सानैदेखि उधुम गफाडी थिए केपी

२०७६ पुस १९ शनिवार
Newsdesk Shikharnews

राधाकृष्ण मैनाली
राजनीतिले दिएको अवसरको कुरा गर्दा यो देशमा दुई मान्छेको तुलना गर्न मन लाग्छ मलाई । एउटा बीपी (विश्वेश्वरप्रसाद कोइराला) र अर्को केपी (खड्गप्रसाद शर्मा ओली) । इतिहासको अलग–अलग कालखण्डमा जन्मिएका यी दुवैले अलग–अलग समयमा चुनावमा बहुमत ल्याए र प्रधानमन्त्री बने । नेपालको इतिहासमा जम्मा दुई पटक भएको दुई तिहाइको सरकारका प्रमुख बीपी र केपीको जीवनचाहिँ आकाश–जमिनको फरक रह्यो ।

बीपी जन्मजात सम्पन्न थिए । बाबु कृष्णप्रसादको राणाहरूसँग कुरा नमिल्दा उनी परिवारका साथ निर्वासनमा जानुपर्‍यो । त्यस बखत गरिबीका कारण नास्तामा चना र सक्खर खानुपर्ने अवस्था आइलागेको बीपीले लेखेका छन् । उनका लागि त्यो तुच्छ र गरिबले खाने भोजन त्यतिबेला आम नेपालीका लागि राम्रै खाना हो, जो हरकसैका लागि सजिलै पाइने वस्तु थिएन । यसबाट पनि थाहा हुन्छ, बीपी एक सम्भ्रान्त मानिस थिए । र नै त, त्यस्तो लखेटिएको जिन्दगीमा पनि उनले स्नातकसम्म पढ्न सके ।


राणाविरुद्ध निर्वासनमै बसेर संघर्ष गरेका बीपी २००७ सालपछि नेपाल फर्के । दरबार र दाजुसँगको संघर्षका माझ उनले २०१५ मा चुनाव जिते र दुई तिहाइको शक्तिशाली सरकार बनाए । तर, १८ महिनाभन्दा बढी काम गर्न पाएनन् । किनभने, सरकार जति शक्तिशाली भए पनि त्यसभन्दा माथि दरबार थियो, महत्त्वाकांक्षी राजा थिए । १८ महिनाको छोटो अवधि शासन गर्न पाउँदा पनि बीपी नेपाली राजनीतिको इतिहासमा एक जिउँदो मान्छे भएर बिते । उनलाई आज पनि उत्तिकै श्रद्धा र सम्मानका साथ मानिसले हेरिरहेका छन् । उनले गर्न केही पाएनन्, तर पनि बीपीसँग योजनाहरू थिए, गर्न सक्ने आँट अनि भरोसा थियो । त्योभन्दा बढी थियो उनको नेतृत्व क्षमता र मानिसबाट कामलिन सक्ने खुबी ।

यता केपीको सत्तालाई हलचल गराउने न दरबार छ, न अरू कुनै अदृश्य शक्ति नै । उनले दुई वर्षभन्दा बढी अवधि गुजारी पनि सके पाँच वर्षे सरकारको । तर पनि उल्लेख्य काम उनले गर्न सकेका छैनन् । तर उनले सपना भने राम्रै देखाइरहेका छन् । कहिले रेल ल्याउने कुरा गर्छन्, कहिले पानीजहाजको टिकट काट्नेहरू तयार हुनुस् भन्छन् । एक पटक उनले संसद्मै उभिएर अब एक वर्षपछि नेपालमा घर नहुनेहरू कोही पाइने छैनन् भने । यसरी हठात् घोषणा गर्दा कति मान्छेसँग घर छैन र उनीहरूलाई घर दिन कति खर्च आवश्यक पर्छ भन्ने कुनै तथ्यांकसम्म उनीसँग थिएन, दिने आर्थिक हैसियत त परको कुरा । अर्को पटक यस्तै हचुवाका भरमा उनले फेरि भने– अब यो देशमा स्कुल नजाने बालबालिका हुने छैनन् । कति बालबालिका स्कुल जाँदैनन्, गएकाले पनि किन छाड्छन् भन्ने अनुसन्धान नै नगरी उनले यसो भनेका थिए । यस्ता बिना खोजबिनका केपीका कुरा सम्झ्यो भने अरू पनि बग्रेल्ती छन् ।

