इरानमा प्रदर्शन चर्किँदै, सर्वोच्च नेताविरुद्ध पनि नाराबाजी

२०७६ पुस २८ सोमवार
Newsdesk Shikharnews

बीबीसी। राजधानी तेहरान तथा इरानका अन्य विभिन्न सहरमा गए आइतवार राति पनि सरकारविरोधी प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले सर्वोच्च नेता आयतूला अली खामनेईको विरोधमा नारा लगाए।

तेहरानमा प्रदर्शनकारीहरूले गत हप्ता अमेरिकी हवाई आक्रमणमा मारिएका सैन्य नेता कासिम सुलेमानीका तस्बिर पनि च्यातेका छन्।

एक सय ७६ जनाको ज्यान जानेगरी तेहरानमा भएको विमान दुर्घटनाबारे सरकारले झुट बोलेको भन्दै विरोध सुरु भएको हो।

प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयासमा अश्रुग्यास प्रहार गर्‍यो। कैयौँ व्यक्ति पक्राउ परेका छन्।

इरानी नागरिकसहित विभिन्न देशका यात्रु चढेको युक्रेनी विमान इरानी क्षेप्यास्त्र प्रहारका कारण भुइँमा खसेको थियो। पहिला क्षेप्यास्त्र प्रहार नभएको दाबी गरेको भए पनि शनिवार इरानी सेनाले “मानवीय त्रुटिका कारण“ त्यसो हुन गएको स्वीकारेको थियो।

इरानको रेभलूशनरी गार्ड्स कोरका प्रमुख हुसेन सलामीले संसद्‌मा बोल्दै विमान खसालिनु अनुचित भए पनि त्यो घटना भइसकेको टिप्पणी गरेका छन्।

“ईश्वर साक्षी छन्। यो दुस्खद घटना झेल्नुभन्दा म त्यो विमानमा रहन र उनीहरूसँगै जल्न चाहन्छु,“ उनले भने।

ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि प्रदर्शनकारीहरू विरोध कार्यक्रममा सहभागी भएका थिए। सडकमा दङ्गा प्रहरीका साथै मोटरसाइकलमा रेभलूशनरी गार्ड्सका सैनिक खटिएका छन्।

सुरक्षाकर्मीहरूलाई सादा पोसाकमा पनि परिचालित छन्।

सामाजिक सञ्जालमा प्रेषित भिडिओमा प्रदर्शनकारीहरूले सरकारविरोधी नारा लगाइरहेका छन्। उनीहरूको भनाइ छस् “अमेरिका हाम्रो शत्रु हो भनेर उनीहरूले झुट बोलिरहेका छन्। हाम्रो शत्रु हाम्रै अघि छ।“

प्रदर्शनकारीमा महिलाको उल्लेख्य सहभागिता छ।

इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो।

तेहरानबाट किएभ हुँदै टोरन्टोका लागि उडेको युक्रेन इन्टर्न्याश्नल एअरलाइन्सको विमान ७५२ मा अधिकांश यात्रु इरान र क्यानडाका थिए। मृतकमध्ये १५ जना बालबालिका थिए।

ज्यानुअरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा इरानका सैन्य नेता कासिम सुलेमानी मारिएपछि इरानले अमेरिकाविरुद्ध प्रतीकात्मक कारबाही गरेको थियो।

सुरुमा दुईवटा विश्वविद्यालयका विद्यार्थीहरू मृतकप्रति सम्मान प्रकट गर्न भेला भएको बताइएको छ।

सरकारी फार्स समाचारसंस्थाले प्रदर्शनबारे समाचार सम्प्रेषण गरेको थियो। समचारमा झन्डै एक हजार प्रदर्शनकारीले नेताहरूविरुद्ध नाराबाजी गरेको र सुलेमानीको तस्बिर च्यातेको बताइएको छ।

विद्यार्थीहरूले विमानमा क्षेप्यास्त्र प्रहार गर्ने व्यक्ति र उक्त घटना लुकाउनेमाथि मुद्दा चलाइनुपर्ने माग गरेका छन्।

नाराबाजीका क्रममा उनीहरूले इरानका सर्वोच्च नेता आयतूला अलि खामनेईतर्फ लक्षित हुँदै “मुख्य कमान्डर राजीनामा गर“ र “झुटो बोल्नेहरूलाई मृत्यु“ भन्दै नाराबाजी गरेका थिए।

फार्सका अनुसार सडक अवरुद्ध पारेका प्रदर्शनकारीहरूलाई प्रहरीले तितरबितर पारेको थियो। सामाजिक सञ्जालमा अश्रुग्यास प्रहार गरिएको भिडिओ देखिएको छ।

