पुरानो नेपालको जीवन्त चित्र भेटिन्छ पोखरा सङ्ग्रहालयमा

२०७६ माघ २६ आइतवार
Newsdesk Shikharnews

–जमुना वर्षा शर्मा
रातो माटोले लिपेको र खरले छाएको चिटिक्क परेको घुमाउने घर । घरभित्र यसो चियाउँदा अँगेनामा आगो सज्दै गरेकी एक महिला देखिन्छिन् । घरको पिँढीमा झुण्ड्याइएको बच्चा सुताउने कोक्रो हल्लाइरहेकी छिन् एक सानी बालिका । बाहिरै पिँढीमा पिर्के गुन्द्रीमा बसेर रेडियो सुन्दै एक पुरुष हुक्का तानिरहेका छन् ।

यस्ता जीवन्त लाग्ने दृश्यले उहिलेको भन्दा अहिलेको पुस्तालाई बढी आकर्षित गरेको पाइन्छ । हाम्रा अग्रज एवं पूर्खाहरु जन्मिएको, बाँचेको र हुर्के बढेको संस्कृतिलाई चिनारीका रुपमा सजाएर राखिएको छ पोखराको नयाँबजारमा रहेको गण्डकी प्रदेश सङ्ग्रहालयमा । जहाँ पुरानो नेपालको जीवन्त चित्र भेटिन्छ ।

सङ्ग्रहालयको ढोकाबाट भित्र छिरेपछि देखिने यी दृश्यले एउटा समयको परिवेशलाई मानसपटलमा ल्याइदिन्छ । हाम्रा अग्रज एवं पुर्खा हुर्के बढेको र हाम्रो समाजको चित्रण त्यहाँ सङ्ग्रहित सामग्रीले गरिदिन्छन् । उहिलेको समाज बुझ्न अहिलेको पुस्तालाई सजिलो बनाइदिएको छ सङ्ग्रहालयले ।

यहाँ तत्कालीन समयमा खेतबारीमा प्रयोग हुने कृषिसम्बन्धी औजार, खाना पकाउन र खान प्रयोग गरिने भाँडावर्तन, विभिन्न चाडबाडका समयमा र विविध सांस्कृतिक अवसर तथा पर्वमा प्रयोग हुने लत्ताकपडा एवं सामग्रीहरु यहाँ राखिएका छन् ।

शिकार खेल्दा प्रयोग हुने सामग्री उक्त सङ्ग्रहालयमा सङ्ग्रहित छन् । युद्ध लड्न जाँदा प्रयोग भएका ढाल, तरबार, धनुष, मट्याङ्ग्रा र खुँडाले परम्परागत हातहतियारका बारेमा ज्ञान दिलाउँछ । माटोका वर्षौं पुराना भाँडा बडो राम्रोसँग यहाँ सजाएर राखिएको छ । मुस्ताङ जिल्लाका गुफाहरुमा भेटिएका थिए ती भाँडाहरु । ती सामग्री पुरातात्विक वस्तुहरुका रुपमा संरक्षित छन् । त्यसैगरी विवाह उत्सवका प्रमुख आकर्षण मानिने पञ्चेबाजालाई पनि बडो आर्कषकरुपमा सजाइएको छ । यसरी विभिन्न संस्कृतिको सांस्कृतिक विविधता त्यहाँ देख्न सकिन्छ ।

नेपाल आफैँमा बहुजाति, बहुभाषी, बहुधार्मिक मुलुक हो । विविधताबीचको अनेकता नै नेपालको पहिचान हो । यी विविध पक्षको सम्मिश्रण सङ्ग्रहालयभित्र देख्न सकिन्छ । ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, दुरा, नेवार, थकाली लगायतको सांस्कृतिक वेषभूषा एवं हिमाली भेगमा बसोबास गर्ने नेपालीको दिनचर्यासँग जोडिएका विविध पक्षको यहाँ अवलोकन गर्न सकिन्छ ।

सङ्ग्रहालय अवलोकनका लागि आएका पोखरा स्पाइरल ग्यालेक्सि एकेडेमीमा कक्षा ५ मा अध्ययनरत छात्र संस्कार भट्टराइले सङ्ग्रहालयको अवलोकनले धरै मौलिकता र परम्पराका बारेमा जान्न पाएकामा खुशी व्यक्त गरे । उनले भने, “मलाई घुमाउने घर साह्रै मनप¥यो । पुराना मान्छेले कस्तो लुगा लगाउने रहेछन्, कस्तो भाँडामा खाने रहेछन् अनि कस्तो घरमा बस्ने रहेछन् भन्ने सबै कुराभित्र हेरपछि थाहा पाएँ ।”

