खाडी क्षेत्रमा युद्धको बादल

२०७६ पुस २२ मंगलवार
NewsDesk ShikharNews

तेहरान । अमेरिकी सेनाको कारबाहीमा इराकको राजधानी बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एक इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा युद्ध हुनसक्ने जोखिम बढेको छ । शनिबार राति इराकस्थित अमेरिकी दूतावास र अमेरिकी सैन्य अखडामा अज्ञातस्थलबाट रकेट आक्रमण भएको छ ।

अमेरिकी सैनिक अखडामाथि रकेट आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा अभिव्यक्ति दिएका छन् भने इरानले मस्जिदमा रातो झण्डा राखेर युद्धको संकेत गरेको छ । ट्रम्पले अमेरिकाको निसानामा ५२ वटा इरानी स्थल रहेको चेतावनी दिँदै अमेरिकाले विश्वका कुनै पनि कुनामा रहेका आफ्ना नागरिकको रक्षा गर्ने बताएका छन् । तर, अमेरिकाले इरानी सैन्य कमाण्डरको हत्या गरेको विषयमा भने अमेरिका एकमत नहुने देखिएको छ । अमेरिकी विपक्षी डेमोक्र्याट्स नेताहरूले इरानी सैन्य कमाण्डरको हत्या गरेर ट्रम्पले खाडीमा युद्धका लागि इरानलाई उस्काएको प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।

आइतबार दिनभर विकसित भएका घटनाक्रमले खाडीमा युद्धको जस्तै वातावरण बनेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । आइतबार बिहानै इराकस्थित अमेरिकी सैन्य अखडामा रकेट आक्रमणको खबर आएको थियो । त्यसपछि इरानले अमेरिकी केही सरकारी वेबसाइट हृयाक गरेर साइबर आक्रमण गरेको समाचारहरू पनि आए यस्तै इरानले मस्जिदमा रातो झण्डा राखेको विषय पनि आइतबार दिनभर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ ।

अन्तर्राष्ट्रिय समुदाय सक्रिय

अमेरिकी सेनाको विशेष खालको कारबाहीमा इरानी फौजको विशेष दस्ता क्वीडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएपछि यस विषयमा खाडी तथा त्यसबाहिर पनि यस विषयमा व्यापक मात्रामा चर्चा चलेको बताइएको छ । त्यस आक्रमणपछि विकसित परिस्थितिका बारेमा चिनियाँ र रूसी विदेशमन्त्रीबीच आइतबार फोनवार्ता भएको बताइएको छ । सो विषयमा चिनियाँ विदेशमन्त्री वाङ यी र रूसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच फोनवार्ता भएको बताइएको छ । उनीहरूबीच इरानी कमाण्डर मारिएपछि इराक र इरानसहित खाडी क्षेत्रमा देखा परिरहेको अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ ।

उनीहरूले यस विषयमा आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा पनि कुराकानी गरेको समाचारमा जनाइएको छ । यस घटनाले आफूहरूको ध्यानाकर्षण हुन पुगेको उनीहरूले आपसमा कुराकानी गरेको पनि प्राप्त समाचारमा जनाइएको छ । उता युरोपेली युनियनले इरानी विदेशमन्त्रीलाई ब्रसेल्समा छलफलका लागि बोलाएको समाचार पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुलेमानीको शव तेहरानमा

इराकको राजधानी बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा मारिएका जर्नेल सुलेमानीको शव शनिबार राति इरान पु¥याइएको छ । तेहरानमा आइतबार जर्नेल सुलेमानीको शव यात्रा गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन् ।

शवयात्रामा लाखौं इरानीहरू सडकमा आएको बिबिसीले उल्लेख गरेको छ । यसअघि शनिबार इराकको राजधानी बग्दादमा गरिएको शव यात्रामा पनि हजारौं इराकी इराकको झण्डा लिएर शव यात्रामा सहभागी भएका थिए । जर्नेल सुलेमानीको आगामी मंगलबार उनी जन्मेको स्थानमा अन्त्येष्टि गरिने जनाइएको छ ।

इरानले तीन दिने शोक घोषणा गरेको छ । इरानी सर्वोच्च नेता अयोतुल्ला खामेनीले अमेरिकालाई कडा जवाफ दिने बताइसकेका छन् । उनले सुलेमानीलाई सहिद घोषणा गरेका छन् भने उनको स्थानमा अर्का जर्नेल इस्माइल घानीलाई कुद्स पोर्सको नयाँ प्रमुखमा नियुक्त गरेका छन् । नवनियुक्त, कुद्स फोर्स प्रमुख घानी इरान–इराक युद्धका बेला युद्ध मोर्चा सम्हाल्ने उच्च इरानी सैनिक अधिकारीमध्ये एक रहेको बताइएको छ ।