उनका यस्ता कुरा सुन्दा मलाई केपीका बाल्यकाल झलझल्ती याद आउँछ । सानामा उनी यस्तै उधुमका गफाडी थिए । उनलाई समूहमा आफू सबभन्दा जान्ने भएर प्रस्तुत हुन मन पर्थ्यो, उनका वरपर भएका चाहिँ उनलाई त्यस स्तरमा पत्याउँदैनथे । तयारी नगरी र क्षमता नभई बोल्ने उनको बानीले मान्छेको विश्वास गर्न सक्ने सामर्थ्य नै खत्तम पार्थ्यो । उनको नानीदेखि लागेको त्यही बानी अहिले प्रधानमन्त्री हुँदासम्म पनि गएको छैन । त्यसैले उनी तयारी नै नगरी मनमा लागेका विकासका कुरा फटाफट भनिदिन्छन् । अनि, मान्छेहरू उनका कुरा सुनेर हाँस्नुपर्ने अवस्थामा पुग्छन् । यस्तो बानीले गर्दा ओलीले देशलाई बदल्न सक्ने अवसर गुमाइरहेका छन् जस्तो मलाई लाग्छ । नत्र, कहीँ प्रधानमन्त्रीले मन्त्रीसँग र मन्त्रीले सचिवसँग करारनामा गराउँछ ? मन्त्री हुनु, सचिव हुनु नै काम गर्छु भन्ने करार हो नि, यसमा एनजीओ शैली निकालेर करार गर्ने कुरा कहाँबाट आयो ?

रेल ल्याउँछु, पानी जहाज चलाउँछु भन्नु नराम्रो होइन । गर्न सके, यो बहुतै राम्रो हो । तर, के यसका लागि तयारी चाहिँदैन ? क्षमताको आवश्यकता पर्दैन ? कुनै अनुसन्धानै नगरी, केही नापजोखै नभई कसरी आउँछ रेल ? कसरी चल्छ पानी जहाज ? यो देशको मूल समस्या भनेको गरिबी हो । दुर्गममा बस्नेहरू धेरै छन् यो देशमा । तिनको जीवनस्तर पानीजहाज र रेलले होइन सडकसम्मको पहुँचले उठ्छ । गुणस्तरीय सडक सञ्जालले यो देशलाई जोड्ने योजना ल्याउनुपर्ने हो उनले । तर, यसमा उनको ध्यानै छैन । खालि पानीजहाज र रेलको सपना देखेर उनी बसिरहेका छन् । उही, झापामै हुँदाजस्तो उनी अरूका कुरा नसुन्ने, अरूले उनका कुरा नसुन्ने त भइरहेको छैन अहिले ?

मेरै राजनीतिक नेतृत्वमा कम्युनिस्ट आन्दोलनमा लागेका केपी आखिर यस्तो किन भए त भनेर म अक्सर सोच्ने गर्छु । अनि म उनको विगतलाई नियाल्न पुग्छु ।

केपीको जिन्दगीको सुरुवात नै चरम गरिबी र एक्लोपनबाट भयो । सानैमा आमा बितेकी हुनाले केपीले मानवीय स्नेह नै पाएनन् । कतिपय त के पनि भन्छन् भने न्वारन नहुँदै केपीले मातृवियोग भोग्नुपर्‍यो । आमा बितिन् यता, उता बाबुले दोस्रो बिहे गरे । यसरी शैशवकालमै परित्यक्तजस्ता केपीलाई उनका बडाबाउले पाले । अलिपछि उनका तेह्रथुमे छिमेकी रामनाथ दाहालले केही भरथेग गरे । झापामा रामनाथको अथाह जमिन थियो र उनी नोकरचाकरसहित ठाँटले बसेका थिए । तर, अवाला र अभरमा परेकाप्रति उनको हृदय दयालु थियो । त्यसैले उनकोमा दुई–चार केटाकेटी भोजन र आवासको सुविधा लिएर पढिरहेकै हुन्थे । यसरी पढ्ने बालकमा केपी पनि एक थिए, जसलाई रामनाथले विशेष माया गर्थे । किनभने, रामनाथमा भएका केटामध्ये सबभन्दा बाठा थिए उनी ।

केपी कम्युनिस्ट आन्दोलनमा लागेको पनि आफ्ना अन्नदाताकै प्रभावले हो । धनी भए पनि रामनाथ सामन्ती व्यवस्थाको विरोध गर्थे । त्यसको प्रभाव केपीमा पनि पर्न गयो र उनी पनि पार्टीमा लागे । त्यसै उपक्रममा उनीसँग मेरो भेट भएको थियो २०२७ सालतिर । तिनताक म मनमोहनको पार्टी हाँक्ने शैलीदेखि वाक्क भएको थिएँ । त्यसैले विद्रोह गरेर नयाँ मोर्चा खडा गरेँ, जसमा रामनाथ पनि सहभागी थिए । हामीले नयाँ ढंगले क्रान्ति गर्ने भनी २०२८ सालमा झापा विद्रोह सुरु गर्दा केपी पनि रामनाथको साथसाथै सक्रिय भएर लागे । मलाई २०२९ सालमा टीबी लागेपछि केपीलाई नै सचिव बनाइयो । तर, तीनमहिने सचिव कार्यकालमा केपीले कुनै बैठकै बोलाएनन्, केही निर्णय नै हुन पाएन । यसले देखाउँछ, अरूको सल्लाह लिन जरुरत छैन भन्ने उनलाई त्यतिबेलैदेखि लाग्ने रहेछ ।

उनी सचिव भएको अर्को वर्ष त हामी सब पक्राउ परिहाल्यौं । रामनाथलाई प्रहरीले गोली हानी मार्‍यो । मोहनचन्द्र भागेर भारत पसे । केपी पनि भागेर उहीँ पुगेछन् । दुई महिनापछि फर्केर नेपाल छिर्दा रौतहटबाट पक्राउ परे दुवै । उनीहरूलाई पनि केन्द्रीय कारागारमा ल्याइयो ।

