काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्ष र असन्तुष्ट समूहबीच देखिएको पछिल्लो विवाद अझै मिल्न सकेको छैन। सहमतिका लागि छलफल जारी राखे पनि दुवै समूहका नेताहरू आआफ्ना अडानमा कायम छन्। पार्टीको आन्तरिक समस्या समाधान गर्न आइतबार दिउँसो भएको दुई पक्षीय छलफल विनानिष्कर्ष टुंगिएको थियो। वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्थापन पक्षसँग वार्ता गर्न गठन गरेको कार्यदलका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको बैठक विनानिष्कर्ष टुंगिएको थियो।
लगातार छलफल गर्दै आएका नेताहरूले भने आन्तरिक विवाद समाधानका लागि भइरहेका प्रयास सकारात्मक ढंगबाट अगाडि बढेको बताउने गरेका छन्।
पौडेलसँग सहमति नजुटेपछि सभापति शेरबहादुर देउवाले गत शुक्रबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मका लागि स्थगित गरेका थिए। पुस २६ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा आगामी महाधिवशेनको कार्यतालिका ल्याउन सहभापति देउवा सकारात्मक नदेखिएपछि पौडेल समूह बहिष्कार गरेको छ। केन्द्रीय समितिमा देउवा बहुमतमा छन्। पौडेलले बहुमतका आधारमा अघि बढ्न वा देउवालाई चुनौती दिएका छन्।
पछिल्लो समय सभापति देउवा कार्यतालिका ल्याउन सकारात्मक देखिए पनि भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलको नेतृत्वका विषयमा पौडेल समूहसँग सहमति जुट्न सकेको छैन। पौडेल समूह दुई भ्रातृ संस्थामध्ये कुनै एकको नेतृत्व आफ्नो समूहले पाउनुपर्ने अडान राख्दै आएको छ। File Photo
Leave a Reply