सरकारको कदमले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई क्रुद्ध बनाएको छ।

एक जना प्रयोगकर्ताले लेखेका छन्, “म मेरा देशका निकाय, घटनास्थलमा भएका र झुटो बोलेकाहरूलाई कहिले पनि क्षमा गर्नेछैन।“

सुलेमानी मारिएपछि भएका प्रदर्शनका तुलनामा भने यी प्रदर्शनहरू साना छन्।

सुलेमानीको शवयात्रामा दशौँ लाख मानिसहरू सहभागी भएका थिए।

फ्लाइटरेडार वेबसाइटका अनुसार विमान दुर्घटना भएको बेलामा तेहरान विमान भिजिबिलिटी अर्थात् दृश्यता राम्रो थियो। विमानको चालकदलमा अनुभवी व्यक्तिहरू भएको विमानसेवाले बताएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूको अनुमानअनुसार विमान दुर्घटनाको समयलाई विचार गर्दा इरानले प्रत्याक्रमणस्वरूप हुन सक्ने सम्भावित क्षेप्यास्त्र प्रहारका लागि तयारी गर्दै गर्दा उक्त विमानलाई अमेरिकी लडाकु विमान भनेर झुक्किएको हुन सक्छ।

तेहरानबाट किएभ हुँदै टोरन्टोका लागि उडेको युक्रेन इन्टर्न्याश्नल एअरलाइन्सको विमानमा अधिकांश यात्रु इरान र क्यानडाका थिए।

दुर्घटना भएपछि तेहरानस्थित युक्रेनी दूतावासले पहिला विमानको इन्जिनमा समस्या देखिएको बताएको थियो।

तर छानबिन हुनुभन्दा अघि विमान दुर्घटनाको कारणबारे व्यक्त टिप्पणी आधिकारिक नभएको भन्दै उसले त्यो भनाइ फिर्ता लियो।

इरानले दुर्घटनाको विस्तृत अनुसन्धान गरिने वचन दिएको छ।

इरानका राष्ट्रपति हसन रूहानीले सेनाको आन्तरिक छानबिनमा “मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले युक्रेनी विमानको दुर्घटना गराएको र १७६ जना निर्दोष मानिसको मृत्यु भएको“ निष्कर्ष निस्किएको जनाएका थिए।

उक्त घटनालाई “ठूलो विपत्ति र अक्षम्य गल्ती“ भन्दै उनले कसले त्यसो गर्‍यो त्यो पत्ता लगाउन र कारबाही गर्न अनुसन्धान भइरहेको शनिवार ट्विटरमा लेखे।

तर टेलिभिजनमा प्रसारित दृश्यमा दुर्घटनास्थलमा भग्नावशेष हटाउन उपकरणहरू प्रयोग गरेर खनिएको देखिएको थियो।

त्यसो गर्दा महत्त्वपूर्ण प्रमाण दुर्घटनास्थलबाट हटाएको हुन सक्ने शङ्का उत्पन्न भएको थियो।

इरानका एक सैन्य नेता कासिम सुलेमानी अमेरिकी हवाई कारबाहीमा मारिएपछि बढेको तनावका बीच इरानले उक्त विमानको ब्ल्याकबक्स अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई नदिने बताएको थियो।

तर एक इरानी अधिकारीले रोएटर्स समाचारसंस्थासँग कुरा गर्दै विमान दुर्घटनासम्बन्धी अनुसन्धानमा सहभागी हुन अमेरिकालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको शुक्रवार बताए।

अमेरिकी राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (एनटीएसबी) ले आफूले आफ्नो तर्फबाट एक अनुसन्धानकर्ता नियुक्त गरिएको पुष्टि गरेको छ।

बोइङले आफूले एनटीएसबीको अनुसन्धानलाई सघाउने बताएको छ, र क्यानडाको यातायात सुरक्षा बोर्डले पनि आफूलाई तेहरानले दुर्घटनास्थलको अवलोकनका लागि बोलाएको जनाएको छ।

विश्वव्यापी उड्डयन नियमानुसार कुनै पनि अनुसन्धानको नेतृत्व गर्ने अधिकार इरानको हो, तर सामान्यतया विमान निर्मातापनि अनुसन्धानमा संलग्न हुन्छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दुर्घटनाको अन्तर्रा्ष्ट्रिय कानुनबमोजिम पूर्ण र स्वतन्त्र छानबिन हुने घोषणा गर्दै सहकार्य बढाउन आफूले इरानी नेताहरूसँग कुरा गर्ने बताएका थिए।

क्यानडाका प्रधानमन्त्रीले पनि छानबिनमा आफ्नो देश सहभागी हुने अपेक्षा व्यक्त गर्दै प्राविधिक सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका थिए।