अञ्जली चन्दलाई सागले दिएको खुशी

२०७६ मंसिर २२ आइतवार
NewsDesk ShikharNews

कृष्ण दवाडी
कास्की। नेपालमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को महिला क्रिकेटमा सहभागी हुँदा नेपाली टोलीका सदस्य अञ्जली चन्दले ठूलो लक्ष्य राखेकी थिइनन्। चार वर्षपछि टोलीमा स्थान बनाएकाले खेलमा मेहनत गरेर राम्रो खेल पस्कने र विपक्षीको एकरदुई विकेट लिने मात्र उनको लक्ष्य थियो।

तर साग प्रतियोगिताले उनलाई विश्वस्तरमा चिनायो। माल्दिभ्सविरुद्धको खेलमा टी–२० अन्तर्रा्ष्ट्रिय महिला क्रिकेटको इतिहासमा विश्व कीर्तिमान बनाएपछि स्वदेश तथा विदेशमा समेत उनको चर्चा शिखरमा पुगेको छ। सुदुरपश्चिमको बैतडी दशरथचन्द नगरपालिकाका चन्दले माल्दिभ्सविरुद्धको लिग चरणको पहिलो खेलमा दुई दशमलव एक ओभर बलिङमा कुनै रन नदिई छ विकेट लिएपछि उनले विश्व कीर्तिमान कायम गरेकी हुन्।

त्यस्तै चन्दले शनिबार पोखरा रङ्गशालामा कास्य पदकका लागि माल्दिभ्सविरुद्ध नै भएको स्पर्धामा समेत उल्लेखनीय प्रदर्शन गर्न सफल भइन्। ‘प्लेयर अफ दी म्याच’ बन्न सफल उनले आफ्नो चार ओभरको बलिङमा जम्मा एक रन खर्चेर चार विकट लिएकी थिइन्। प्रतियोगितामा उनले ११ विकेट लिन सफल भइन्।

कीर्तिमानी चन्द आफूले प्राप्त गरेको सफलता अकल्पनीय रहेको बताउँछिन्। केही वर्षको अन्तरालपछि टोलीमा स्थान बनाएकाले पनि खेलमा ठूलो सपना नराखेको उनी बताउँछिन्। उनले भनिन्, “मलाई यति ठूलो सफलता मिल्छजस्तो लागेको थिएन। स्पर्धामा ह्याट्रिक गरेँजस्तो लागेको थियो, तर खेलपछि प्रशिक्षकले तिम्रो नाममा विश्व कीर्तिमानी भयो भनेपछि बल्ल थाहा पाएँ, त्यसपछि त मेरो खुशीको सीमानै रहेन।”

सन् २०१५ वैवाहिक जीवनमा बाँधिएपछि उनी क्रिकेटबाट केही वर्ष टाढा भइन्, तर क्रिकेटप्रतिको मायाले उनलाई छाडेन। घरपरिवारको साथ, सहयोग र हौसलाले गत असोजमा सम्पन्न ‘वुमन्स क्रिकेट लिग’ बाट उनी पुनः क्रिकेटमा फर्किइन्। त्यस प्रतियोगितामा समेत चन्दले राम्रो छाप छाड्न सफल भएकी थिइन्।

कक्षा ८ मा पढ्दादेखि नै उनले क्रिकेट खेल्न शुरु गरेकी थिइन् । खेलकूदमा बाल्यकालदेखिनै उनमा रुचि थियो। “गाउँमा दाइहरूले क्रिकेट खेलेको देखेको थिएँ। एक दिन दाईले केटीहरूको खेल छ, तिमी जान्छौँ भन्नुभयो म गएँ। त्यसपछि मलाई क्रिकेटप्रति रुचि बढ्न थाल्यो”, उनले शुरुआती दिनहरू स्मरण गरिन्।

सागमा समेत टोलीले स्वर्ण पदकको सपना देखेको थियो। घरेलु मैदानमा राम्रो क्रिकेट खेलेर स्वर्ण नै जित्ने लक्ष्य रहे पनि त्यो पूरा नभएकामा उनी दुःखी छिन्। सागमा नेपाल कास्य पदकमा सीमित भए पनि सन् २०२० मा हुने विश्वकप छनोटमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दै देशलाई खुशी दिने उनको सपना छ।

टेष्ट मान्यता प्राप्त राष्ट्रहरूसँग स्पर्धा गर्दा लक्ष्य पूरा नभएको बताउँदै उनले थनिन्, “टोलीमा गोल्ड ल्याउने नै सबैको सपना थियो। टेष्ट राष्ट्रसँग खेल्दा कठिन भयो। महिला क्रिकेटमा सरकारले जति सहयोग गर्दछ, त्यति नै राम्रो हुन्छ । देशका लागि सधैँ राम्रो गर्ने ध्यानमा हुनेछौँ।”

महिला क्रिकेटलाई राज्यले त्यति प्राथमिकता नदिएको उनको बुझाइ छ। खेलाडीलाई सेवासुविधा तथा महिला क्रिकेटका समेत घरेलु लिग सञ्चालन गर्न सकेको खण्डमा नयाँ र राम्रा खेलाडी उत्पादन भएर देशलाई फाइदा पुग्ने विश्वास उनको छ।

Advertisement