काठमाडौं। नेपाली कांग्रेसमा भागबण्डाको राजनीतिक उत्कर्षमा पुगेपछि केन्द्रीय कार्यसमितिको जारी बैठक स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले आफ्नो नियमित कार्यकाल सकिनै लाग्दा केन्द्रीय विभाग गठनमा चासो देखाएपछि असन्तुष्ट पक्षले भागबण्डा माग गर्दै केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार गर्दै आएको छ। सोमबार पनि असन्तुष्ट पक्षले बैठक बहिष्कार गर्ने संकेत देखिएपछि सभापति देउवाले दुई दिनका लागि बैठक स्थगित गरे।
असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको कार्यतालिकाको विषय बैठकमा ल्याउनुपर्ने माग गर्दै तत्काल विभाग गठनको औचित्य नरहेको तर्क गर्दै आएका छन् । सभापतिले विधानमा व्यवस्था गरिएभन्दा बढी संख्यामा विभागहरू गठन गर्न लागेको भन्दै सो समूहले आपत्ति जनाएको छ । यद्यपि, विभाग गठनमा आफूहरूलाई ‘सम्मानजक भागबण्डा’ मिलाएको खण्डमा भने पौडेल पक्ष विभागहरूको संख्या बढाएमा पनि सहमत हुने देखिएको हो ।
पौडेल समूहको बहिष्कारबीच बिहीबार बसेको केन्द्रीय समिति बैठकमा सभापति देउवाले केन्द्रीय विभाग बढाउने प्रस्ताव गरेका थिए । अहिलेका २८ वटा केन्द्रीय विभाग बढाएर ४१ वटा पु¥याउने देउवाको प्रस्ताव छ । महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र विभागहरू गठन भइसक्नुपर्ने प्रावधान रहे पनि चार वर्ष बित्न लाग्दासमेत एउटा पनि विभाग गठन भएको छैन ।
१३औं महाधिवेशनमा भागबण्डा अन्त्य गर्ने प्रतिज्ञाका साथ सभापति पदमा उम्मेदवारी दिएका पौडेलले पछिल्लो समय भागबण्डालाई नै प्राथमिकता दिँदै आएका छन् । पौडेलले विभागहरूमध्ये शक्तिशाली मानिने कुनै दुई विभाग आफूले पाउनुपर्ने अड्को थापेको संस्थापननिकट स्रोतको भनाइ छ । ‘संगठन, प्रचार, विदेश र जनसम्पर्क विभागमध्ये कुनै दुई विभागको नेतृत्व आफ्नो समूहले पाए जति सदस्यीय विभाग गठन भए पनि उहाँहरूको सहमति रहन्छ,’ संस्थापन पक्षीय एक नेताले भने, ‘आफूले चाहेको विभाग नपाए उहाँहरू अनेक बखेडा सिर्जना गर्नुहुन्छ ।’
वरिष्ठ नेता पौडेलले आफ्नै सहमतिमा भएको निर्णयलाई समेत कुल्चिएर भागबण्डाको राजनीतिलाई बढावा दिन थालेका छन् । यसअघि बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका अन्तरिम संरचनाहरू निर्माणपछि मात्रै महाधिवेशनको कार्यतालिका बनाउने निर्णय गरेको थियो । यतिबेला पौडेलले केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकको निर्णयविपरीत आफूलाई उभ्याउँदै महाधिवेशनको कार्यतालिका ल्याउन दबाब दिइरहेका छन् । अन्तरिम संरचना निर्माणमा देउवा अग्रसर भएपछि आफूले भागबण्डा नपाउने हो कि भन्ने त्रासमा उनले महाधिवेशनको कार्यतालिकाको विषय उचालेर बैठक बहिष्कार गर्दै आएका हुन् ।
‘अघिल्लो कार्यसमिति बैठकले १४ बुँदे प्रस्तावमध्ये प्रस्ताव २ मा नेपाली कांग्रेसको विधानको धारा ७२ को ४ उपधाराअन्तर्गत अन्तरिम संरचनाहरू निर्माण गरेपछि महाधिवेशनको कार्यतालिका बनाउने भनेको छ,’ प्रवक्ता शर्माले भने, ‘पहिले अन्तरिम संरचनाले पूर्णता पाउनुपर्छ ।’
भागबण्डा किन ?
कांग्रेस केन्द्रीय कार्यसमितिमा पौडेल पक्ष अल्पमतमा छ । १४औं महाधिवेशनका लागि आफ्नो पक्षलाई सहज धरातल निर्माणका लागि पौडेल पक्षले केन्द्रीय विभागहरूमा स्थान खोजेको हो ।
१३औं महाधिवेशनअघि देश दौडाहाका क्रममा पौडेलले नै भागबण्डाका कारण पार्टीमा लोकतान्त्रिक अभ्यासको उपहास भएको भन्दै चर्को असन्तुष्टि जनाएका थिए । उनले आफू सभापतिमा निर्वा्चित भए भागबण्डाको राजनीति सदाका लागि अन्त्य गर्ने प्रतिबद्धतासमेत जनाएका थिए । पार्टी्भित्र सिद्धान्तनिष्ठ नेता भनेर चिनिँदै आएका पौडेल यतिबेला सिद्धान्तलाई छाडेर गुटगट संकीर्णतामै रमाइरहँदा सिंगो पार्टी नै अनिर्णयको बन्दी बन्न थालेको संस्थापन पक्षका एक नेता बताउँछन् ।
सोमबार बस्दै नबसी स्थगित भएको केन्द्रीय कार्यसमिति बैठक पुस २ गते दिउँसो १ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
संस्थापन पक्ष केन्द्रीय कार्यसमितिको बैठक बस्ने तयारी गरिरहेका बेला पार्टीमा कान्छो गुटको नेतृत्व गर्दै आएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पार्टी कार्यालय पुगेका थिए । उनले सभापति देउवालाई भेटेर सोमबारको बैठक स्थगित गरेर पौडेल समूहसँग सहमतिका लागि थप छलफल अघि बढाउन आग्रह गरेका थिए ।
सभापति देउवाले सिटौलाकै सल्लाहबमोजिम सहमतिको प्रयत्न गर्न दुई दिन केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको स्रोतको भनाइ छ । दुई दिनसम्म पनि सहमति जुट्न नसके संस्थापन पक्षले बहुमतका आधारमा निर्णयमा पुग्ने रणनीति बनाएको छ ।
Leave a Reply