आलेख : ब्यूँतिदै मध्यपुरथिमिका पुराना पोखरीहरु

२०७६ माघ १२ आइतवार
Newsdesk Shikharnews

– सविना केसी
मध्यपुरथिमि, १२ माघ (रासस) : मध्यपुरथिमि नगरपालिकाभित्र पुरिएका, अरुका नाममा गएका र घाँसे मैदनमा परिणत भएका ऐतिहासिक एवं पुरातात्विक महत्वका पोखरीहरुले पुनःजीवन पाउन थालेका छन् । नगरपालिकाले हरेक वर्ष बजेटमै समावेश गरेर भग्नावशेषमा परिणत भएका र लोप हुन लागेका सम्पदा बचाउने अभियान थालेका कारण त्यस्ता पोखरीे पुरानै स्वरुपमा फर्कंदै छन् ।
मध्यपुरथिमि नगरपालिकाकाका प्रमुख मदन सुुन्दर श्रेष्ठले सोधखोज गर्ने जनप्रतिनिधि नभएर हराउँदै गएका, पुरिएका र खेल मैदानमा परिणत भएका ऐतिहासिक पोखरीहरुको नगरपालिकाले संरक्षण थालेको बताउनुभयो । मध्यपुरथिमि–८ बाडेमा रहेको सयौं वर्ष पुरानो पलेस्वाँ पुखुः (कमल पोखरी) को नगरपालिकाले पुनःनिर्माण कार्य शुरू गरेको हो । पलेस्वाँ पुखुःको सिमाङ्कन गर्ने, पर्खाल निर्माण गर्ने कार्यसँगै आउँदो बिस्केट जात्रामा पानी भर्ने मिल्ने गरी बनाइँदै छ र यसका लागि नगरपालिकाले यस वर्ष १ करोड बजेट छुटाएको छ ।
विसं २०३५ पछि कान्छी पोडेनीको नाममा पोखरीको १५ रोपनी ९ आना क्षेत्रफल जग्गा दर्ता भई विभिन्न व्यक्तिको नाममा बिक्री हुँदै आएको उक्त ऐतिहासिक पोखरीलाई सार्वजनिक पोखरीको रूपमा कायम गर्ने फैसला जिल्ला अदालत भक्तपुरले २०७५ असार २० मा गरेको थियो । नगरपालिकाले उक्त पोखरीको संरक्षण तथा पुनःनिर्माणका लागि करीब ८ करोड लागतको गुरुयोजना बनाएको छ । पोखरीको चारैतिर प्रातःकालीन पदयात्रा गर्न मिल्ने मार्गको निर्माण गरिने छ भने पोखरीको बीचमा कमलको फूलको प्रतिमा तथा महादेवको मन्दिर राखिने छन् । पोखरीमा कमलका फूलहरु फुलाउने, शौचालय, बोटिङ स्थल बनाउने लगायतका योजना गुरुयोजनामा राखिएका छन् ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्वको पोखरीलाई नगरपालिकाले मौलिक स्वरूपमा पुनःनिर्माण गर्ने गुरुयोजनामा उल्लेख छ । यो कमल पोखरीको फूल र जल लगेर नजीकै रहेको नीलबाराही मन्दिरमा चढाउने वर्षौ पहिलेको परम्परा समेत पोखरी किनबेच पछि रोकिएको थियो । अब त्यो परम्परालाई पनि ब्यूँताइने नगर प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।
त्यसैगरी वर्षौंदेखि पुरिएर खेल मैदान र फोहर फाल्ने थलोको रुपमा परिणत भएको मध्यपुरथिमि नगरपालिका–४ इन्द्रायणी पीठमा रहेको प्रसिद्ध धार्मिक एवं मल्लकालीन विष्णुकुण्डको जीर्णोद्धार नगरपालिकाले सम्पन्न गरेको छ । विसं २०७४ चैतमा यस पोखरीको जीर्णोद्धार गर्न शुरु गरिएको थियो । रु एक करोडको लागतमा जीर्णोद्धार सम्पन्न गरिएपछि नगर प्रमुख श्रेष्ठले पोखरीमा पौडी खेलेर उद्घाटन समेत गर्नुभएको थियो ।
थिमिका युवाले विष्णुकुण्ड पोखरीको सरसफाइ एवं जीर्णोद्धार गर्न श्रम शिविर समिति नै निर्माण गरेका थिए । पोखरीलाई अहिले मल्लकालीन स्वरुपमै फर्काएपछि यो क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बन्दै गएको छ । मल्लकालमा निर्माण भएको भनिएको उक्त पोखरीको सरसफाइ एवं संरक्षण नहुँदा पोखरी पुरिनाका साथै विभिन्न झारले जेलिएको थियो । स्थानीय युवाले पोखरीको झार हटाउने, पुरिएको पोखरी सफा गर्ने कार्य गरेका थिए । त्यसपछि नगरपालिकाले पोखरीमा जाने खुट्किला निर्माण ग¥यो । भत्किएको पर्खालको दाची अप्पा, माँ अप्पा लगायतका पुराना इँटाको प्रयोग गरेर यसलाई पुरानै स्वरुपमा ल्याउने काम भयो ।
