प्रतिनिधिसभा बैठक बस्दै, सभामुख चयन आज पनि असंभव

२०७६ पुस २७ आइतवार
Newsdesk Shikharnews

काठमाडौं। प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूची नै बन्न सकेको छैन्। सभामुख निर्वाचनको कार्यतालिका तयारी भए पनि बैठक बस्नेबारेमा नै अन्योल देखिएको छ। यतिवेला सम्म उपसभामुखले राजिनामा दिइसकेको छैन। नेकपासँग बहुमत भएको कारण सभामुखमा उसको दावी निश्चित छ। त्यसो त उपसभामुखको राजिनामा नआउदा सभामुख चयनको प्रकिया अगाडि बढ्न नसक्ने स्पस्ट छ ।

यसअघि दुईपटकसम्म सभामुख चयन गर्ने गरी कार्यतालिका तय गरिएको थियो। तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले सभामुखको उम्मेदवार टुंगो लगाउन नसकेपछि पुस ११ र १६ गते बोलाइएको संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसकेपछि सभामुख चयन प्रक्रियामा अन्योलता छाएकोछ।

सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक प्रावधान छ। नेकपा सचिवालयको हिजा बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरिसकेको छ। तर, उनको राजीनामा भने आइसकेको छैन।

उनको राजीनामा नआएकाले आजको बैठक उनले नै संचालन गर्ने सम्भावना छ। बैठक चले सभामुखको चुनावी प्रक्रिया उनले नै सुरु गर्नेछिन्। सभामुखको चुनावी प्रक्रिया सुरु भए संविधानको व्यवस्थाअनुसार नेकपाले सभामुखमा उम्मेदवार दिन पाउने छैन।