उसै पनि पिलन्धरे उनी, जेलमा ज्यादै बिरामी परे । अल्सर भयो, क्षयरोगले समात्यो । दुर्बल भएर उनी हिँड्न पनि राम्रो गरी सक्दैनथे ।

तर, त्यस्तो समयमा पनि उनी जीवनप्रति आशावादी चाहिँ थिए । मलाई केही हुँदैन नै भन्थे । केपी अहिले निकै बिरामी छन्, तर पनि उनको त्यो जीवनप्रतिको भरोसा भने उत्तिकै छ, यो चाहिँ राम्रो पक्ष हो उनको । उनी निकै महत्त्वाकांक्षी मानिस हुन् उतिबेलै देखि, मैले जानेसम्म महत्त्वाकांक्षी मान्छेमा ज्यादा बाँच्ने इच्छा अरूमा भन्दा प्रबल हुन्छ । त्यसै कारण हुन्, उनी यस्तो अवस्थामा पनि अलिक छिट्टै तंग्रिएजस्ता देखिएका । तर, जेलमा हुँदा र अहिले तात्त्विक फरक के छ भने त्यतिबेला उनको उमेर थियो र उनका मुख्य अंगहरू सद्दे नै थिए । तर, अहिले उनको उमेर पनि धेरै छ, किड्नीजस्तो महत्त्वपूर्ण अंगले काम गरिरहेको छैन । यस्तोमा पनि उनी खटिन खोजिरहेका छन् र देश हाँक्न तयार देखिन्छन् ।

जेलमा हुँदाका अप्ठेरा दिनमा पनि उनको स्वभाव यस्तै थियो । तिनताक जेलमा दिनको ६० पैसा र एक माना चामल दिन्थ्यो सरकारले । त्यति पैसामा गतिलो खान केही नपाइए पनि केपीलाई खान चाहिँ मिठो मसिनो पर्थ्यो । गान्टे मुलामा एक पाथी झोल हालेर हामी भात त्यसैसँग खान्थ्यौं । केपीलाई यस्तो खान मन पर्दैनथ्यो । गान्टे मुलालाई उनी हवल्दार भन्थे किनभने हवल्दार पनि उनलाई मन पर्दैनथ्यो ।

जनमत संग्रह भएपछि जेलको सिदा ६० पैसाबाट बढाएर ३ रुपैयाँ पुर्‍याइयो । त्यसमाथि टीबीका बिरामीलाई दिनको सय ग्राम मासु पनि दिन थाल्यो । यसरी पैसा पनि बढेको र मासु पनि दिन थालेको स्थितिमा केपीले केही मिठो खान पाए । अनि उनी केही तंग्रिए पनि ।

तिनताक दुई तीन वर्षमा मलाई घरबाट भेट्न मान्छे आउँथे र महिनाको डेढ सय नियमित पठाइदिन्थे । त्यतिका वर्ष जेलमा बस्दा ओलीलाई भेट्न कोही आएन, न कसैले रुपैयाँ पैसा नै पठायो । २०३६ सालमा अलि खुकुलो भएपछि मैले भाइलाई केपीका हजुरआमा लिएर आउन लगाएँ । नख्खु कारागारमा सारेको थियो त्यतिखेर हामीलाई । केपीलाई जेलमा देखेपछि उनी निकै रोएको मलाई अहिले पनि याद आउँछ । यस्तो अप्ठेरो जिन्दगी थियो केपीको । तर पनि उनी विचलित थिएनन् । जेल जीवनमा उनी पाएसम्मका पुस्तक पढ्थे । भन्थे, हामीले नै अबको राजनीति सम्हाल्ने हो, हामीले नै यो देश बदल्ने हो ।

तर, समय अन्तरालमा केपी बदलिए । महाकाली सन्धिमा उनी माधवकुमार नेपालको पक्षमा उभिए । त्यसैबेला उनलाई राजनीतिमा अघि बढ्ने हो भने संगठन र पैसा चाहिन्छ भन्ने बोध भएछ । त्यसपछि उनी अलिक गुटरउपगुट बनाउनतिर लागे । हुँदाहुँदा पार्टीको अध्यक्ष बने । अहिले त माओवादीलाई समेत मिसाएर उनी सबको मूली भएका छन् । यस्तो अनुकूलता नेपालमा कुनै राजनीतिज्ञ वा कुनै लोकतान्त्रिक शासकले पाएको थिएन । यस्तो बेला उनले विकास त भटाभट गर्न सक्नुपर्ने हो । तर, अपेक्षाअनुसार केही हुन भने सकिरहेको छैन । यसबाट जनता निराश छन्, उनको छवि पनि काम खासै नगर्नेका रूपमा बन्न लागेको छ । यसलाई रोक्ने हो भने केपीले आफ्नो कार्यशैली बदल्नैपर्छ । कान्तिपुरमा प्रकाशित