यस कुण्डमा गठेमंगल अर्थात् घण्टा कर्णका दिन बिहान स्नान गरेमा विषम ज्वरो निको हुने तथा बालबालिकालाई स्नान गराए रुञ्चेपना हराउने जनविश्वास रहेको छ । विगतमा मध्यपुरथिमिको पौडी खेल्ने र पौडी सिक्ने यो कुण्ड अहिले ६ फिट गहिरो छ ।
त्यसैगरी, थिमिका बासिन्दाको खेल मैदान बन्न पुगेको मध्यपुरथिमि नगरपालिका–४ मा रहेको ‘निगू पुखुः’ अथवा दुई पोखरीमध्ये एउटा पोखरी अहिले पानीले भरिएको छ । नगरपालिकाले अर्को पोखरीको पनि जीर्णोद्धार शुरु गरिसकेको छ । धेरै वर्षसम्म झार र घाँसले ढोकेका यी पोखरी सरसफाइपछि धेरै वर्षसम्म स्थानीयवासीले धान सुकाउने र अरु समयमा केटाकेटी खेल्ने मैदानको रूपमा प्रयोग हुँदै आएका थिए । अहिले दुई पोखरीले पुनःजीवन पाएसँगै यहाँको मुहार फेरिएको छ । स्थानीयवासीले यो पोखरीको नेवारी नामसमेत भुलिसकेका थिए र यो ठाउँ दुई पोखरीको नामले चिनिन थालिसकेको थियो । विसं २०७६ वैशाख १ गतेका लागि भन्दै नगरपालिकाले दक्षिणतर्फको पोखरी जीर्णोद्धार गरेर पानी भरे पछि ३०० वर्ष पुरानो ऐतिहासिक यो पोखरीले पुनःजीवन पाएको नगरप्रमुख श्रेष्ठ बताउनुहुन्छ । करीब ३०० वर्ष पहिले गङ्गा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुरथिमिवासीलाई पानीको स्रोत उपलब्ध गराइदिएको जनश्रुति छ । अब अर्को पोखरी पनि आउँदो बिस्केट जात्रासम्म जीर्णोद्धार सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । नगर प्रमुख श्रेष्ठका अनुसार नगरपालिकाले दुई पोखरी पुनःनिर्माणका लागि रु १५ करोडको लागत अनुमान तयार गरेको थियो । दुई पोखरीको मल्लकालीन शैलीमा जीर्णोद्धार, पोखरी परिक्रमा गर्न मिल्ने गरी पैदलमार्ग, आठ वटा परम्परागत फल्चा अथवा पाटी समेत निर्माण गर्ने नगरपालिकाको लक्ष्य छ ।
स्थानीयवासीका अनुसार राजा महेन्द्र विसं २०१५ मा भक्तपुर आउँदा राजालाई स्वागत गर्न दुई पोखरीको पानी निकालेर मैदान बनाएदेखि पोखरी मैदानमा परिणत भएको हो । विसं २०६५ मा नगरपालिकाले फलामे बार लगाएर संरक्षणको प्रयास गरेको थियो । स्थानीयवासीका लागि पानीको स्रोत र कतै आगलागी भएमा सोही पोखरीको पानी प्रयोग गर्न मिल्ने गरी ठूला दुई वटा पोखरी बनाइएको स्थानीयवासी विश्वास गर्छन् । पोखरी जीर्णोद्धार गर्दा पानी नसुकोस् भनेर पोखरी निर्माणको क्रममा पिँधमा कालोमाटो ६ इञ्च, त्यसमाथि तीन इञ्च पाँगोमाटो र त्यसमाथि फेरि ६ इञ्च कालोमाटो राखेर त्यसमाथि इँटा ओछ्याइएको छ । परम्परागत शैलीमा डाँची अप्पा, मा अप्पा इँटाको प्रयोग गरी पोखरी पुनःनिर्माण गरिएको छ ।
निगू पुखुः संरक्षणमा नगरपालिकाले आव २०७५÷७६ मा रु ६० लाख खर्चेको थियो भने उत्तरतर्फको ठूलो पोखरीको संरक्षण एवं पुनःनिर्माणका लागि चालु आव २०७६÷७७ मा रु एक करोड २५ लाख बजेट विनियोजन गरेको छ । दक्षिणतर्फको पोखरीभन्दा दुई गुणा ठूलो रहेको उत्तरतर्फको पोखरी संरक्षण एवं जीर्णोद्वारका लागि बागमती प्रदेश सरकारले थप रु ४५ लाख बजेट विनियोजन गरेको छ ।
ठूलो पोखरीमा पुनःनिर्माण सम्पन्न गरेर पानी भरेपछि डुङ्गा चलाउने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यको रुपमा विकास गर्ने सोच राखिएको छ । आकाशे पानीलाई प्रशोधन गरी दुई पोखरीमा पानी भर्ने नगरपालिकाको योजना छ । मध्यपुरथिमि इनाय टोलको राजगणेशदेखि दिगु भैरवसम्मको पानी जम्मा गरी प्रशोधन गरेपछि मात्र पोखरीमा खसाल्ने काम हुन्छ ।

Advertisement