सोह्रा हिटी (तिनधारा) ढुङ्गेधारा पुनः ब्युँतदै

२०७६ कात्तिक १९ मंगलवार
Newsdesk Shikharnews

गणेश शाक्य
हाम्रो सम्पदा हाम्रो पहिचान अर्थात नेपालको मौलिक एवं ऐतिहासिक सम्पदाहरु विश्वमा नेपाललाई चिनाउने एउटा सशक्त माध्यमको रुपमा रहिआएको सत्य कसैवाट पनि लुकिएको छैन । नेपालमा अझ विशेषगरि काठमाण्डौं उपत्यका शहरमा विश्वलाई गौरवकासाथ चिनाउन सक्ने अनि विश्वभरिका मानिसहरुलाई आकर्षण गर्न सकिने हजारौं हजार सम्पदाहरु यत्रतत्र छन । सातवटा त विश्व सम्पदामै सुसूचित रहेका छन । सांच्चै भन्ने हो भने सिङ्गो काठमाण्डौ शहरलाईनै सम्पदाहरुको खुला संग्रालय भन्दा केहि फरक नपर्ला । तर यति हुदाहुदै पनि हाम्रा पुर्खाले वनाई छाडिगएका अलौकिक सम्पदाहरुको संरक्षणको अभावमा धेरै धेरै सम्पदाहरु नासिसकेको अवस्था छ । कुनै जिर्ण भएर कुनै चोरी भएर त कुनै सडक विस्तारको नाममा हराएका छन, मासिएका छन । हुदाहुदै अव त विश्व सम्पदा सूचीवाट समेत हट्ने पो हो की भन्ने शंका उत्पन्न भएको छ ।

हुन त सम्पदा संरक्षणकै लागि भनि देशमा संस्कृति मन्त्रालय, पुरातत्व विभाग, गुठी संस्थान जस्ता निकायहरु नभएका पनि हैनन् तर पनि सम्पदाको उचित व्यवस्थापन हुन नसक्नु बिडम्वनानै हो । सम्पदा संरक्षणकै कुरा गर्दैगर्दा स्थानिय वासिन्दाको सम्पदा संरक्षण प्रति कति चासो रहेको छ भन्ने वारे पनि सोच्नु आवश्यक छ । सम्पदा संरक्षणमा स्थानियको सवैभन्दा ठुलो जिम्मेवारी रहन्छ । फलानोले गर्ला धिस्कानोले गर्ला भनि स्थानिय चुप बस्ने हो भने सम्पदाको स्थिति अहिले भन्दा पनि तिब्र रुपमा विनाश हुने वाहेक सुध्रनेवाला छेन । सम्वनिधत निकायहरुलाई बेलैमा सम्पदाको अवस्थावारे सुसूचित गर्ने, घचघचाउने, आवश्यकता अनुसार खबरदारी गर्ने काम भनेकै स्थानियको हो ।

यसरी दुर्लभ सम्पदाहरुको संरक्षणकै सन्दर्भमा हालै आएर सोह्रा हिटी अर्थात (तीनधारा) ढुङ्गेधारा चर्चित विषयको रुपमा आईरहेको छ । यो तीनवटा ढुङ्गेधारा काठमाण्डौं महानगरपालिका वडा नं.१ दरवार मार्ग स्थित महेन्द्र सालिकसंगै रहेको छ । यसको अहिलेको स्वरुपवारे वर्णन गर्नुपदा नांउ मात्रको ढुङ्गेधारा रहेको छ । पानी आउनेको त कुरै नगरों तीनधारा मध्ये एउटा पनि सद्धे छैन । कतिलाई त्यस ठांउमा धारा छ भन्नेनै थाहा छैन भने स्थानियले पनि कहिल्यै वास्ता राखिएको पाइएन । यो ढुङ्गेधारा रानीपोखरीको चार कुनाहरुमा बनाइएका चार ढुङ्गेधाराहरु मध्ये एक हुन भन्ने पनि सुन्नमा आएको छ । पुरातत्व विभागमा रहेको २०३९ सालको काठमाण्डौं नगरको इन्भेन्ट्रीमा उल्लेख भए अनुसार यो धारा लक्ष्मीनारायण भन्ने व्यक्तिले करिव ७०० वर्ष अगाडी १४ औं शताब्दीमा निर्माण गरेको देखिन्छ ।

ढुङ्गेधारा परिसर पुरै डम्पिङ्ग साइतमा परिणत भईसकेको अवस्थामा थिए । परिसर भित्रै अतिक्रमण गरि टहरा पनि बनिसकेका थिए जुन भरखरै मात्र भत्काई सकेको छ । धन्य कतावाट सम्पदा अभियन्ता र सम्पदा पे्रमीहरुको नजरमा परेछ यो सम्पदा । सम्पदा अभियन्ता यादव लाल कायस्थको अगुवाईमा अहिले यो सम्पदा मर्मत सम्भार हुने कार्य भईरहेको छ ।

करिव ६ महिना अगाडी देखिनै यो सम्पदा मर्मत सम्भार गर्न गराउन पटक पटक पुरातत्व विभाग पटक पटक स्थानिय ओडा नं. १ कार्यालय धाउनु परेको थियो । लगातार प्रयास पछि ओडा नं. १ का अध्यक्ष्य भरतलाल श्रेष्ठ उक्त ढुङ्गेधारा मर्मत सम्भार गर्न राजी हुनु भएको छ । जे होस ओडा नं. १ का अध्यक्ष्य भरतलाल श्रेष्ठज्यूलाई धन्यवाद दिनै पर्छ । अहिले यो कार्य ओडा नं. १ कै बजेटमा भईरहेको छ । तर, फेरी पनि यो कार्य बिचैमा रोकिने पो हो की भन्ने डर पनि बाँकिनै छ । सम्पदा अभियन्ताहरु त लागि परेका छन नै, साथै महानगर पालिका र सम्वन्धित ओडा कार्यालय पनि निरन्तर अनुगमन कार्यमा लाग्नु नितान्त आवश्यक छ । कुनैपनि बहानामा काम अधुरो छाडी रोकिनु हुंदैन अब ।

यसरी ठाँउठाँउमा छोपिएका ओझेलमा परिरहेका हाम्रा सम्पदाहरु खोजी खोजी उचित संरक्षण गर्नु आजको माग हो । यस्ता असाधारण, सारा संसारलाई शानकासाथ देखाउन सक्ने सम्पदाहरु जगेर्ना गर्नु राज्यको परम कर्तव्य हो ।