पुष्पलाल पत्रकारिता’ पुरस्कार पत्रकार श्रेष्ठलार्ई प्रदान गर्ने

२०७६ माघ २२ बुधवार
Newsdesk Shikharnews

पाल्पा, २२ माघ स् तानसेन नगरपालिकाद्वारा स्थापित पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।

तानसेन नगरपालिकाले पुष्पलालको जन्मदिनका अवसरमा २०७७ साल असार १४ गते प्रदान गर्ने उक्त पुरस्कारको राशि रु एक लाख एघार हजार १११ रहेको छ ।

वरिष्ठ पत्रकार दिल साहनीको संयोजकत्वमा गठित सिफारिस समितिले पुष्पलालका समकालीन, राष्ट्रियता र देशभक्तिका मुद्दामा सदैव पत्रकारिताका माध्यमबाट लेखन कार्यलाई निरन्तरता प्रदान गर्नुहुने वरिष्ठ पत्रकार श्रेष्ठलाई पुरस्कारका लागि सिफारिस गर्ने निर्णय गरिएको हो ।

हिरण्यलाल श्रेष्ठ डेली डायरी साप्ताहिक, रातो युगधारा साप्ताहिक र जनजागृति साप्ताहिकका प्रधान सम्पादक छन् । उनले जनजागृतिमा सम्पादकीय लेखेकै निहुँमा तीन वर्ष जेल जीवन बिताउन बाध्य भएका थिए।

तानसेन नगरपालिकाले नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व पुष्पलालको नाममा पत्रकारिकता पुरस्कार स्थापनाका लागि पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारको कोषसमेत निर्माण गरेको छ ।

कोषका संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ, सहसंयोजकमा प्रेस काउन्सिलका नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र कोषको संरक्षकमा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही रहेका थिए । पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक थिए ।रासस