कोरोनाका भाइरसको शंकास्पद बिरामी अस्पतालबाट भागे

२०७६ फागुन १ बिहीवार
NewsDesk ShikharNews

काठमाडाैं। कोरोनाका भाइरसको शंकास्पद एक बिरामी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महेन्द्र श्रेष्ठले चीनलाई ट्रान्जिट बनाएर नेपाल आएका साउदी अरबका नागरिक अस्पतालमा भर्ना हुन नचाही भागेको बताउनुभयो ।

रुघा र ज्वरो आएपछि उनी केहि दिनअघि कोरोनाको आशंकामा स्वास्थ्य परीक्षण गराउन अस्पताल पुगेका थिए । चेकजाँचका क्रममा उनलाई कोरोनाको आशंका भएपछि भर्ना गर्नु पर्छ भनिएको थियो तर उनी भर्ना नभइ त्यहाँबाट भागेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

उनी फारसी बोल्ने भएकाले भाषामा समेत समस्या भएको उहाँको भनाई छ । ती शंकास्पदको खोजी भइरहे पनि फोन नम्बर नभएकाले खोजी गर्न समस्या भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्रालयका प्रवक्ता श्रेष्ठले अहिलेसम्म कोरोनाको आशंकामा २० जनाको परीक्षण गरिएकोमा एकजनामा मात्रै पुष्टि भएको स्पष्ट पार्नुभयो ।  हाल टेकु अस्पतालमा तीनजना शंकास्पद विरामीलाई आइसोलेसन वार्डमा राखिएको छ ।