त्यसैगरी सोही विद्यालयकी अर्की छात्रा ममता रानाले सङ्ग्रहालय अवलोकनबाट जन्मेदेखि मृत्यु संस्कारसम्मका विभिन्न दृश्य सामग्रीबाट धेरै कुरा जान्न पाएको बताइन् । उनले आजकाल देख्न नपाइने ढिँकी जाँतो र पुर्खाहरुले प्रयोग गर्ने भाँडावर्तन तथा औजारहरु, गरगहना सबै देखियो, यसले हाम्रो पुरानो संस्कारका बारेमा जान्ने अवसर दिलायो ।

विद्यालयमा सामाजिक शिक्षा विषयका शिक्षक अस्मिता खनालले विद्यार्र्थी सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञानका लागि सङ्ग्रहालय अवलोकनमा उपयुक्त स्थल भएको प्रतिक्रिया दिनुभयो । क्लेप्री र वोन्पोलाम गुरुङ (तमु) समुदायका पुरोहितमार्फत धार्मिक पूजा तथा जन्मदेखि मृत्युसम्मका कर्म संस्कार प्रयोग गर्ने सामग्रीले पनि सांस्कृतिक विविधताका विभिन्न नमूना सङ्ग्रहालयभित्र पाएको खनालले बताउनुभयो ।

संस्कृतिकर्मी तुलसी प्रभासले उक्त सङ्ग्रहालयभित्र सङ्ग्रहित सामग्रीको अवलोकनले पुस्तक अध्ययन गरेर हासिल गर्न नसकिने ज्ञान देखेर लिन सकिने बताउनुहुन्छ । “सङ्ग्रहालयभित्र सङ्ग्रहित सामग्रीले तत्कालीन परिवेशको संस्कार र संस्कृतिको उजागार गर्दछ, जुन अध्ययन गर्न चाहानेका लागि उपयुुक्त विश्वविद्यालय हुनसक्छ ।”

उहाँले गण्डकी प्रदेशमा ५० भन्दाबढी जातजाति रहेको र प्रदेश सङ्ग्रहालय भएपछि सबैको सांस्कृतिक पहिचानलाई सङ्ग्रह गरेर राख्न आवश्यक रहेको बताउनुभयो । लोपोन्मुख संस्कृतिको संरक्षणका लागि संस्कृति सङ्ग्रहालय महत्वपूर्र्ण थलो भएको उहाँको भनाइ छ ।

पछिल्लो समय सबै विषयमा आधुनिकताको पछि लागेको नेपाली समाजमा सङ्ग्रहित सामग्री नयाँ पुस्तालाई देखाउनुपर्ने सनातन हिन्दूधर्म सेवा समितिका अध्यक्ष रवीन्द्र माकाजु बताउनुहुन्छ । “संस्कार संस्कृति सभ्यताका प्रतिक हुन्, सङ्ग्रहालयमा सङ्ग्रहित वस्तुलाई विद्यालय एवं क्याम्पसका छात्रछात्रालाई बेलाबेलामा अवलोकन गराएर संस्कृतिको बोध गराउन सकिन्छ”, उहाँले भन्नुभयो ।

उक्त सङ्ग्रहालयमा गण्डकी प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिका दैनिक जीवनशैली, वेषभूषा, गरगहना, बाजागाजा, कृषि औजार, देवीदेवताका मूर्ति तथा संस्कृतिसम्बन्धी विभिन्न सामग्री भए पनि अझै पर्याप्त नभएको भन्दै यसलाई नेपालको समग्र संस्कृति अध्ययन गर्ने एक महत्वपूर्ण थलोका रुपमा विकास गर्न थप कार्य जरुरी भएको बताउनुभयो । नेपाल बहुसांस्कृतिक पहिचानको मुलुक भएकाले आफ्नो मौलिकता र परम्पराका बारेमा नयाँ पुस्तालाई जानकारी गराउँदै लैजानुपर्ने उहाँको भनाइ छ ।

