New from Nepal

उपनिर्वाचन कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता कात्तिक २१ गते

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहमा रिक्त जनप्रतिनिधि चयनका लागि हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त जनप्रतिनिधि चयन गर्न हुने उपनिर्वाचनका लागि आयोगले कात्तिक २१ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका तयार पारेको छ । आयोगले निर्धारण गरेको निर्वाचन तालिकाअनुसार कात्तिक २१ गते अपराहृन उम्मेदवारको सूची सार्वजनिक गरिने, २२ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने, २३ गते बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने र दिउँसो ३ बजेदेखि अपराहृन ५ बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

त्यस्तै, २४ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, सोही दिन दिउँसो ३ बजेदेखि अपराहृन ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । कात्तिक २५ गते उम्मेदवारलाई निर्वाचन चिहृन प्रदान गरिने र मंसिर १४ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यतालिका छ ।

प्रतिनिधिसभातर्फ कास्की निर्वाचन क्षेत्र नम्बर २ तथा प्रदेशसभातर्फ भक्तपुर–१ (क), बाग्लुङ–२ (ख) र दाङ–३ (ख) मा उपनिर्वाचन हुँदैछ ।

आयोगले स्थानीय तहतर्फ भने उम्मेदवारी मनोनयन दर्ताका लागि कात्तिक २७ गतेको समय निर्धारण गरेको छ । आयोगले सोही दिन मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, २८ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २९ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, सोही दिन मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मंसिर १ गते उम्मेदवारलाई निर्वाचन चिहृन प्रदान गर्ने जनाएको छ ।

स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको फाल्गुनन्द गाउँपालिका, संखुवासभाको मकालु गाउँपालिका र महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि उपचिर्वाचन हुनेछ ।

यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष र विभिन्न ३४ जिल्लाका ४० वटा स्थानीय तहका विभिन्न वडामा वडा अध्यक्ष गरी स्थानीय तहका रिक्त ४८ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुनेछ । आयोगका प्रवक्ता एवं सहसचिव राजकुमार श्रेष्ठले स्वीकृत निर्वाचन कार्यक्रम नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइसकिएको जनाएका छन् ।

निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरे पनि दलहरूले उम्मेदवारी टुंगो लगाएका छैनन् । सत्तारुढ दल नेकपाले कात्तिक १५ गतेसम्ममा उम्मेदवार सिफारिस गर्न पार्टी निकायलाई निर्देशन दिएको छ । विपक्षी दल नेपाली कांग्रेसले आगामी ७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । अन्य साना दलहरूले पनि उम्मेदवार तोकेका छैनन् ।

कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभाका लागि हुने उपनिर्वाचनमा दलहरूको चासो बढी छ । गत फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारकारीको निधन भएकोले उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनलाई सत्तारुढ नेकपाको लोकप्रियता जाँचको कसीका रूपमा पनि हेर्न थालिएको छ । दुई तिहाइ बहुमतको सरकार भएर पनि जनअपेक्षा र आफ्नै प्रतिबद्धताअनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि बढ्न थालेको मानिएकोले सत्तारुढ दलको लोकप्रियताको कसीका रूपमा उपनिर्वाचनलाई लिइएको हो । भ्रष्टाचार बढेको, राज्यका अंगहरूलाई राजनीतीकरण गरेको, नागरिकको ढाड सेक्नेगरी कर बढाएको, नागरिकको स्वतन्त्रता संकुचित बनाउँदै लगेको लगायतका आरोप सत्तापक्षमाथि लाग्दै आएको छ ।

कास्कीमा हुने उपनिर्वाचनलाई सत्तापक्ष नेकपा र मुख्य विपक्षी नेपाली कांग्रेसले आआफ्नो लोकप्रियता देखाउने अवसरका रूपमा उपयोग गर्नेछन् । दुवै दलले उम्मेवार भने तोकेका छैनन् ।

स्थानीय तहमा पनि असन्तुष्टिको स्वर चर्को हुँदै गएको छ । खासगरी करवृद्धि गरेको, सरकारी सेवामा ढिलासुस्ती भएको र भ्रष्टाचार बढेको भन्दै असन्तुष्टि प्रकट हुँदै आएको छ । सत्तापक्ष नेकपा सरकारका काम र भविष्यको आशा देखाएर विजयी हुने रणनीतिमा छ भने विपक्षी कांग्रेस सरकारका दोष देखाएर सिट खोस्ने रणनीतिमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *