दलित महिला साना व्यापारमा हौसिंदै

२०७६ पुस १० बिहीवार
Newsdesk Shikharnews

राजु विश्वकर्मा

लहान, १० पुस (रासस)  कुनै बेला घरबाट निस्कन र अरुका अगाडि बोल्न समेत लजाउने सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरकी चनोदेवी मण्डललाई अहिले तरकारी खरिद बिक्री गर्न भ्याइनभ्याई छ । सामान्य लेखपढ पनि उनलाई आउँदैन । तथापि बिहान हुने बितिकै तरकारी कहाँबाट खरिद गरेर ल्याउने र नजीकको शहर बजारमा कतिबेला पु¥याउने भन्ने हतारो मै उनी हुन्छिन् ।

उनले एक वर्षअघिसम्म पुँजीको अभावमा आयआर्जनको कुनै काम गर्न सकेकी थिइनन् । चनोदेवी भने अहिले गाउँ नजीकैको शहर बजारमा तरकारी खरिद बिक्री गरेर राम्रो आम्दानी गर्दैआएकी छिन् । आयआर्जनको गतिलो आधारसँगै चनोदेवीको जीवनमा परिवर्तन मात्र होइन, पहिचान समेत फेरिएको छ ।

आयआर्जनको ठोस आधार नपाउँदा केही वर्षअघिसम्म गाउँकै साहु महाजन कहाँ बनिबुतो गर्दै आएको विगत सम्झिँदै चनोदेवीले भनिन् – “पहिले ज्याला मजदूरीमा दिनरात काम गरेर जीविकोपार्जन गरिरहेकी थिएँ । बालबच्चाको पालन पोषण गर्न धौ–धौ हुन्थ्यो । दिनभरि काम गर्दा मात्र तीन किलो धान ज्याला पाउँथें ।” अहिले उनले तरकारीको व्यापार गरेरै पाँच जना परिवारको गुजारा चलाउँदै आएकी छन् ।

विगत एक वर्षदेखि तरकारीको व्यवसाय शुरु गरेकी उनले आफ्ना छोराछोरीलाई स्थानीय विद्यालयमा पढाउँदै आएकी छन् । उनले यसैको कमाइबाट सुन्दर घर समेत बनाइन् ।

त्यही बस्तीकी सैन्कीदेवी पनि गाउँमै चटपट्टी पसल सञ्चालन गरी राम्रो आम्दानी गरिरहेकी छन् । केही महिनाअघिसम्म साहु महाजनकोमा मजदूरी गर्दैआएकी सैन्कीदेवीलाई यतिबेला चटपट्टी बेचेरै दैनिक रु ४०० देखि ५०० सम्म कमाइ हुन्छ ।

आफ्नै घर अगाडि सञ्चालन गरेको चटपट्टी व्यापारले सैन्कीको मात्रै होइन, सिङ्गो परिवार मै खुशी आएको छ । परिवारका सदस्यहरुको समेत राम्रै साथ पाएकी सन्कैदेवी भन्छिन् – “चटपट्टी व्यापार गरेर परिवारको गुजारा चलाउनुको साथै छोराछोरीको पढाइ खर्च पनि जुटाइआएकी छु ।”

आर्थिक विपन्नता र चेतनाको अभावमा साहु महाजनकोमा श्रम गर्ने चनोदेवी र सैन्कीदेवीको जीवनमा आएको यो परिवर्तन कुनै चमत्कारिक शक्तिबाट नभई श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको सशक्तीकरण कार्यक्रमको उपज हो ।
“शुरु शुरुमा म धेरै लजाउँथे, के गरौं के नगरौं भन्ने थाहै थिएन, सधैं मजदूरी गर्थे, जेनतेन परिवार पाल्थें,” चनोदेवीेले भनिन् – “श्रीपुर्राज सामुदायिक विकास केन्द्रले गाउँमै कार्यक्रम सञ्चालन गरे पछि मेरो जीवनमा परिवर्तन आयो ।”

द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवाचरवाको सशक्तीकरण कार्यक्रम अन्तर्गत गाउँकै महिलाहरुको सक्रियतामा गठन भएको बचत समूहमा आबद्ध भएकी चनोदेवी र सैन्कीदेवीले त्यही समूहबाट ऋण लिएर व्यापार शुरु गरेका हुन् ।
सिरहाको लहान, गोलबजार, धनगढीमाई र सप्तरीको वीरेन्द्र बजार, राजविराजबाट तरकारी खरिद गरी गाउँ नजीकैको कठौना, ट्राफिक बजारलगायतको ठाउँमा तरकारी व्यापार गर्दैआएकी चनोदेवीले भनिन् – “अहिले त्यही तरकारी व्यापारबाट दैनिक रु. ५०० देखि ७०० सम्म कमाइ भइरहेको छ ।”

आफू आबद्ध भएको बचत समूहबाट रु १० हजार ऋण लिएर शुरु गरेको तरकारी व्यापार फस्टाउँदै गएपछि ऋण चुक्ता गएर समूहमै बचत गर्दै आएको चनोदेवी बताउँछिन् ।

“शुरु शुरुमा तरकारी व्यापार गर्न लाज लाग्थ्यो,” उनले भनिन् – “समय समयमा व्यापारसम्बन्धी तालीम लिएपछि विस्तारै मलाई पनि हिम्मत आयो र लाज मान्नेरै भए पनि मैले तरकारी किनबेचलाई निरन्तरता दिँदै आएँ ।” विस्तारै लाज हट्दै गएको र प्रगतिको ढोकासमेत खुल्दै गएको उनको कथन थियो ।

आफ्नो तरकारी व्यापार प्रगतिको पथमा अघि बढ्दै गएपछि परिवारमा हुँदै आएको झैंभगडा समेत रोकिएको उनको अनुभव छ ।

चनोदेवी र सैन्कीदेवीको साहसिक कदमबाट गाउँका अन्य महिला समेत उत्साहित भएका छन् । बस्तीका २१ जना दलित र ५ जना पुरुष गरी २६ जना बचत समूहमा आबद्ध छन् । उनीहरुले मासिक रु १०० का दरले बचत समेत गर्दैआएको श्रीपु्र्राज सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरी बताउँछिन् ।
सदस्यहरुले मासिक रुपमा गरेको बचत रकम रु ४७ हजार भन्दा बढी पुगेको छ । कार्यक्रम संयोजक चौधरीले भनिन् – “बचत भएको रकम परिवारकै सदस्यहरुमा ऋण लगानी गर्ने गरेका छन् ।” यसले दलित महिलाहरुमा बचतसँगै ऋण लिने दिने बानीको समेत विकास भएको चौधरीको बुझाइ छ ।

पछिल्लो समय दलित महिलाहरुमा आएको परिवर्तन लोभलाग्दो रहेको बताउने शम्भुनाथ नगरपालिका वडा नं ५ का अध्यक्ष हिरण कुमार चौधरीले यहाँको दलित बस्तीका महिलाले गरेका प्रयासलाई अरु ठाउँका महिलाले पछ्याए समाजमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।