New from Nepal

ओली पाँच वर्ष नै प्रधानमन्त्री, दाहाल कार्यकारी अध्यक्ष

काठमाडौं ।  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच कार्यविभाजन भएको छ । जसअनुसार अध्यक्ष ओली पाँच वर्षकै लागि प्रधानमन्त्री हुनेछन् भने अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा कार्यकारी अध्यक्षका रूपमा काम गर्नेछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालय बैठकले अध्यक्षद्वयको कार्यविभाजन गर्दै महŒवपूर्ण जिम्मेवारी प्रदान गरेको हो । यस कार्यविभाजनसँगै पार्टी एकीकरणका बेला ओली र दाहालबीच सरकारको नेतृत्व आलोपालो गर्नेगरी भएको सहमतिको औचित्य सकिएको छ । पार्टी सञ्चालनको कार्यकारी अधिकार दाहालले पाएका छन् भने हालको प्रतिनिधिसभा कायम रहुन्जेल सरकारको नेतृत्व ओलीले नै गर्ने निश्चित भएको छ ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सरकार र अर्का अध्यक्ष दाहालले पार्टी सञ्चालन गर्ने बताए । ‘अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुनुहुनेछ,’ श्रेष्ठले सचिवालयको निर्णय सुनाउँदै भने, ‘बैठक संयुक्त अध्यक्षतामा सञ्चालन हुनेछ तर आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्नुहुनेछ ।’

बैठकमा दुवै अध्यक्षको वरीयताक्रम यथावत् नै रहने निर्णय भएको छ । प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए । पार्टी र सरकार सञ्चालन अध्यक्षद्वयबीचको आपसी सल्लाहमा गर्ने बताउँदै उनले पार्टी सञ्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने उनले बताए ।  तत्कालीन एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा पार्टी एकीकरण भएको थियो । पार्टी एकीकरणयता दुवै अध्यक्ष सहभागी बैठकको अध्यक्षता ओलीले गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *