कोरोना आशंकित अरु ३ जना अस्पतालमा

२०७६ माघ १२ आइतवार
Newsdesk Shikharnews

काठमाडौं, १२ माघ । चीनबाट फर्किएका एक नेपालीमा नोवल कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै थप तीनजनामा त्यसको आशंका गरिएको छ। कोरोना भाइरसको संक्रमणको आशंकामा दुईजनालाई शुक्रबार काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ। कोरोनाकै आशंकामा अर्का एकजना निजी अस्पतालमा भर्ना भएका छन्। उनीहरूको नाम खुलाइएको छैन।

रुघाखोकी र श्वासप्रश्वासमा समस्या अएपछि पुस २८ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका एक बिरामीको खकार र रगतको नमुना परीक्षणमा कोरोना भाइरस रहेको पुष्टि भएको थियो। चीनको वुहानबाट फर्किएका जनकपुरका ३५ वर्षीय ती युवक अस्पतालबाट डिस्चार्ज भए पनि चिकित्सकको नियमित निगरानीमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। वासुदेव पाण्डेले बताए। संक्रमण पुष्टि भएकै बिरामीमा जस्तो लक्षण देखिएका २८ वर्षीय एक युवक शुक्रबार शुक्रराज आइसोलेसन वार्डमा भर्ना भएका हुन्। अस्पताल स्रोतका अनुसार हङकङबाट आएका ती युवकको खकार र रगतको नमुना परीक्षणका लागि हङकङ पठाउने तयारी भइरहेको छ।

त्यस्तै ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पतालबाट शुक्रराजमा रेफर गरिएका एक बिरामी पनि भर्ना भएको सरुवा रोग अस्पताल स्रोतको भनाइ छ। एक निजी अस्पतालमा पनि कोरोना भाइरस संक्रमण भएको आशंकामा एकजना भर्ना भएको जानकारी प्राप्त भएको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी बताउँछन्। नागरिक दैनिकबाट

Advertisement