प्रदेश–३ को राजधानी र नामको अन्तिम निर्णय आज

२०७६ पुस २७ आइतवार
Newsdesk Shikharnews

हेटौंडा। देशको केन्द्रसमेत रहेको प्रदेश–३ को आज आइतबार बस्ने प्रदेशसभा बैठकले राजधानी हेटौंडा र नाम ‘बागमती’ पारित गर्ने भएको छ। नेकपा सचिवालयले प्रदेशको राजधानी हेटौंडा र नाम ‘बागमती’ राख्ने निर्णय गरेसँगै हतारहतारमा गत मंगलबार मतदान गर्ने गरी प्रारम्भिक खाका ल्याइएको थियो।

तर, आफ्नै दलका असन्तुष्ट सांसद्का कारण नेकपा निकै अप्ठेरोमा परेको थियो। यसका कारण सचिवालयले नेताहरुलाई काठमाडौंमा बोलाएर पुनः निर्देशन दिनुपरेको थियो।

संसदीय दलको बैठकमा विशेषतः काभ्रेका सांसद्हरुले पार्टी केन्द्रीय नेतृत्वले गलत निर्णय गरेको दाबी गरेका थिए। प्रदेशको स्थायी राजधानी र नामसम्बन्धी प्रस्तावमा शनिबार छलफल भएको थियो।
आइतबार विहान ९ बजे मतदान प्रक्रिया सुरु गर्ने कार्यतालिका बनाइएको छ। प्रदेशको स्थायी राजधानी र नामकरण गर्न दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गर्नुपर्ने संविधानमा व्यबस्था छ।
प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठका अनुसार आइतबार स्थायी राजधानी र नाम टुंगो लगाउन तयारी छ। प्रस्ताव निर्णयार्थ पेश भएपछि प्रदेशसभा सदस्यले वर्णानुक्रमअनुसार ‘हुन्छ’ र ‘हुँदैन’ भन्ने दुई लाइनमा दस्तखतसहित मतविभाजन भई मतपरिणाम घोषणा हुनेछ।

शनिबार प्रदेशको स्थायी राजधानीका लागि हेटौंडा र काभ्रेको धुलिखेल गरी दुई स्थानको प्रस्ताव दर्ता भएका थिए। प्रदेश राजधानीको स्थान र नामकरणका लागि प्रस्ताव माग गरिएकोमा प्रदेशसभा सचिवालयमा शनिबार हेटौंडा र धुलिखेलको नाम प्रस्ताव दर्ता भएका हुन्।

प्रदेशको राजधानी हेटौंडा र नाम ‘बागमती’ राख्ने नेकपा र कांग्रेससहित ६ दलले प्रदेशसभामा संयुक्त प्रस्ताव दर्ता गरेका हुन्। प्रदेशको स्थायी राजधानीमा हेटौंडाका लागि नेकपा संसदीय दलका नेता एवम् मुख्यमन्त्री डोरमणि पौडेल प्रस्तावक रहेर प्रस्ताव दर्ता गरिएको हो।

प्रस्तावको समर्थकमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीकी रीता माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) की रीना गुरुङ छन्। नाम र राजधानीबारे नेकपा र कांग्रेस एकै ठाउँमा उभिएका छन्।

विवेकशील नेपाली दलका रमेश पौड्याल प्रस्तावक तथा साझा पार्टीकी शोभा शाक्य र विवेकशील नेपाली दलका विराजभक्त श्रेष्ठको समर्थनमा धुलिखेल राजधानीका लागि प्रस्ताव दर्ता गरिएको छ।
प्रदेशको नामकरणका लागि एकल प्रस्ताव ‘बागमती’ दर्ता भएको छ। कांग्रेसले प्रदेशको नामकरणका लागि गरेको प्रस्तावमा एकमात्र प्रस्ताव परेको हो। प्रदेशको ‘बागमती’ नामकरणका लागि कांग्रेस संसदीय दलका नेता बानियाँ प्रस्तावक रहेको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेशसभा सभामुख श्रेष्ठले जानकारी दिए।