फिल्म समीक्षा : सेल्फी किंङको सतही संवेदना

२०७६ माघ २६ आइतवार
Newsdesk Shikharnews

काठमाडौँ, २६ माघ । फिल्म होस् वा टेलिभिजन, जताततै हाँस्यकलाकारको जगजगी छ । चकलेटी र एक्सन हिरोहरुसमेत ओझेलमा परेका छन् । तर, हरबखत हँसाउने कलाकारको अन्तरवेदना ख्यालै गरिन्नँ । टेलर सार्वजनिक भएसँगै ‘सेल्फी किङ’ले कलाकारको यही पाटोलाई मानवीय कोणबाट पोख्ने अपेक्षा गरिएको थियो ।

यो फिल्मको केन्द्रमा अनेक पीडामा रुमल्लिरहेका हाँस्यकलाकार छन् । तर, लेखकरनिर्देशक विशाल सापकोटाले मूल पात्रको भोगाईलाई संवेदनशील र सापेक्ष शैलीमा पस्कन नसक्दा ‘हाँसोभित्रको रोदन’अनुभूत हुन्न । कतै संवेदनाको प्रस्तुति हल्का छ, कतै अतिरञ्जित परिस्थिति निर्माण गरिएको छ । ट्रेलरबाट जे कथा अनुमान गर्न सकिन्छ, फिल्ममा त्योभन्दा विशेष केही छैन । हास्यकलाकारितामा सेल्फी किङु उर्फ गोपाल (विपिन कार्की) ले खुब लोकप्रियता कमाएका छन् । सोलुको सल्लेरीमा स्टेज कार्यक्रम जानुपर्ने अघिल्लो दिन उनका बुबालाई अस्पतालमा भर्ना गर्नुपर्छ । पैसाको आवश्यकता र कलाप्रतिको इमानदारिताले बिरामी बाबुलाई छोडेर सल्लेरी जान तयार हुन्छन् । आयोजकको हवाई यात्राको व्यवस्था गरिदिँदैन, बाटोमा अनेक सास्ती झेल्नुपर्छ । जब उनको कमेडी हेर्न सयौं भेला भएका हुन्छन्, त्यहीबेला गोपालमाथि बज्रपात आइलाग्छ । दर्शक हँसाएर कलाकारका रुपमा आफ्नो दायीत्व पूरा गर्न गोपाल सक्षम होलान् रु उनले पाइला–पाइलामा बेहोर्ने संकटको फेहरिस्त हो फिल्म ।

कथाको विकासक्रममात्र होइन, क्लाइमेक्समा पनि खास नवीनता भेटिन्न । नेपाली फिल्मको आमसमस्या हो, पात्रलाई दर्शकले आत्मसाथ गर्न नसक्नु । सोही कारण न पात्रको खुशीमा दर्शक रमाउन सक्छन्, न त दुखले छुन्छ । चरित्र स्थापित विश्वसनीय नहुँदाको परिणाम हो यो । ‘सेल्फी किङ’यसबाट रत्तिभर अलग छैन । गोपाललाई असाध्यै चर्चित कलाकारझैं प्रस्तुत गरिएको छ, देख्ने जति हरेकले उनलाई चिन्छन् तर उनी कुन माध्यमबाट कसरी यतिविघ्न लोकप्रिय भए भन्नेचाहिँ पूरै वेवास्ता गरिएको छ । आमाबुबाले टेलिभिजनमा हेरेको केही फुटेजबाहेक गोपालको हाँस्यकारिता कतै देख्न पाइन्न । आजकल हल्काफुल्का हिट हुनासाथ मिडियाले घेरिहाल्छन् तर उनीचाहिँ एउटा साप्ताहिक पत्रिकाको पत्रकारले बकम्फुसे प्रश्न सोध्दा पनि दंग पर्छन् । पत्रकारको बोलीचाली उस्तै अस्वभाविक लाग्छ ।
कान्तिपुर दैनिकबाट