राजपाले सरकारलाई समर्थन गर्ला ?

२०७६ माघ १४ मंगलवार
NewsDesk ShikharNews

काठमाडौं। राष्ट्रिय जनता पार्टी राजपाले आफ्ना मागका विषयमा सरकार सकारात्मक भए सरकारलाई समर्थन गर्ने संकेत गरेको  छ। मंगलबारको प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित प्रतिनिधिसभा सभामुखलाई सफल कार्यकालको शुभकामना दिदै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता महेन्द्र राय यादवले सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वनय गर्न तयार भए समर्थन जनाउन सकिने बताएका हुन्। उनले सहमति कार्यान्वयनमा सत्तारुढ दल सकारात्मक नदेखिएपछि समर्थन फिर्ता लिनुपरेकाले संविधान संशोधन लगायतका मुद्धामा आफूहरु स्पष्ट भएको बता।

संविधान संशोधन, रेशम चौधरीलगायत थारुहट र मधेश आन्दोलनकारीमाथि लगाइएको झुठा मुद्धा फिर्ता लिन सरकार तयार भए सरकारलाई पुनः समर्थन गर्न सकिने उनले बता। उनले भने,  ‘संविधानका राम्रो पक्षलाई संस्थागत गर्न  र पूर्णता दिनका लागि हामीले संशोधनको माग राखेका हौँ। सरकारले संविधान संशोधनको प्रकृया अगाडि बढाउनुपर्यो। राजापा मुद्दाको पार्टी हो। सरकारको पार्टी होइन् । सरकारले जति भन्छ त्यति दिनका लागि समर्थन दिन्छौँ । सरकारले हाम्रा मागहरु पुरा गरोस रेशम चौधरी लगायतलाई रिहाइ गरोस सरकारलाई समर्थन गर्न तयार छौँ।’

अहिलेकै अवस्थामा सरकारमा सहभागी हुने सम्भावना न्यून रहेको भएपनि संघीयता मजबुद पार्ने र गणतन्त्रलाई बलियो बनाउनका लागि सरकारले पार्टीले उठाएका मुद्दाहरु गम्भिर रुपमा लिए समर्थन गर्न सकिने उनले बताए।

सांसद यादवले सरकारलाई उपसभामुखका विषयमा पनि प्रष्ट हुन आग्रह गरेका छन्। आफ्नो पार्टीले सरकारसँग उपसभामुख नमागेको तर कहिले कांग्रेसलाई दिने त कहिले राजपालाई दिने भन्ने कुराहरु बाहिर आएको भन्दै यो विषयमा सरकार प्रष्ट हुनुपर्ने उनले बताए।
‘सरकारसँग हामीले उपसभामुख मागेका छैनौँ। उसले कसरी दिन्छ। राष्ट्रिय जनता पार्टीलाई दिने नदिने के हो सरकारले स्पष्ट पारोस,’ उनले भने।
सीमा समस्या समाधानका लागि सबै राजनीतिक दलहरु एक हुँदा पनि सरकार अगाडि नबढेको आरोप उनले लगाए।