विसं २०४१ मा सर्वसाधारणका लागि खुला गरिएको यो सङ्ग्रहालय २०७५ सालको भदौ २४ गते प्रदेश सङ्ग्रहालयका रूपमा रूपान्तरण भएर हाल गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको मातहतमा रहेको छ । सरकारले यसलाई सांस्कृतिक अध्ययन स्थलका रुपमा विकास गर्न सोच बनाएको सङ्ग्रहालयका प्रमुख करुणा राइले बताउनुभयो । सांस्कृतिक महत्व बोकेको यस सङ्ग्रहालय प्रचारप्रसारको अभावमा ओझेलमा परेको उहाँको भनाइ छ ।

“पोखरामा थुप्रै घुम्ने ठाउँ भएकाले पनि होला, पोखरामा अर्को अन्तर्रा्ष्ट्रिय पर्वतीय सङ्ग्रहालय पनि छ, सायद यसैले गर्दा हो कि प्रदेश सङ्ग्रहालय अलिक ओझेलमा परेको जस्तो लाग्दछ”, राई बताउनुहुन्छ । यसको प्रवद्र्धनका लागि केही नवीनतम् योजनाका साथ अघि बढेको जानकारी पनि दिनुभयो ।

करिब २३ रोपनी क्षेत्रफलमा रहेको सङ्ग्रहालयमा चार वटा भवनमा ग्यालरी रहेको र तिनीहरुलाई अन्तर्रा्ष्ट्रिय मापदण्डको सङ्ग्रहालय बनाउने, बगैचाको साजसज्जा र आकर्षक प्रवेशद्वार निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढाएको उहाँले जानकारी दिनुभयो । हाल प्रदेश सरकारबाट विनियोजित रु एक करोड रकमबाट आवास निर्माण र प्रवेशद्वार निर्माण कार्य अगाडि बढेको बताउनुभयो ।

सङ्ग्रहालयका सूचना अधिकारी कवीन्द्रराज पौडेल सङ्ग्रहालयमा परम्परागत कक्ष रहेको र आधुनिक सङ्ग्रहालयको अवधारणाअनुरुप अगाडि लैजान आवश्यक भएको बताउनुभयो । उहाँले तत्कालीन समयको परिवेश र समाजलाई बुझ्न र अध्ययन अनुसन्धान गर्न चाहनेका लागि यस सङ्ग्रहालयमा सङ्ग्रहित वस्तुले सहयोग पु-याउने भन्दै यसलाई बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले सहज अवलोकन गर्न मिल्ने ग्यालरी निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेशकै उत्कृष्ट सङ्ग्रहालय बनाउन प्रदेश सरकारले हाल रु एक करोड छुट्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले विनियोजित रकमबाट केही भौतिक संरचना निर्माणको कार्य हुँदैछ । यससँगै सङ्ग्रहालयमा गण्डकी प्रदेशको संस्कृतिसँगै हिमाल र पहाडको सभ्यताको विकासक्रमको अध्ययन गर्न सकिने गरी यसको विकास र विस्तारका बारेमा विशेष अध्ययन गरेर व्यवस्थित गराउँदै जानेछौँ ।”

सङ्ग्रहालयका लेखापाल शोभाखर ढकालका अनुसार गत आर्थिक वर्षमा १० हजारले उक्त सङ्ग्रहालयको अवलोकन गरेका थिए । भारतबाट एक हजार ८७१ र अन्य मुलुकबाट जम्मा ६४१ जनाले यो सङ्ग्रहालयको अवलोकन गरेका छन् । चालू आवको छ महिनामा करिब पाँच हजार जनाले यसको अवलोकन गरेका छन् । त्यसैगरी यो अवधिमा भारतबाट मात्र ९०० र अन्य मुलुकका ३९५ जना पर्यटकले यसको अवलोकन गरेका छन् ।

हाल सङ्ग्रहालय अवलोकनका लागि नेपाली नागरिकलाई रु १०, सार्क देशका पर्यटकलाई ५० र अन्य विदेशीलाई १०० रुपैयाँको टिकट दर तोकिएको छ । सङ्ग्रहालय हप्तामा छ दिन खुला हुन्छ । शनिबार खुला रहन्छ, मङ्गलबार बन्द हुने गरेको छ । उक्त सङ्ग्रहालयको कार्यालयमा १० कर्मचारीको दरबन्दी रहेकामा हाल आठ जना कार्यरत हुनुहुन्छ ।

Advertisement