पृथ्वीनारायण शाहदेखि कमल थापासम्मको राष्ट्रवाद

२०७६ पुस २७ आइतवार
Newsdesk Shikharnews

जुन बेला देश कमजोर बन्न थाल्छ त्यस बेला त्यहाँ राष्ट्रियताको बहस हुन थाल्छ । त्यतिखेर नेता धनी र नामी हुन पनि सक्छस तर त्यस अवस्थामा देश र जनताको स्थिति कारूणिक बन्दै गएको हुन्छ । अनि त्यसै घडी राष्ट्रियताप्रतिको जनलहर बढ्दै गएको पनि हुन्छ । आज हाम्रो देशमा ठीक यस्तै अवस्थाको सिर्जना भइरहेको छ । अहिले हाम्रो देशमा सङ्कटको सृजना हुन थालेको छ, त्यसैले चारैतिरबाट राष्ट्रियताका सारङ्गी पनि रेटिन थालेका छन् ।

आज हाम्रो नेपालको राष्ट्र र राष्ट्रियताउपर सङ्कट परिरहेको बेहोरा तमाम नेपालीलाई थाहा छ । आजको नेपालको दुखद अवस्था एउटा कारूणिक उपन्यासजस्तै देखिन थालेको छ । यहाँ जनताका लागि जनताबाट शासन चलाइने विधिविधान पनि छ । तर जनभोट जित्नेहरू भने प्रायस् नेपालवादी हुनै सकेनन् भन्ने गुनासाहरू पनि आउन छाडेका छैनन् ।

नेपाललाई दिनप्रतिदिन खतरा पारिँदो छ । पृथ्वीनारायण शाहले भौगोलिक र राष्ट्रियताले एकीकरण गरेको र भानुभक्त आचार्यले भाषिक एकीकरण गरेको नेपाललाई अहिले दलहरूको भाले जुधाइले आक्रन्त पारेको छ । वास्तवमा राजा हिँडेपछि हाम्रो देशमा मियोविनाको दाईँ भइरहेको छ ।

एकातिर राजा अक्षम हुनु र अर्कातिर उनका छोराप्रति जनघृणा सिर्जना हुनाले राजतन्त्र मास्नेहरूका लागि काखी बजाउने अवसर प्राप्त भइरहेको थियो । त्यसै बखत भारतको प्रत्यक्ष निर्देशनमा नेपालमा गणतन्त्र भित्रिन पुग्यो । अनि त्यसपछि नेपाल राष्ट्रकै जहाज डुब्ने खेलको सुरूवात हुन थालेको थियो ।

राजा वीरेन्द्रको हत्या भएपछि उनी जनप्रियताका पात्र भए । अनि उनका शासनकालमा भएका राम्रा र नराम्रा सबै बेहोरा एउटै खालमा राखियो । राजा ज्ञानेन्द्रले राज्यारोहण गरे, तर उनीमा राजकाजबारेको ज्ञान, सीप र अनुभव नै थिएन । त्यसैले उनका छेउछाउकाहरूबाट राजकाजको शैलीलाई बाँदरका हातमा नरिवल बनाउने कसरत भयो । त्यसमाथि आफ्ना छोराको विविध घृणित कृत्यका कारण थपिँदा राजा ज्ञानेन्द्र डरलाग्दो आलोचनाका पात्र भए । एकातिर राजा अक्षम हुनु र अर्का्तिर उनका छोराप्रति जनघृणा सिर्जना हुनाले राजतन्त्र मास्नेहरूका लागि काखी बजाउने अवसर प्राप्त भइरहेको थियो । त्यसै बखत भारतको प्रत्यक्ष निर्देशनमा नेपालमा गणतन्त्र भित्रिन पुग्यो । अनि त्यसपछि नेपाल राष्ट्रकै जहाज डुब्ने खेलको सुरूवात हुन थालेको थियो । छिमेकी मित्र राष्ट्रबाटै राजा ज्ञानेन्द्रलाई जवर्जस्ती गुन्टा कस्न लगाइनाले हाम्रो सार्वभौमिकता, हाम्रो स्वाधिनता र हाम्रो राष्ट्रवादप्रति पहिरो जानेक्रम जारी नै भयो । त्यस प्रकरणमा जनताहरूले यो जित कसको ? जनताको ! भनेर नारा पनि लगाए । तर राजतन्त्रको पतन नै राष्ट्रियताको हार थियो । राष्ट्रियताको कारणले नेपालमा गणतन्त्रको जित पनि हुन सकेन ।

