कोरोना भाइरस विश्वभर फैलन सक्ने चेतावनी, गम्भीरतापूर्वक नियन्त्रणको तयारी गर्न आहृवान

२०७६ फागुन १७ शनिवार
NewsDesk ShikharNews

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले नोभेल कोरोना भाइरस संक्रमण कोभिड–१९ विश्वभर फैलन सक्ने भन्दै सचेत गराएको छ । डब्ल्युएचओले कोरोना भाइरस संक्रमण सोच्नु ‘घातक गल्ती’ हुने जनाएको छ ।

डब्ल्युएचओका प्रमुख टेड्रोस एडहानोमले कोरोना भाइरस हुँदैन भन्ने अनुमान गर्नु ‘घातक गल्ती’ हुने बताएका छन् । कुनै मुलुक धनी भएको वा उच्च जिडिपी (कुल गार्हस्थ उत्पादन) भएको अधारमा सुरक्षित हुन्छु भनेर सोच्नु आश्चार्य हुने बताए ।  उनले कोरोना भाइरसले धनी–गरिब, उच्च पदस्थ र साधारण व्यक्ति तथा देशको सिमाना नचिन्ने बताए । उनले उदारहण दिँदै जी ७ को सदस्य राष्ट्र इटलीमा देखिएको कोरोना भाइरस संक्रमण साँच्चै आश्चार्यजनक रहेको पनि बताएका छन् । डब्ल्युएचओका अनुसार हालसम्म ५५ देशमा कोरोना भाइरस संक्रमण देखापरेको छ । इरानको अवस्था चिन्ताजनक छ, विद्यालयहरू बन्द गरिएका छन् ।

डब्ल्युएचओले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने तयारी गम्भीरतापूर्वक गर्न सबै मुलुकहरूलाई आग्रह गरेको छ ।

कोरोना संक्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरू बन्द गरिएको छ । यसैगरी, बिटिएस कन्सर्ट समेतका सबै मनोरञ्जनात्मक कार्यक्रम बन्द गरिएको छ । मानिसहरू जमघट हुने ठूला कार्यक्रममा रोक लगाइएको छ । जापानमा आयोजनाको तयारी गरिएका खेलकुद र सांगीतिक कार्यक्रमहरू रद्द गरिएका छन् । अमेरिकी रक ब्याण्ड ग्रिन डेले एसियाली मुलुकमा गर्ने सांगीतिक कार्यक्रम रद्द गरिसकेको छ ।

कोरोना भाइरस एसियाली मुलुकबाट युरोप र अफ्रिकासम्म पुगेको छ । साउदी अरेबियाले मुस्लिम समुदायको पवित्र धार्मिक तीर्थस्थल मक्काको भ्रमणमा विदेशी नागरिकमाथि कडाइ गरेको छ ।

इटालीमा कतिपय गाउँ र शहरमा निर्वाध आवागमनमा प्रतिबन्ध लगाइएको छ । अफ्रिकी मुलुक नाइजेरियामा शुक्रबार एक जनामा कोरोनाको लक्षण देखिएको छ ।

विश्वभर कोरोनाबाट संक्रमित भएका व्यक्तिहरूको संख्या करिब ८३ हजार पुगिसकेको छ । दक्षिण कोरियामा संक्रमितको संख्या २ हजार नाघिसकेको छ । इरानको सरकारी तथ्यांकअनुसार त्यहाँ कोरोना भाइरस संक्रमणले शुक्रबारसम्ममा ३४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३८८ पुगेको छ । इरानी अधिकारीका अनुसार इरानमा विगत २४ घण्टामा १४३ जनामा संक्रमण पुष्टि भएको छ । इरानका सात उपराष्ट्रपतिमध्ये एक मासोमेह इब्तेकर, उप–स्वास्थ्यमन्त्री इराज हरिर्चीलगायत केही उच्च अधिकारीलाई पनि संक्रमण पुष्टि भएको छ ।

दक्षिण कोरियामा संक्रमितको संख्या २ हजार ३३७ पुगेको छ भने  शुक्रबार अपराहृनसम्ममा ज्यान गुमाउनेको संख्या १३ पुगेकोे छ ।    

विश्वभरीमा कोरोनाबाट संक्रमित भएका व्यक्तिहरूको संख्या करिब ८३ हजार पुगिसकेको छ भने २८ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

कोरोना भाइरस संक्रमणको प्रभाव विश्व शेयर बजारमा पनि परेको छ । शेयर कारोबार भारीमात्रामा घटेको छ । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान शहरबाट यस भाइरसको संक्रमण शुरु भएको थियो । डब्ल्युएचओले गत जनवरी ३० मा विश्व विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।