कास्की-२ मा कस्को पल्ला भारी?

२०७६ मंसिर १ आइतवार
Newsdesk Shikharnews

काठमाडौं। कास्की–२ मा चुनावी माहोल तात्दै गएको छ। प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन मिति दुई साता बाँकी रहँदा सबै दलका उम्मेदवार मतदाताको घरदैलोमा पुगेका छन्। मतदान मंसिर १४ गते हुँदै छ। चुनावी प्रतिस्पर्धामा नेकपा, कांग्रेसलगायत २१ उम्मेदवार छन्।

तीमध्ये १० स्वतन्त्र उम्मेदवार छन्। उम्मेदवार मतदाताका घरदैलोमा पुगेर र चोकचोकमा कोणसभा गरेर मत मागिरहेका छन्। तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

भोट माग्ने क्रममा विपक्षी उम्मेदवारले दुई तिहाईको सरकारले जनअपेक्षाअनुसार काम नगरेको, भ्रष्टाचार बढेको, सुशासन नभएको लगायतका आरोप लगाएका छन्। सत्तारूढ पार्टीका उम्मेदवार र नेताहरूले भने संघीयताको पहिलोपटक अभ्यास गरिरहेकाले सरकारले कानुन निर्माण, विकास र समृद्धिका लागि दीर्घकालीन महŒवका काम अघि बढाइरहेको बताउँदै आएका छन्।

कांग्रेस उम्मेदवार खेमराज पौडेल सरकार जनताको मर्म र भावनाअनुसार अघि बढ्न नसकेकाले सरकारलाई सही बाटोमा हिँडाउन पनि जनताले आफूलाई मतदान गर्नेमा विश्वस्त छन्। पौडेलले सरकारले जनताको दैनिकीसँग सम्बन्धित ससाना समस्या पनि समाधान गर्न नसकेको, महँगी नियन्त्रण गर्न नसकेको, सुशासन दिन नसकेको, पानीजहाज, रेलजस्ता हावादारी सपना जनतालाई बाँडेर निराश बनाएको बताउँदै आएका छन्।

नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले विकास र समृद्धिको यात्रा अघि बढाउन आफू प्रतिस्पर्धामा उत्रिएको बताउँदै आएकी छन्। भट्टराईले नागरिकको जीवनस्तर उकास्ने गरी युवालाई स्वरोजगारका अवसर सिर्जना गर्ने, महिला सशक्तीकरणमा जोड दिँदै स्वदेशमै रोजगारका अवसर सिर्जना गर्ने गरी काम गर्ने बताएकी छन्। भट्टराईले रवीन्द्र अधिकारीले छाडेका विकास निर्माणका योजना पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।

समाजवादी पार्टीका धर्मराज गुरुङले भ्रष्टाचार निर्मूल पार्ने दाबी गरेका छन्। भ्रष्टाचार भएको रकम राज्यले लिएर विकास निर्माणमा लगाउनुपर्ने उनको भनाइ छ। साझा पार्टीका उम्मेदवार रजनी केसीले पर्यटन विकासबाटै पोखरामा रोजगारीका अवसर सिर्जना हुने भएकाले पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएकी छन्।

उपनिर्वाचनका साना पार्टी र स्वतन्त्र उम्मेदवार पनि विकास निर्माणका योजना र नीति लिएर जनताको घरदैलो, चोक र गाउँबस्तीमा पुगेका छन्। कास्की क्षेत्र नम्बर–२ अन्तर्गत पोखरा महानगरपालिकाका ११ वटा वडा छन्।