कार्यकारी अध्यक्ष बनेपछि प्रचण्ड किन माधव नेपाल फकाउने प्रयासमा ?

२०७६ मंसिर १३ शुक्रवार
Newsdesk Shikharnews

नेकपाको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्ड एकाएक माधव नेपाल फकाउने अभियानमा लागेका छन् । माधव नेपालसँग तीन दशक लामो संगत रहेको दावी गर्दै प्रचण्डले निकै लामो प्रशंसा गरेका छन् । २०७६ मंसिर ८ गते प्रचण्डले कान्तिपुर दैनिकको अन्तर्वार्तामा नेता नेपालसँगको संगतबारेमा गरेको व्याख्या पढ्दा निकै आश्चर्य पनि लाग्छ ।

२०७६ कात्तिक तेस्रो हप्ता प्रदेश प्रमुखको नियुक्तिसम्बन्धमा बसेको नेकपाको सचिवालय वैठकमा प्रचण्डले माधव नेपाललाई साथ दिएनन् । अघिल्लो दिनसम्म अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग सम्बन्ध चिसो देखिने गरी अप्रत्यक्ष छेडखानी गरेका प्रचण्डले पदीय भागवण्डामा भने नेता नेपाललाई पाखा लगाउने गरी सहमति गरेको आरोप नेपाल पक्षको रहेको छ । प्रदेश प्रमुखमा तीनवटा सीट पाएपछि फुरुङ्ग भएका प्रचण्डले नेता नेपालको पक्षमा एक शब्द पनि बोलेनन् ।

प्रदेश प्रमुखको नियुक्तिको विषयमा नेता नेपालले ‘नोट अफ डिसेन्ट’ लेखे । त्योभन्दा पहिला पनि पटकपटक नेता नेपालको प्रस्तावमा असहयोग गर्दथे । तर, हिजो २०७६ मंसिर ८ गते आइतवार प्रकाशित अन्तर्वार्तामा प्रचण्डले माधव नेपालबारे भनेका छन्–‘२०४०÷४१ सालदेखिको घनिभूत छलफल हुँदै आएको छ । माधवजी तपाईको यहा“ मिलेन भनेर मैले फ्याट्ट भन्न पनि सक्छु उहाँ पनि भन्न सक्नुहुन्छ ।’ प्रचण्डले यसो भन्नुको अर्थ लामो र आत्मीय सम्बन्धको अर्थ दर्शाउने प्रयास हो । कार्यकारी अधिकार पाएपछि प्रचण्डले एक्कासी प्रशंसासहितको लामो व्याख्याले प्रचण्डको रणनीतिबारे नेकपामा चर्चा हुन थालेको छ ।

पहिलो कुरा माधव नेपाललाई फकाउन खोजेको अर्थमा बुझिएको छ । अध्यक्षद्वयको एकलौटी निर्णयबाट आजित नेता नेपाल निरन्तर पार्टी पद्धतिको कुरा उठाइरहेका हुन्छन् । त्यसबाहेक नेता नेपालनिकट नेताहरु भीम रावल, रघुजी पन्तलगायतका दर्जनौ नेताहरु दुई अध्यक्षको गतिविधि र सचिवालयमात्रै सक्रिय बनाएको स्थायी समिति र केन्द्रीय समितिको बैठक नबोलाइको प्रति आक्रोशित छन् । प्रचण्डलाई खतरा भनेको त्यही माधव नेपाल समूहको अवरोधको मानिएको छ ।

अध्यक्ष केपी ओली लाइनले तत्काल प्रचण्डका विरोध गर्ने अवस्था छैन । त्यसकारणले माधव नेपाललाई फकाउने प्रचण्डको ‘काइदा’का रुपमा पनि व्याख्या गरिएको छ । अर्को चाहि दोस्रो चरणमा प्रधानमन्त्रीलाई असफल बनाउन भारतीय योजनामा प्रचण्ड गोटी बनेको चर्चा पनि सुरु भएको छ । अर्थात पहिलो चरणमा मन्त्रीहरु असफल भएको सन्देश दिईयो । अब दोस्रो चरणमा प्रधानमन्त्री केपी ओलीमाथि समेत प्रश्न उठाउने प्रयास हुने चर्चा सुरु भएको छ । पहिला मन्त्री असफल बनाउने कि प्रधानमन्त्री बनाउने भन्ने भारतीय डिजाइनमा पहिला मन्त्रीहरु असफल बनाउने रणनीति हावी भएको विश्लेषण गरिएको छ ।

प्रधानमन्त्री मातहतको अनुसन्धान विभागले नै यस्तो विश्लेषण गरेको स्रोत बताउछ । हुन त, अहिलेको पुनर्गठनको क्रमा बाँकी रहेका मन्त्रीहरुलाई आऊँदो २०७६ माघ महिनामा फालिने चर्चा पनि सुरु भइसकेको छ । माघमा राष्ट्रिय सभाका एकतिहाई सदस्यको कार्यकाल सकिदैछ । त्यही सेरोफेरोमा मन्त्रीहरु हेरफेर हुने आंकलन गरिएको छ । त्यतिबेला अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिदैछ ।

नेकपाका केही नेताहरुलाई अहिले माघमा हुने पुनर्गठनमा मन्त्री बनाउने आश्वासन अध्यक्षद्वयले दिएको स्रोत बताऊँछ । त्यसैले केही नेताहरु माघपछि मन्त्री बन्न सकिने भन्दै आफूनिकटसँग भनिरहेका छन् । यसकारण प्रचण्ड नीतिले नेकपालाई कुन बाटोमा लैजान्छ भन्ने चाहिं प्रष्ट भइसकेको छैन । अहिलेको प्रचण्डको रणनीति अर्को पटकलाई सर्वसम्मत प्रधानमन्त्रीको दावेदार बन्ने प्रयास पनि देखिन्छ । त्यही रणनीति अनुसार अध्यक्ष ओली र नेपालको मझधारमा बसेर फाइदा लिने प्रयास प्रचण्डले गरिरहेको नेकपाका एक नेताले बताए । साँघुबाट

Advertisement