पञ्चायतले तीन दशकमा गरेका राम्रा कामलाई सोत्तर बनाएर बहुदल र गणतन्त्रका नेता मिलेर अढाई दशकमा नै नेपाललाई दस दशक पछाडि धकेलिदिए । यसबाट के बुझौं भने राजनीतिक व्यवस्था फेर्नु ठूलो कुरा होइन, देशको सरकार कसरी चलिरहेको छ भन्ने चाहिं ठूलो कुरा हो । आज जुन रूपमा नेपाल सरकार चलिरहेको छ यस्तै रवैया हुने हो भने भोलि हामीले हाम्रो राष्ट्रियता घरै बसेर गुगलमा खोज्नु पर्ने पनि हुनसक्छ । अझै यस्तै शासन व्यवस्था चलिरह्यो भने भोलि गएर अरूकै धर्म, अरूकै भाषा र अरूकै नेतृत्वको औपचारिक ओतमा हामीले आफ्नो मुलुकको इतिहास पढ्न वाध्य हुनु पर्नेछ ।

नेपालमा अहिले अति जटिल परिस्थिति स्थापित भैरहेको छ । यस अवस्थामा थाप्लो र काँध थाप्ने नेपालवादी राजनेताको खाँचो छ । राष्ट्रियताको कृत्रिम नारा लगाउनेभन्दा राष्ट्रलाई शिरमा बोकेर हिंड्नेहरू नै देशभक्त हुन्छन् । आज मुलुक त्यस्ता देशभक्तहरूको खोजीमा छ ।
नेपालको वर्तमान सवालमा राजालाई नै राष्ट्रियताको सग्लो बिम्बका रूपमा स्वीकार्नु पर्ने अवस्थाको पुनस् सृजना भएको छ । जसरी खडेरी परेको बेला एक झर पानीको पनि अति महत्व हुन्छ, त्यसरी नै राष्ट्रियताको सङ्कटको अवस्थामा एक जना सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता खटकिएको हुन्छ ।

कमल थापाको सन्दर्भमा उनी धेरै पल्ट पदमा बसे भनेर उनका बिरोधी चिच्याउँछन् । साथै उनले पैसा कमाए भनेर नारा लगाउनेहरूको पनि कमी देखिँदैन । पदका सन्दर्भमा कुरा गर्ने हो भने उनी किन, कुन बेला र कसरी उपप्रधानमन्त्री भए ? वास्तवमा केही हदसम्म भए पनि मुलुक जोगाउन पाइन्छ कि भनेर उनी पदमा गएका थिए । उनले पैसा कमाएको सन्दर्भलाई टेको लगाएर भए पनि उनको जरा खनिँदो छ । देशै बन्धकमा जान लागेको अवस्थालाई चाहिं आँखा चिम्लनेहरूले प्रमाणहीन कुरा अघि सार्नुको अर्थ के हुन्छ ? भारतले अघोषित देश चलाउन हुने रे ! अनि कमल थापा घरिघरि उपप्रधानमन्त्री बन्न नहुने रे !

त्यस बेला एउटा डरलाग्दो खाडलमा हाम फालेर कमल थापाले राजतन्त्रका धमिराहरू चाल्ने प्रयास गरेका थिए कि थिएनन् ? सरकार बाहिर बसेर जनमतको मात्र संरक्षण, मान र कदर गर्न खोज्दा सरकारले भित्रभित्रै सुरूङ खनेको हामी कसरी चाल पाउँथ्यौं त ? उदाहरणका लागि भन्ने हो भने ‘शेरबहादुर देउवाले सुरूङ खन्छन् भन्ने डरले पछिसम्म पनि माओवादीका मन्त्रीहरू घाम तापेर सरकारमा नै टाँस्सिरहेका थिए कि थिएनन् ?’

खलनायकहरूले राष्ट्रियता मास्ने प्रपञ्च रचिरहेका छन् । नायक हराएका बेला खल नायकको उदय त हुन्छ नै ! त्यसैले कमल थापाहरूले नायककै मात्र खोजी गरिरहे । अनि उनले राष्ट्रनायक पनि त्यस्तो व्यक्तिलाई नै खोजे जसले मात्र नेपालको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्न सक्छ ।

