चीनमा रहेको नेपाली ल्याउन उड्ने तयारीमा विमान, १२घण्टा विमानस्थल बन्द गरिने

२०७६ फागुन ३ शनिवार
developer_admin

काठमाडौं, फागुन ३ । कोरोना भाइरस प्रभावित चीनमा रहेका नेपाली विद्यार्थी ल्याउन आज नेपाल वायुसेवा निगमको विमान त्यसतर्फ जाने भएको छ । चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउन निगमको वाइडबडी ए–३३० जहाज चिन जान लागेको हो ।

हुवेई प्रान्तको विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई लिन आज दिउसो २ः ४५ मा वाइडबडी त्यसतर्फ उड्न लागेको हो । निगम स्रोतका अनुसार उक्त विमान आइरबार विमान २ः४० मा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पनि जनाइएको छ ।अवतरण गरेपछि जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन ।

बुहान जाने टोलीमा तीन विमान चालक, छ क्याबिन क्रु, दुई इञ्जिनीयर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहेका छन् ।

त्यहाँबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राखिनेछ । त्यसका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईटा भवन तयारी अवस्थामा राखिएको छ । वुहानलगायत शहरबाट १८० नेपालीले स्वदेश फर्कन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् ।

चीनसंगको उडानका कारण त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कम्तीमा १२ घण्टा अवरुद्ध हुने जनाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्डबमोजिम संक्रमित स्थानबाट ल्याइने जहाज अवतरणका बेला ‘एयरक्राफ्ट डिसइन्फेक्सन’ गर्नुपर्ने हुन्छ । त्यसैका लागि विमानस्थल कम्तीमा १२ घण्टा अवरुद्ध हुने भएको हो ।

सरकारले ‘जहाजबाट यात्रुलाई कसरी ओराल्ने ? पहिलो परीक्षण कसरी र कहाँ गर्ने ? त्यहाँबाट क्वारेन्टाइनमा लगेपछि कसरी राख्ने आदी विषयमा पूर्व तयारी गरिसकेको छ ।