ग्याएर स्वदेश फर्कनेछन्।