कमल थापासँग म झन्नै पचास वर्षदखि सँगसँगै छु । उनको राजनैतिक छवि मैले त्यस बेलादेखि यस बेलासम्म एकोहोरो हेर्दै आएको छु । उनी देश, नरेश र नेपाली जनताबाट कहिल्यै पर गएको मलाई थाहा भएन । यति हो, राजाले गल्ती गरेको कुनै बेहोरालाई उनले सकारेनन् होला । अथवा कुनै घडी राजासँग चित्त दुखाएर उनी केही पर पनि सरे होला । तर राष्ट्रप्रति उनको त्यही कमजोरी होइन । वास्तवमा उनी एक जना दुरदर्शी राजनेता नै हुन् । उनी राजधर्म्भित्रका ज्ञानले भरिपूर्ण व्यक्तित्व पनि हुन् । राजाको राजकाजका छेउ र दलबलको शासनमा बसेर उनले जति ज्ञान, अनुभव र सीप हाँसिल गरे त्यति दक्ष, बौद्धिक र परिमार्जित राजावादी, जनवादी र हिन्दूवादी राजनीतिज्ञ मैले अरू देखेकै छैन भने पनि हुन्छ । मैले थाहा पाएदेखिकै कुरा गर्ने हो भने कमल थापाका मुटुमा सधैं राजसंस्था र हिन्दूधर्म नै प्रमुख रूपमा विराजमान छ । यस बाहेकका सम्झौतामा बरू उनी मर्न तयार हुन्छन् तर विचलित हुँदैनन् । राष्ट्रियताका दृष्टिकोणबाट पनि भन्ने हो भने उनी फलाम जस्तै बलिया छन् । मानौँ उनी हर्कुलस् हुन् ।

हाम्रो राष्ट्रियताको परिवेशमा राष्ट्रनिर्माता श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहको एउटा अर्को मन्त्र थियो( ‘मेरा साना दुस्खले आर्ज्याको मुलुक होइन, यो सबै जातको साझा फूलबारी हो ।’ यस मन्त्रलाई पालन गर्ने राष्ट्रवादी शक्ति अहिले कोही देखिन्छन् त ? विशाल साझा फूलबारी नामक हाम्रो मुलुक अहिले प्रायस्को कोठेबारी भएको छ । साथै सङ्घीयताका नाउँमा पनि यस मुलुकलाई चिरैचिरा पार्ने प्रयास भइरहेको छ ।

आजको यस्तो एकलकाँटे परिस्थिति कहाँबाट आयो ? देशलाई साझा फूलबारीको सट्टा टुक्राटुक्रा पार्नेहरू कताबाट उदाए ? आजको यस्तो कारूणिक अवस्थामा यदि कमल थापाहरूले राजनीतिमा दह्रो खुट्टा टेकिदिएनन् भने भोलिको नेपाल कस्तो होला ? नेताहरूको कर्तुतका कारण आजको खास अवस्थाले राजालाई गुहार मागेको छ कि छैन ? वास्तवमा ‘नेपाली राष्ट्रिय एकताका प्रतीक भन्नु नै राजा हो, राजसंस्था हो ।’ यदि नेपालमा राजसंस्था फर्केन भने हामी विदेशी कब्जामा पर्छौँ र त्यस बेला ‘यस्तो पो भयो’ भनेर हामीले कुनै असजिलो नमाने पनि हुन्छ । त्यसैले राजसंस्था फर्काउने अभियानमा मन, वचन र कर्मले जुटेका कमल थापाको शक्तिको कामना गर्नु परेको हो । किनभने उनको जोडा अरू कोही नेता पनि देखिएका छैनन् । उनैले राजसंस्थाका केन्द्रीय प्रतीक पृथ्वीनारायण शाहलाई निधारमा टाँसेर पाइला चालिरहेका छन् ।

पृथ्वीनारायण शाहलाई नेपाल राष्ट्रका निर्माता मात्र होइन, नेपालको सार्वभौमसत्ता अक्षुण्ण राख्नका लागि जपिने मन्त्र वा दर्शनका रूपमा अङ्गिकार गर्नु पर्दछ । पृथ्वी जयन्तीको सन्देशले हाम्रो राष्ट्रियता सबल बनिरहेको अवस्था छ र पृथ्वी जयन्ती हाम्रो राष्ट्रिय दिवस नै हो । यस दिवसले सबै दलबललाई एकतामा गाँसिन प्रेरित गरोस् । त्यसपछि नै हामी नेपालीको दिग्विजय हुनेछ । साँचो बोल्नु पर्दा नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको जय मनाउनु भनेको हामीले हाम्रै अस्तित्व कायम गर्नु हो र त्यस अस्तित्वभित्र हाम्रै मात्र जय भैरहेको हुन्छ । वास्तवमा विदेशीको गुलामबाट मुक्त हुन हामीले पृथ्वीनारायण शाहलाई नै शिरमा बोक्नु पर्छ, राजसंस्थाको आगमनका लागि पहल गर्नु पर्छ र राष्ट्रियताका लागि राजसंस्था भन्ने मन्त्र रट्नु पर्छ ।
‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

Advertisement