काठमाडौँको नयाँपाटीस्थित ड्रिकुङ्ग काग्यू न्छिनलिंग गुम्बाले विगत १७ वर्षदेखि गर्दै आएको विश्व शान्ति माने पूजा मंगलबार सम्पन्न भएको छ । उक्त गुम्बाले गुरु डुवाङ कोन्छयोक नुर्बु रिन्पोछेको सम्झनामा बर्षेनी विश्व शान्ति माने पूजा गर्दै आइरहेको छ ।
यसपटकको पूजा पुस ६ गतेदेखि सुरु भएको हो । पूजा परमपुज्य धर्मगुरुद्वय डुवाङ नुपा कोन्छयोक तेन्जिन रिन्पोछे र तोग्देन रिन्पाछेको उपस्थितिमा सम्पन्न गरिएको हो ।
संसारमा सुखशान्ति फैलियोस् भन्ने कामना सहित बौद्ध धर्मावलम्वीले विश्व शान्ति पूजा गर्ने प्रचलन रहँदै आएको छ । १० दिने पूजाको पाँचौ दिनमा गुरु डुवाङ कोन्छयोक नुर्बु रिन्पोछे ज्यूको अवतारी गतिको समारोह, पुस १४ गते श्रद्धेय गुरु डुबाङ नुपा कोन्छयोकले अवलोकितोश्वरको अभिषेक अर्थात वाङ गर्नु भएको थियो ।
त्यस्तै पूजाको अन्तिम दिन पुस १५ गते मंगलबार श्रद्धेय गुरु तोग्देन रिन्पोछे ज्यूबाट ड्रिकुङ फोबा र लामो आयु अभिषेक अर्थात् छेपाग्मे वाङ प्रदान गर्नु भएको थियो ।
महायानी बौद्ध धर्मभित्रका प्रख्यात धर्मगुरुहरुको उपस्थितिमा भएको पूजामा धर्मावलम्बीको सहभागिता उल्लेख्यरुपमा भएको थियो । पूजाको अन्तिम दिन मंगलबार २ हजार भन्दा बढि श्रद्धालु उपस्थित भएको गुम्बाका सचिव नामग्याल लामाले बताउनु भयो ।
सिंगापुर, चीन, इण्डोनेसिया लगायतका देशबाट पनि ठूलो संख्यामा अनुयायी पूजामा सहभागि भएका थिए ।
Leave a Reply