काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारत सरकारविरुद्ध चर्को नाराबाजी गरेको छ।नेपाली भूमि भारतीय नक्सामा समावेश गरेपछि आक्रोशित अनेरास्ववियूले शुक्रबार लैनचौरस्थित भारतीय दुतावास अगाडि पुगेर भारत सरकारविरुद्ध चर्का नाराबाजी गरेको हो। अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको नेपाली भूमि तत्काल फिर्ता नलिए भारत विरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए।
अनेरास्ववियूले भारतको हेपाहा प्रवृत्तिको डटेर मुकाविला गर्ने चेतावनी पनि दिएको छ। विरोध प्रर्दशनपछि आयोजित कोणमा सभामा बोल्दै अनेरास्ववियूका संयोजक ऐन महरले भारतीय थिचोमिचोको विरोधमा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका हुन्।
इतिहासमा कहिल्यै कसैको अतिक्रमण नसहेको नेपाल राष्ट्र, नेपाली जनता र युवा विद्यार्थीहरुले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने पनि संयोजक महरको भनाई छ।भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएको नक्सा सार्वजनिक भएपछि नेपालमा त्यसको चौतर्फी विरोध हुँदै आएको छ।
यसैबीच, नेपालको सीमा रक्षाको वकालत गर्दै आएको ग्रेटर नेपालले पनि भारतीय नक्सामा समावेश गरिएको नेपाली भूमि तत्काल हटाउन भारतसँग माग गर्दै लैनचौरस्थित भारतीय दुतावास अगाडि विरोध प्रर्दशन गरेको छ।दूतावास अगाडि नै विरोध प्रदर्शनका क्रममा भारतीले जारी गरेको उक्त नक्सा समेत जलाइएको थियो।
Leave a Reply